न्युजिल्यान्डमा भएको आगलागीमा एकै परिवारका तीन नेपालीको मृत्यु भएको छ। न्युजिल्यान्डको वाइमेट जिल्लास्थित एक घरमा आगलागी हुँदा त्यहाँ बसेका तेज काफ्ले, उनकी पत्नी टीका र छोरा प्रेमको मृत्यु भएको रेडियो न्युजिल्यान्डले जनाएको छ। काफ्ले परिवारले सोही घरको तल्लो तलामा रेस्टुरेन्ट चलाउँदै आएको थियो। आगलागी भएको घरबाट काफ्लेका तीन छोरी भने बाहिर निस्कन सफल भएका थिए।
धुवाँमा निसासिएका र सामान्य चोट लागेका छोरीहरू तुलसा, मनीषा र ममता स्थानीय अस्पतालमा उपचारपछि डिस्चार्ज भएको समाचारमा उल्लेख छ।
आगलागीको खबर प्राप्त भएको ५ मिनेटमै घटनास्थल पुगेको दमकललाई आगो निभाउन ४५ मिनेट लागेको स्थानीय सञ्चार माध्यमले जनाएका छन्।
सन् २००५ मा न्युजिल्यान्ड पुगेका तेजले स्थायी बसोबासको अनुमति पाएपछि २०१३ मा परिवारै उता लगेको बताइएको छ। क्राइस्टचर्चबाट १८ महिनाअघि सो स्थानमा पुगेका उनी एभरेस्ट इन्डियन रेस्टुरेन्ट चलाउँदै आएका थिए।