कैलालीको फूलबारीका एक परिवारका ८ जना वैदेशिक रोजगारीमा छन् । फूलबारी २ जे गाउँका ७५ वर्षीय समन्तबहादुर रानाभाटका ५ छोरा, १ बुहारी र २ नाति विदेश पुगेका हुन् । उनीहरू कतार, साउदी अरब, मलेसिया र यूएईमा रहेको समन्तबहादुरले बताए । ‘मेरा ८ छोरा, ३ छोरी हुन्, जसमध्ये ५ छोरा विदेशमा छन्’, उनले भने, ‘छोरासँगै दुई नाति र एक बुहारी पनि रोजगारीका लागि विदेश गएका छन् ।’ ८ छोरामध्ये जेठो, माइलो र ठाइलो – छैटौं छोरो) नेपालमै रहेका उनले बताए । घरमै रहेका जेठो र माइलाका छोरा र ठाइलाकी श्रीमती विदेश गएकी रानाभाटले बताए । ‘धेरै सन्तान भएकाले पढाउन सक्ने आर्थिक हैसियत पनि थिएन पढ्न पनि सकेनन्,’ रानाभाटले भने, ‘त्यसैले विदेश जानु उनीहरूको बाध्यता पनि भयो, माइलो छोरा लक्ष्मण रानाभाट गाउँकै स्कुलमा प्रधानाध्यापक छ, जेठो यतै खेती किसानी गर्छ र ठाइलो अलि अस्वस्थ भएर बुहारी विदेशिएकी हो ।’ सबै सन्तानले जसरी भए पनि जीवन धान्ने बाटो समातेकामा आफू खुसी रहे पनि दसैं-तिहारजस्ता महत्त्वपूर्ण चाडपर्वमा सबै साथमा नहुँदा पनि दु:ख लाग्ने गरेको रानाभाट बताउँछन् । उनका सन्तानहरू विगत चार वर्ष अघिबाट वैदेशिक रोजगारीमा जान थालेका हुन् । पहिरोपीडित भएपछि ०३६ मा उनको परिवार कास्कीबाट बसाइँ सरी कैलाली पुगेको हो । सरकारले फूलबारीमा दिएको २ बिघा ५ कठ्ठा जमिनबाट नै रानाभाट परिवारले जीवन धानिरहेका थिए । रानाभाटका छोरा, बुहारी र नातिमा रहेको विदेश जाने लहर अहिले छोरी ज्वाइँमा पनि सरेको छ । तीनमध्ये एक ज्वाइँ विदेश गइसकेका छन् ।