वैदेशिक रोजगार विभागले ०८३ असार ३० गतेको दैनिक कार्यसम्पादन विवरण सार्वजनिक गर्दै मुद्दा अनुसन्धान, संस्था अनुगमन, उद्धार तथा डिजिटल अभिलेखीकरणका क्षेत्रमा उल्लेखनीय प्रगति भएको जनाएको छ।
विभागको मुद्दा तथा अनुसन्धान शाखाले आज १९ वटा नयाँ मुद्दा दर्ता गरेको छ। कानुनी प्रक्रियाअन्तर्गत ६ जनालाई पक्राउ गरी उपस्थित गराइएको छ भने ५६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ। साथै, ३३ जनालाई पक्राउ गर्न अनुमति दिइएको छ र ८ वटा मुद्दामा मिलापत्र गरिएको विभागले जनाएको छ।
शाखाले बैंकलाई लेखिएका पत्र, अभियोगपत्र तथा रायपत्रसहित कुल १४१ वटा पत्राचार (चलानी) गरेको छ। संस्था अनुगमन तथा गुनासो सम्बोधनतर्फ, संस्था अनुगमन शाखाले ३ वटा राहदानी वितरण गरेको छ भने ७ वटा नयाँ उजुरी निवेदन दर्ता भएका छन्। त्यस्तै, म्यानपावर कम्पनीहरूलाई ४ वटा पत्राचार गरिएको छ र ७ वटा गुनासो फोनमार्फत तत्काल समाधान गरिएको विभागले जनाएको छ।
जनगुनासो व्यवस्थापनअन्तर्गत कल सेन्टरमा प्राप्त ६६ वटा गुनासोमध्ये ६५ वटाको समाधान गरिएको छ। त्यसैगरी, हेलो सरकारमार्फत प्राप्त ६ वटा गुनासोमध्ये ५ वटाको समाधान गरिएको छ भने एउटा असम्बन्धित गुनासो सम्बन्धित निकायमा पठाइएको छ।
राहत, उद्धार तथा समन्वय शाखामा आज २ वटा नयाँ उजुरी दर्ता भएका छन्। शाखाको सक्रियतामा ४ जनाको उद्धार गरिएको छ भने ३ वटा क्षतिपूर्तिसम्बन्धी कार्य सम्पन्न भएका छन्। यस अवधिमा ६ वटा द्विपक्षीय छलफलसमेत सञ्चालन गरिएको विभागले जनाएको छ।
संस्था दर्ता तथा प्रणाली सुधारतर्फ, आज ५१ वटा म्यानपावर कम्पनी र १४ वटा पूर्वप्रस्थान अभिमुखीकरण तालिम प्रदायक संस्था (PDOT) को नवीकरण गरिएको विभागले जनाएको छ।