‘प्रतिबन्ध हटाउन कूटनीतिक दबाब’

6 September, 2016

होम कार्की

 

श्रम तथा रोजगार मन्त्री सूर्यमान गुरुङले अफगानिस्तानमा नेपाली सुरक्षागार्डमा लगाइएको रोक हटाउन कूटनीतिक निकायले दबाब दिएको बताएका छन्। अन्तर्राष्ट्रिय श्रम सम्बन्ध समितिको सोमबारको बैठकमा उनले कूटनीतिक निकायका अधिकारीले आफूलाई धम्की दिएको समेत बताए। 

 

‘मन्त्री भएर आएको एक हप्ता पुग्दै छ। यस बीचमा तीन वटा कूटनीतिक निकायका प्रमुखले आएर मलाई भेटेका छन्,’ उनले भने, ‘कोही फकाउने गर्छन्। कोही धम्क्याउने गर्छन्।’ अफगानिस्तानमा नेपाली सुरक्षागार्ड पठाउन लगाइएको प्रतिबन्ध हटाउनुपर्ने भन्दै अमेरिका, बेलायत र कोरियाका राजदूतले पालैपालो मन्त्री गुरुङलाई भेटेका थिए। उनले राजदूतहरूको चासोको विषयमा मन्त्रिपरिषद् बैठकमा समेत छलफल चलाएको बताए। ‘अफगानिस्तानको विषयमा मैले प्रधानमन्त्रीसमक्ष समेत कुरा राखेको छु,’ उनले भने। श्रम समितिमा वैदेशिक रोजगारमा जाने नेपाली सुरक्षागार्डमाथि म्यानपावर कम्पनीद्वारा भइरहेको शोषणबारे छलफल गर्न मन्त्री गुरुङलाई बोलाइएको थियो। 

 

बैठकमा सांसदहरूले म्यानपावर कम्पनीले सुरक्षागार्डमा जाने कामदारसँग लाखौं रुपैयाँ असुल गरी ठगी गरेको मुद्दा उठाएपछि सुरक्षा गार्डमा जानेलाई श्रम स्वीकृति नदिन समितिले श्रम मन्त्रालयलाई निर्देशन दिएको छ। समितिका सभापति प्रभु साहले छानबिन गर्न गठित उपसमितिले प्रतिवेदन पेस नगरेसम्म श्रम स्वीकृति रोक्न निर्देशन दिएका हुन्। 

 

समितिले विदेशमा नेपाली सुुरक्षा गार्डको अवस्थाबारे अध्ययन प्रतिवेदन बनाउन सांसद मीनबहादुर विश्वकर्माको नेतृत्वमा एक उपसमिति बनाएको छ। समितिले एक महिनाभित्र प्रतिवेदन बुझाउनेछ।’ बैठकमा श्रम सचिव विष्णुप्रसाद लम्सालले वैदेशिक रोजगारीमा कहालीलाग्दो हिसाबले ठगी भइरहेको बताएका थिए। सांसदहरूले ठगी गर्ने म्यानपावरलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेका थिए। 

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026