बसाइँसराइ रोक्यो पानीले

31 October, 2014

गाईबस्तुले खाने आहालको फोहोर पानी पिएका दुई जनाले ज्यान गुमाएको बोबाङ १ घम्पुका जुठे बिक कहिल्यै बिर्सिन सक्दैनन् । पानी अभावमा हिउँदमा बसाईं सर्नुपर्ने बाध्यतामा उनको परिवार पनि थियो । तर, अहिले भने उनी खुसी छन् । घरनजिकै सफा पिउने पानी उपलब्ध भएकाले अब कसैले ज्यान नगुमाउनेमा उनी ढुक्क छन् । 

स्थानीय नरमाया पुन पनि पानी अभावमा अब भोकै बस्नुपर्ने बाध्यता हटेकामा खुसी छन्, समयमै खाना नपाक्दा र छोराछोरीलाई पानी लिन पठाउँदा स्कुलै जान नपाएको पीडा नदोहोरिनेमा विश्वस्त पनि । एक गाग्री पानीका लागि तीन घन्टा लाग्ने अवस्थाको अन्त्य भएपछि गाउँलेमा खुसी देखिन्छ । ‘काकाकुल नियतिबाट मुक्ति पायौं,’ पुनले भनिन् । देवीस्थान ७ र ८, बोबाङ १ र अधिकारीचौर ७ का ब्येंग्री, घम्पु, अर्नाकोट देउराली, बराहथान भल्कोटलगायत गाउँवासीले राहत महसुस गरेका छन् । लिफ्टमार्फत डाँडामा पुर्‍याएर वितरण भएपछि दुई हजार दुई सय मिटर उचाइमा छरिएर रहेको बस्तीका एक सय ९१ घरले खानेपानी पाएका छन् । स्थानीय बासिन्दालाई आहाल, पोखरी र खोल्साखोल्सी धाउनुपर्ने बाध्यता अन्त्य भएको छ । त्यसले एक हजार पाँच सय जनसंख्याको दैनिक जीवनयापन सहज भएको छ । ‘चराले पनि पानी पाउँदैनथे,’ अर्नाकोट निमाविका निमित्त प्रधानाध्यापक बेगबहादुर कुँवरले भने, ‘हरेक पाँच घरलाई एउटा धारा भएकाले राहत मिलेको छ ।’  घम्पुका ५० भन्दा बढी घर पानी अभावमा हिउँदमा अन्यत्र सर्थे । अहिले १६ घर स्थायी रूपमा बस्न थालेका जुठेले बताए । ‘मानिस र गाईबस्तुको मलमूत्र मिसिएको पानी खानुपथ्र्यो,’ उनले भने, ‘बाबुबाजेको थातथलोमा अब बाह्रै महिना बस्न थालियो ।’  कास्की रेडक्रसमार्फत नेदरल्यान्ड्सको युनिका फाउन्डेसनको आर्थिक सहयोगमा अर्नाकोट देउराली खानेपानी तथा सरसफाइ परियोजनामार्फत पानी आएको हो । त्यसका लागि दुई करोड ६१ लाख ७७ हजार खर्च भएकोमा स्थानीय बासिन्दाले ५६ लाख ३१ हजार बराबरको सहयोग जुटाएका थिए । हाँडीचार मुहान र बीचमा स्वचालित २/२ वटा पम्प जडान गरी ६ सय ५० मिटर माथि पानी पुर्‍याएर ४१ धारामार्फत वितरण गरिएको छ । हरेक १२ घन्टाका दरले पम्प आफैं सञ्चालन हुन्छन् । फाउन्डेसन अध्यक्ष दानभान भ्लित, कन्ट्री म्यानेजर रमेश पौडेललगायतले हालै योजना अनुगमन गरे । कास्की रेडक्रसका सभापति वामदेव ढुंगानाले परियोजना देशमै नौलो भएको बताए । ‘हाहाकार भएको गाउँमा दाता खोजेर लिफ्ट प्रणालीमार्फत पानी खुवाउन पाउँदा सन्तुष्ट छौं,’ ढुंगानाले भने ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024