वैदेशिक रोजगारसम्बन्धी कार्यालयहरूमा बिमाको फारम भर्ने नाममा दलालको बिगबिगी बढ्न थालेको छ। बिदेसिने कामदारलाई फारम भरेर सहयोग गर्ने भन्दै दलालले प्रतिव्यक्ति एक सयदेखि दुई हजार रुपैयाँसम्म अवैध रूपमा असुलेका छन्।
वैदेशिक रोजगारमा जाने कामदारले अनिवार्य रूपमा बिमा गर्नुपर्छ। बिमा गर्न फारम भरिदिने बहानामा दलाल र बिचौलियाले लामो समयदेखि सेवाग्राहीलाई लुट्दै आएका छन्। फारम भर्दा अतिरिक्त रकम लिन नपाइने भए पनि सरकारले कारबाही गर्न नसक्दा उनीहरूले लुट धन्दा मच्चाउन पाएका हुन्।
नियमविपरीत बिचौलियाले मोटो रकम असुल्ने क्रम नरोकिएपछि यस्तो काम नियन्त्रणका लागि कडाइ गर्ने तयारी भएको वैदेशिक रोजगार विभागका अधिकारीले जानकारी दिएका छन्।
नि:शुल्क सेवा पाउनुपर्नेमा श्रम कार्यालय ताहाचलको वरिपरि पसल तथा कबल सञ्चालन गरेर बिचौलियाले फारम भरिदिएबापत प्रतिव्यक्ति दुई हजार रुपैयाँसम्म असुलेको प्रमाण विभागले फेला पारेको छ। यस्तो तथ्य पत्ता लागेपछि विभागले बिचौलियाबाट फारम भराउन नपाउने व्यवस्था गर्न लागेको हो।
अबदेखि व्यक्तिको राहदानीको फोटोकपीका आधारमा पोलिसी नम्बर लिएर वैदेशिक रोजगार विभागको कम्प्युटर सर्भरमा सीधै आबद्ध (कनेक्सन) हुने व्यवस्था मिलाइने भएको छ।
कामदारलाई बिमा कम्पनीहरूले आफ्नो प्रमुख कार्यालय तथा कुनै पनि शाखा कार्यालयबाट राहदानी लिएर सोही आधारमा पोलिसी नम्बर उपलब्ध गराउनेछन्।
सोही नम्बर बिमा कम्पनी, वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको वेबसाइटमा राखिनेछ। कामदारले बिमा कम्पनीका कुनै पनि शाखाबाट बिमाको प्रिमियम बुझाउन सक्नेछन्। हाल यस्तो सुविधा छैन।
बिमा गर्न फारम भरिदिने बहानामा दलाल र बिचौलियाले लामो समयदेखि सेवाग्राहीलाई लुट्दै आएका छन्।
वैदेशिक रोजगार विभागले दलालमार्फत फारम नभरी राहदानीका आधारमा बिमा गरी पोलिसी नम्बर उपलब्ध गराउन बिमा कम्पनीहरू सहमत भएका जानकारी दिएको छ। यसबारेमा बिमा कम्पनीहरूसँग विभागले छलफलसमेत गरिसकेको छ। एक महिनाभित्रै यो काम गरिसक्ने विभागका अधिकारीले जानकारी दिएका छन्।
वैदेशिक रोजगार विभागका प्रवक्ता बद्री कार्कीले श्रम कार्यालयहरूमा बिचौलियाको बिगबिगी बढेकाले तत्काल यसको निराकरण गर्न खोजिएको जानकारी दिए।
बिमाको फारम भरकै आधारमा बिचौलियाले प्रतिव्यक्ति दुई हजार रुपैयाँसम्म असुलेको पाइएकाले अब बिचौलियालाई भूमिकाविहीन बनाइने उनले बताए। बिमा कम्पनीले राहदानी नम्बरका आधारमा बिमा गरिदिएर पोलिसी नम्बर उपलब्ध गराउने उनले जानकारी दिए।
वैदेशिक रोजगारीमा जाने कामदारले अनिवार्यरूपमा बिमा गर्नुपर्ने प्रावधान छ। बिमा गरेपछि कामका क्रममा विदेशमा दुर्घटनामा परेमा वा मृत्यु भएमा कामदारका परिवारले क्षतिपूर्ति रकम पाउन सक्छन्।
मलेसिया जाने व्यक्तिले बिमाबापत २७ सय रुपैयाँ तिर्नुपर्छ। बिमा अवधि तीन वर्षको हुन्छ। यसैगरी खाडी र अन्य मुलुकमा जाने कामदारले १८ सय २० रुपैयाँ तिर्नुपर्छ।
यसमा उमेरअनुसार सामान्य तलमाथि हुने गर्छ। कामदारले क ल्याणकारी कोषमा एक हजार रुपैयाँ पनि जम्मा गर्नुपर्छ। अभिमुखीकरण तालिम र स्वास्थ्य परीक्षणबापत पनि शुल्क तिर्नुपर्ने हुन्छ।
अभिमुखीकरण तालिममा पनि ठगी धन्दा नरोकिएपछि वैदेशिक रोजगार विभागले यस्ता संस्थामाथि कडाइ गर्न थालेको छ। तीन साताको अवधिमा अभिमुखीकरण तालिमप्रदायक २७ वटा संस्थामा अनुगमन गरी नियमविपरीत काम गर्ने एकदर्जन कम्पनीलाई निलम्बन गरिएको छ। बाँकी कम्पनीलाई लिखित चेतावनी दिएको छ।
कामको खोजीमा दैनिक औसतमा १५ सय नेपाली वैदेशिक रोजगारीमा जाने गरेका छन्। हाल सरकारी अनुमति लिएर विदेशमा काम गर्ने नेपालीको संख्या ३५ लाख नाघिसकेको छ।
अवैध तरिकाले जाने पनि २० लाख हाराहारीमा रहेको अनुमान छ। वैदेशिक रोजगारीले अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पु:याए पनि दलाल र बिचौलियाको चलखेलका कारण मर्यादित हुन सकेको छैन।