सुरेश यादव
धनुषा, धनौजी गाउँपालिका–५, बहुअर्बा निवासी मोहम्मद जिलानी मोमिन आइतबार निकै उत्साहित मुद्रामा भेटिए। जनकपुरस्थित श्रम तथा रोजगार कार्यालयबाट वैदेशिक रोजगारमा जान श्रम स्वीकृति पाएपछि उनी हर्षित भएको बताए।
दुई कारणले खुसी भएको जिलानीले बताए, ‘पहिलो त आर्थिक अभावका कारण विदेशिन बाध्य हामीजस्ता निम्न वर्गीयलाई एक हप्ता लगाएर काठमाडौं धाउनुपर्दाको खर्च जोगियो। र अर्को, एक हप्ता लाग्ने काम एक घण्टामै हुने भएपछि बाँकी समय ज्याला मजदुरी गर्न पनि पाउने भयौं।’
जिलानीसँगै श्रम स्वीकृति पाएका नौवाखोर निवासी जलिल नदाफले जनकपुरमै वैदेशिक रोजगारका लागि श्रम स्वीकृति पाएपछि बल्ल संघीयताको अनुभूति भएको बताए। ‘एक घण्टामा हुने कामका लागि काठमाडौं जानुपर्दाको दुःखबाट बल्ल मुक्ति पायौं,’ उनले थपे, ‘म जस्ता हजारौं मधेसी युवालाई जनकपुरबाट पाउने यो सेवाले सहज हुने भयो।’ उनका अनुसार ६ हजार दस्तुर लाग्ने श्रम स्वीकृति लिन काठमाडौं जानुपर्दा कम्तीमा तीन गुणा बढी खर्च बेहोर्नु पथ्र्यो।
यसअघि काठमाडौं, ताहचलस्थित वैदेशिक रोजगार विभागबाट मात्र प्रदान गरिने श्रम स्वीकृति आइतबारबाट प्रदेश २ को जनकपुर तथा प्रदेश ५ को बुटबलबाट पनि दिन थालिएको हो। अन्य प्रदेशमा पनि क्रमशः सेवा विस्तार गर्दै जाने सरकारको तयारी रहेको स्रोतले जनाएको छ। स्रोतको अनुसार सातवटै प्रदेशबाट वैदेशिक रोजगारको लागि श्रम स्वीकृति प्रदान गरिने सरकारको नीति छ। यसअघि जम्मा ६ जनाले सञ्चालन गरिरहेको श्रम कार्यालय प्रादेशिक श्रम तथा रोजगार कार्यालयको रुपमा परिणत भएपछि वरिष्ठ श्रम अधिकृतको नेतृत्वमा १४ जना जनशक्तिको दरबन्दी सिर्जना गरिएको छ। यसअघि कारखाना निरीक्षकको कमाण्डमा श्रम कार्यालय सञ्चालन रहेकै कार्यालयलाई परिमार्जन गरी सेवा थपिएको हो। हाललाई कम्तीमा एक पटक विभागबाट श्रम स्वीकृति प्राप्तगरी विदेशिएकालाई मात्र जनकपुरबाट श्रम स्वीकृति प्रदान गरिने व्यवस्था गरिएको छ। प्रथम पटक विदेशिन चाहनेका लागि भने अहिले पनि काठमाडौंबाटै श्रम स्वीकृति लिनुपर्ने प्रावधान रहेको छ।
संघीय राजधानी बाहिर सेवा सुरु गरिएपछि जनकपुरस्थित श्रम तथा रोजगार कार्यालयबाट श्रम स्वीकृति प्राप्त गर्ने प्रथम व्यक्ति हुन् जिलानी। उनी समेत आइतबार ३० जनाले जनकपुर कार्यालयबाट वैदेशिक रोजगारमा जान श्रम स्वीकृति प्राप्त गरेको कार्यालयका निमित्त प्रमुख मनोज यादवले जानकारी दिए। उनका अनुसार सोमबार ३१ जनाले श्रम स्वीकृति पाएका छन्।
प्रदेश २ बाट मुलुककै सबैभन्दा बढी युवा वैदेशिक रोजगारमा गएका छन्। प्रदेश २ मा पनि धनुषा जिल्ला वैदेशिक रोजगारमा जानेहरुको सबैभन्दा बढी संख्या भएको जिल्ला मानिन्छ। मुख्यतः खाँडी मुलुकमा नेपालको धनुषा र महोत्तरीबाट सर्वाधिक संख्यामा युवा विदेशिएका छन्।