भारतीय पेन्सन क्याम बागलुङबाट पैसा लिएर फर्कंदै गरेका म्याग्दीका एक वृद्ध लुटिएका छन्। ताकम–८ मच्छिमका ७२ वर्षीय दुर्गाबहादुर छन्त्यालको १ लाख ८ हजार ५ सय ५० रुपैयाँ लुटिएको पीडितका छोरा रेशम छन्त्यालले बताए ।
‘पेन्सन क्यामनजिक राखिएका सवारीसाधनमा चढ्ने क्रममा युवाहरूले बुबालाई भुक्काएका थिए,’ उनले भने, ‘उनीहरू लुट्नैका लागि बसेका रहेछन्।’ पेन्सन लिएर घर फर्कने त्यहाँ राखिएका सवारीसाधन भित्र र बाहिर बसेर लुटेराहरू वृद्धवृद्धालाई नजर लगाउने गरेको पुर्व भारतीय सेना सोमबहादुर छन्त्यालले बताए। ‘मेरो खल्तीमा पनि हात हालेका थिए,’ उनले भने, ‘मैले के गरेको हो? भनेपछि सर भन्दै गए।’ सवारीसाधनभित्र छिर्ने क्रममा साँघुरो बनाउने, एक ठाउँमा दुई तीनजना बस्ने गरेको भन्दै यसमा मिलेमतोसमेत हुनसक्ने आशंका छन्त्यालको छ। बागलुङका प्रहरी नायब उपरीक्षक प्रेम बस्नेतले भने घटनाबारे अनुसन्धान गरिने बताएका छन्। ‘हामीलाई बल्ल जानकारी भयो, निगरानी बढाएका छौं,’ उनले भने। बागलुङमा रहेको पेन्सन क्याम्पमा धौलागिरि अञ्चलको म्याग्दी र पर्वतबाट समेत पेन्सन बुझ्न आउने गर्छन्।