नेपाली युवतीको बलात्कारपछि हत्या

10 February, 2015

भारतको रोहतक प्रहरीले मानसिक रूपले अस्वस्थ नेपाली युवतीको बलात्कारपछि हत्या भएको अभियोगमा एक नेपालीसहित आठजनालाई पक्राउ गरेको छ। गत माघ १८ गतेदेखि बेपत्ता ती नेपाली युवती तीन दिनपछि रोहतकबाट १८ किमि टाढा बहु अकबरपुर गाउँमा मृत भेटिएकी थिइन्। 

प्युठान ओखलढुंगा गाविसको सन्तोष विकसहित रोहतकका अन्य सात स्थानीय ती नेपाली महिलाको बलात्कारपछि हत्याको अभियोगमा समातिएको रोहतक प्रवासी नेपाली संघका सचिव गोपाल थापाले अन्नपूर्ण पोस्ट्लाई बताए।

रोहतक प्रहरीका अनुसार घटनामा संलग्न अर्का एकको समेत खोजी भइरहेको छ। प्रहरीले घटनाका आठ अभियुक्तलाई पीडितको घरवरिपरिको सीसीटीभी क्यामेराको खोजीबाट पत्ता लगाएको थियो। 

यसबारे नयाँदिल्लीस्थित नेपाली दूतावासले भारतीय विदेश मन्त्रालयलाई पीडितलाई न्याय दिलाउन माग गर्दै पत्र लेखेको छ। ‘हामीले विदेश मन्त्रालयलाई आवश्यक सबै मद्दतका लागि पत्र लेखेका छौं’, नेपाली दूतावासका डिसिएम कृष्ण ढकालले भने। 

केही दिनअघि नेपालीहरूका दुई समूहले पीडितका पक्षमा र अभियोगीलाई समात्न माग गर्दै रोहतकमा मैनबत्ती जुलुस निकालेका थिए। ‘यस घटनामा रोहतकका स्थानीयबाट पाएको समर्थन प्रशंसायोग्य छ’, थापाले भने। 

पीडितको टाउको फुटेको अवस्थामा मृत पाइएको थियो भने शरीरमा चोटैचोट थियो। ती युवती आफ्नो स्वास्थ्यजाँचका लागि नियमित भारत आउने र रोहतकमा रहेका दिदीभिनाजुकहाँ बस्ने गरेकी थिइन्। 

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024