पूर्वराजाको चियाबगानका मजदुरमाथि व्यवस्थापनको ज्यादती : बगानको बस्तीमा संरचना बनाउन रोक, वडाको बजेट कार्यान्वयनमा चुनौती

2 December, 2024

Chirinjeevi Ghimire

तीन पुस्तादेखि पूर्वराजा ज्ञानेन्द्र शाहको स्वामित्वमा रहेको हिमालय महालक्ष्मी चिया बगानमा पसिना बगाएका मजदुर र तिनको परिवारले पछिल्लो समय व्यवस्थापनको ज्यादती भोग्नुपरेको छ । बगानका मजदुर र तिनका परिवारको बसोवास दमक नगरपालिका वडा नम्बर ४ र ९ मा छ । दुई वर्षदेखि बगानका मजदुर बसोवास गरेको क्षेत्रमा व्यवस्थापनले संरचना निर्माण गर्न नदिने, सरकारी निकायले विनियोजन गरेको बजेट कार्यान्वयन गर्न नदिनेलगायत गतिविधि गरिरहेको छ ।

गत साउनमा बेल्डाँगी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले दमक– ४ मा रहेको बगानका मजदुरको बस्तीमा खानेपानी जडानका लागि काम सुरु ग¥यो । वरिपरिका सबै बस्तीमा खानेपानीको पाइप विस्तार गरेपछि करिब ११८ घरधुरी रहेको बगानका मजदुरको बस्तीमा शुद्ध पिउने पानीका लागि पाइप विस्तार गर्न खोजेको थियो । तर, बगान व्यवस्थापनले नदिएपछि खानेपानी विस्तारको काम रोकिएको बेल्डाँगी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष गेहनाथ पोखरेलले बताए । ‘यो बस्ती अस्थायी हो भनेर व्यवस्थापनले दिएन । त्यसपछि विस्तार गर्न सकेनौँ,’ उनले भने ।

विगतमा पक्की संरचना बनाएर बसेका बगानका मजदुर यो घटनापछि झस्किएका छन् । उनीहरूलाई कतै बगान व्यवस्थापनले बिचल्ली त बनाउने होइन भन्ने चिन्ता छ । ‘हामीले पुस्तौैँदेखि बगानमा पसिना बगाएका छौँ । तर, अहिले आएर हामीलाई लखेट्न खोजिँदै छ,’ ऊर्जावान् समय बगानको मजदुरीमा बिताएर अवकाश पाएका बाबुराम घिमिरेले भने, ‘विगतमा केही रोक थिएन । अहिलेको व्यवस्थापनको गतिविधिले झस्काएको छ । तर, हामी त्यसै हट्दैनौँ ।’

हिमालय महालक्ष्मी चियाबगानको व्यवस्थापक भएर नेपाल प्रहरीका पूर्वप्रहरी नायब उपरीक्षक श्यामल सुब्बा आएका छन् । उनी आएपछि बगानका मजदुरको बस्तीमा कडाइ गर्न थालिएको हो । ‘हाम्रो वरिपरि सबैतिर खानेपानी छ । तर, हामी अहिले पनि कल (ट्युबेल)को पानी खान्छौँ । अहिले पानी खानै नहुने गरी रातो आउन थालेको छ,’ बगान क्षेत्रमा बसोवास गर्ने राजु श्रेष्ठ भन्छन्, ‘तीन पुस्ताले यही बगानमा पसिना बगायौँ । अहिले यसैको पुरस्कारस्वरूप यस्ता गतिविधि हुन थालेको छ । हामीलाई शुद्ध पिउनेपानीबाट पनि वञ्चित गराइयो ।’

मजदुरप्रति दिनप्रतिदिन कठोर बन्दै बगान व्यवस्थापक
व्यवस्थापक बनेर आएका सुब्बा बगानका मजदुरप्रति दिनप्रतिदिन कठोर हुँदै गएका छन् । बगानका मजदुर बसोवास गर्ने क्षेत्रमा हुने खेतीमा समेत सिँचाइका लागि बोरिङ सञ्चालन गर्नसमेत दिएका छैनन् । ‘बगानको मजदुरी गर्दै ०४० देखि १५ कट्ठा जमिनमा खेती गर्दै आएको छु । पहिला बोरिङ राखेर सिँचाइ गर्दै आएको हो । गत वर्ष मेरो इमानदारिता देखाएर सोध्न गएँ । व्यवस्थापकले बोरिङ राख्न दिनुभएन,’ बगानका अवकाशप्राप्त मजदुर तथा दमक– ९ का वडासदस्य नरेश सुनुवारले भने, ‘मेरो छिमेकमा एकजनाले भान्साघर बनाउन ब्लक पनि ल्याए । तर, भान्साघरसम्म बनाउन दिएनन् । अहिले बगानका मजदुरमाथि व्यवस्थापनको ज्यादती बढेको छ ।’

व्यवस्थापक सुब्बाले विगतदेखि काम गर्दै आएका मजदुर युनियनलाई समेत अंकुश लगाउने प्रयास गरेका छन् । लामो समय मजदुरको पक्षमा काम गर्दै आएर हाल अवकाशप्राप्त मजदुर नेताहरूलाई ‘बाहिरको मान्छे’ भन्दै निरुत्साहित गर्ने गरेका छन् । विगतदेखि नै मजदुर युनियनले प्रयोग गर्दै गरेको कार्यालय प्रयोग गर्न खोज्दासमेत उनले अंकुश लगाउने गरेका छन् । गत असोजमा मजदुर संगठनको कार्यालय सञ्चालन गर्न खोज्दा मजदुर नेतृ तथा दमक– ९ की वडासदस्य रिना विश्वकर्मालाई व्यवस्थापक सुब्बाले दुव्र्यवहार गरेका थिए । ‘म नेपाल चियाकफी श्रमिक युनियन, हिमालय महालक्ष्मी चियाबगानको सहसचिव छु । दसैँका वेला व्यवस्थापन मजदुरजन्य संगठनले उपलब्ध गराएको कार्यकक्षमा सरसफाइ गर्दा व्यवस्थापकले दुव्र्यवहार गरे । उनले अहिलेसम्म पनि आँखाको तारो बनाएका छन्,’ विश्वकर्माले भनिन्, ‘मलाई गाली गलौज गरे । तेरो घरमा आगो लगाइदिन्छुसम्म भने ।’

