नेपाली युवा विशाल शुक्लाको हत्यामा संलग्न भएको आरोपमा उत्तर प्रदेश प्रहरीले एकजनालाई पक्राउ गरेको छ। विशालका साथी हापुरका विवेकलाई प्रहरीले पक्राउ गरेको हो। विवेक समाजवादी पार्टीका पूर्वजिल्ला अध्यक्षका छोरा हुन्।
नयाँदिल्लीस्थित नेपाली दूतावासले विशालको हत्या आरोपीलाई पक्राउ गरिएको पुष्टि गरेको छ। विशालका आफन्त तथा विद्यार्थीले बारखम्बारोडस्थित नेपाली दूतावासमा गत शनिबारदेखि धर्ना दिइरहेका छन्। उनीहरूले भारतीय प्रहरीले हत्यारालाई पक्राउ गरी कारबाही गर्न ढिलाइ गरिरहेको आरोप लगाएका छन्। हत्यामा संलग्नताको आरोप लागेका दुईजना भने अझै बेपत्ता छन्। हत्यामा गौरभ तथा सौरभ पनि संलग्न भएको आरोप छ।
उत्तर प्रदेशको हापुर जिल्लामा विशालको साथीहरूकै कुटाइबाट अघिल्लो बुधबार ज्यान गएको थियो। उनी सर्लाही सिरौत गाविसका बासिन्दा हुन्। विशाल उत्तर प्रदेशको मोनाद विश्वविद्यालयको मेकानिकल इन्जिनियरका दोस्रो वर्षका विद्यार्थी थिए। विशालको हत्यामा संलग्न भएको आरोप लागेका तीनैजनालाई विश्वविद्यालयले निष्कासन गरेको छ।
‘मोनाद विश्वविद्यालयका उपकुलपति तथा स्थानीय प्रहरीले हत्या आरोपितमाथि कारबाहीका लागि पूर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्’, दिल्ली नेविसंघका महामन्त्री मदन भण्डारीले विश्वविद्यालयका उपकुलपतिसँग कुराकानी गरेपछि मंगलबार अन्नपूर्ण भने। विशालका परिवारका सदस्य, विद्यार्थी तथा नेपाली संगठनका प्रतिनिधिहरूले सोमबार मोनाद विश्वविद्यालयका उपकुलपतिसँग भेट गरी हत्यारामाथि कडा कारबाही गर्न माग गरेका थिए। ‘प्रहरीले यो घटनालाई दुर्घटनाका रूपमा लिएर व्यवहार गरेको छ’, भण्डारीले भने, ‘हामीले नियतवश हत्या गरिएको भन्ने बनाउन दबाब दिएका छौं।’
हत्याका प्रत्यक्षदर्शी मनीष शर्मा स्थानीय प्रहरी तथा विश्वविद्यालय प्रशासनको दोहोरो दबाबमा छन्। यसबारे मनीषसँग बुझ्न खोज्दा सम्पर्क हुन सकेन।