बाबालाई भनिदिनू ‘छोरी कुवेतमा बाँचेकी छे’

25 March, 2015

होम कार्की

‘मलाई त घरमा सबैले मरिसके भन्ने ठाने होला,’ संगीता लिम्बुले यसो भनिराख्दा नजिकका उनकी संगिनीले तत्काल भनिन्, ‘घ्यावा (अन्येष्टिपछि गरिने काजक्रिया) पनि भइसक्यो कि ?’ संगीताले यसो ठान्नु स्वाभाविकै थियो । बितेको आठ वर्षदेखि उनी परिवारको सम्पर्कमा छैनन् । कुबेत आएको दुई महिनापछि एकपल्ट मात्रै बाबालाई

फोन गर्दै आफू सन्चो भएको खबर सुनाएकी थिइन् । ‘बाबा म कुबेत आइपुगें है,’ त्यतिखेर भनेकी थिइन्, ‘सन्चै छु ।’

यति वाक्य अहिले पनि सम्झिरहेकी छन् । पृथ्वीनगर, झापाकी संगीता आठ वर्षपछि आफू काम गरेको घरबाट भागेर नेपाली दूतावासमा एक महिनाअघि आइपुगेकी थिइन् । ‘पहिलोपटक भेटिँदा त नेपाली बोल्न पनि आउँदैनथ्यो । नेपाली भाषा बोल्नै बिर्सिसकिछे,’ स्याउले, सिन्धुपाल्चोककी जिनाकुमारी श्रेष्ठले भनिन्, ‘हामीसँग भेट भएपछि बल्ल बिस्तारै नेपाली भाषा बोल्न सकेकी हुन् ।’

आठ वर्षसम्म कुबेती नागरिक जम्बर अलीको घरमा काम गरेकी लिम्बुले तलब पनि पाएकी छैनन् । ‘मैले सधैं तलब दिएर घर पठाइदे भन्दै आएँ,’ उनले भनिन्, ‘मालिक्नीले सुरुमा एक वर्षपछि पठाइदिन्छु भनी । त्यो वर्ष बित्यो । फेरि ६ महिनापछि भन्यो । त्यसपछि कहिल्यै पठाइदिएन ।’

आफूले घरमा लुकिछिपी धेरैपटक सम्पर्क गर्न प्रयास गरेको भए पनि टेलिफोन नलागेको बताइन् । ‘जुन नम्बर पहिला ल्याएको थियो, एक वर्षपछि लागेन,’ उनले भनिन्, ‘खालि बादेन (सम्पर्क हुन सकेन) बादेन मात्रै भनिरह्यो ।’ उनी कुबेत जाँदा नेपाली दूतावास खुलेको थिएन । अरू नेपाली पनि कुबेतमा काम गर्छन् भन्ने थाहा भएन । ‘जतिखेर पनि घरभित्रै बस्नुपथ्र्यो,’ उनले भनिन्, ‘साउदी, बहराइन, कतार र लेबनान जाने बेलामात्रै बाहिरी दुनियाँदेख्न पाइन्थ्यो ।’

कुबेतीको घरमा दुई बच्चा र मालिक-मालिक्नी मात्रै बस्थे । ‘अरू यातना दिने, पिट्ने केही भएन,’ उनले भनिन्, ‘घर जान नदिई राखिन्थ्यो ।’ धेरै वर्ष बितिसक्दा पनि नपठाएपछि ‘जे पर्ला पर्ला’ भनेर भागेर कुबेती प्रहरीमा पुगेकी थिइन् । प्रहरीले नेपाली दूतावास देखाइदिएपछि उनी दंग परिन् । ‘अहिले यहाँ बसेर घर जाने प्रक्रिया थालिएको छ,’ उनले भनिन्, ‘जे होस् अब आफ्नो घरमा आइपुगेको जस्तो भएको छ । केही समयमा स्वदेश फिर्किनेछु भन्नेमा ढुक्क लागेको छ ।’

कुबेत आइपुग्दा संगीता लिम्बु भर्खरै १७ वर्षकी थिइन् । पढाइ अगाडि बढ्न नसकेपछि लिम्बुलाई कुबेतमा जानका लागि झापाको एजेन्ट शान्ता राईले उक्साइन् । ‘नपढेपछि के गर्नु,’ राईले भन्ने गर्थिन्, ‘अब बेलैमा पैसा कमाउनुपर्छ । यस्तो घरमा त्यता मजाले गर्न सकिन्छ । जाने भए सबै व्यवस्था मै गरिदिन्छु ।’

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026