हिमालय–महालक्ष्मी चियाबगानको बस्तीमा बसोवास गर्ने स्थानीय

बगानका मजदुरमाथि व्यवस्थापकले ज्यादती गर्ने मात्र होइन, मजदुर बस्तीमा सरकारी निकायका बजेटसमेत कार्यान्वयन गर्न रोक लगाएका छन् । यसमा दमकका नगर प्रमुख रामकुमार थापाले पनि सहयोग गरेको वडासदस्यसमेत रहेका अवकाशप्राप्त मजदुर नरेश सुनुवारको दाबी छ । थापा राप्रपाका प्रदेश अध्यक्ष हुन् । बगानले दमक नगरपालिकालाई नौ करोडभन्दा बढी सम्पत्ति कर तिर्न बाँकी छ । नगर प्रमुख थापाले पूर्वराजा शाह दमक आउँदा भेट्ने गरेका छन् । तर, उनले बगानले नगरलाई तिर्नुपर्ने कर तिर्नलाई ताकेता गर्न सकेका छैनन् । दमक नगरपालिकामा मजदुरका समस्या लिएर जाँदा थापाले बेवास्ता गर्ने गरेको उनको दाबी छ ।

बगानका व्यवस्थापक सुब्बाले गत वर्ष मात्रै दमक– ९ को वडा कार्यालयले बगानको मजदुर बस्तीका लागि ल्याएका तीनवटा योजना कार्यान्वयन गर्न दिएका थिएनन् । दमक–९ ले आर्थिक वर्ष ०८०÷८१ मा बगानका मजदुर बसोवास गर्ने झरना टोलमा ड्रेन निर्माणका लागि चार लाख, सोही टोलमा सामुदायिक भवन बनाउन तीन लाख र सूर्योदय टोलमा सामुदायिक भवन निर्माणका लागि चार लाख बजेट विनियोजन गरेको थियो । तर, उक्त बजेट कार्यान्वयन गर्न बगान व्यवस्थापकले नदिएको दमक– ९ का वडाध्यक्ष कुवेर भट्टराईले बताए । ‘उहाँहरूले बस्ती स्थानान्तरण गर्दै छौँ, यहाँ बस्ती नहुन पनि सक्छ भनेर रोक्नुभयो । विगतमा त काम भएको थियो । गत आर्थिक वर्षमा मात्र रोकिएको हो,’ उनले भने, ‘यसपटक पनि बजेट विनियोजन भएको छ । बगान व्यवस्थापनबाट सहमति आयो भने मात्र हामी कार्यान्वयन गर्छौँ ।’

चिया बगानका व्यवस्थापक श्यामल सुब्बाले भने वडाले समन्वय नगरी बजेट विनियोजन गर्दा कार्यान्वयन हुन नदिएको बताए । ‘वडाको बजेट लैजाँदा एकपटक सोध्नुहोस् भनेको हो । तर, उहाँहरूले मनोमानी ढंगले आफ्नो समर्थक भएकोमा मात्र लैजानुभयो । त्यही भएर विश्वास गरिनँ,’ उनले भने, ‘वडाले ल्याउने योजनाले हाम्रो बगानलाई बढी घाटा भयो । व्यक्तिलाई बढी फाइदा भएपछि रोकेको हो । उहाँहरू र हाम्रो समन्वय भएन ।’

सुब्बाले दमक– ४ स्थित बगानका मजदुर बस्तीमा ल्याउन लागिएको खानेपानी ल्याउँदा जग्गाधनी प्रमाणपुर्जा माग्ने र मजदुरको नाममा नभएपछि नदिएको बताए । यसरी खानेपानी ल्याउन दिँदा पानीको बिलमा बगान व्यवस्थापन जिम्मेवार हुनुपर्ने अवस्था आउने भएकाले खानेपानी विस्तारमा रोक लगाइएको उनले बताए । यस्तै, उनले मजदुर युनियनहरूलाई गतिविधि गर्न रोक नलगाइएको दाबी गरे । ‘रिना विश्वकर्मा भन्ने मजदुर छ । ऊ दमक– ९ को वडासदस्य पनि हो । उसले जग्गा जबर्जस्ती हडप्यो । त्यो जग्गा कहिल्यै पनि मजदुरको थिएन,’ उनले भने, ‘वडाको निर्वाचित भएको सदस्य भनेर हामीलाई पनि टेर्दैन । उसले त्यो कोठा हडपेको हो । मजदुर युनियनलाई कहाँ ठाउँ दिने भन्ने मेरो अधिकारको कुरा हो । मैले आवश्यकताअनुसार अर्को ठाउँमा पनि त सार्न सक्छु नि ! बाहिरका अवकाशप्राप्त पनि यहाँ नेतागिरी गर्न खोज्छन् । पहिला व्यवस्थापन कमजोर थियो । अहिले हामी त कानुनविपरीत केही गर्न दिँदैनौँ ।’

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024