नेपालमा पहिलो पटक सहकारी रोजगार मेलाको आयोजना हुँदै

20 June, 2024

काठमाडौं : राष्ट्रिय सहकारी महासंघ नेपालको आयोजनामा नेपालमा पहिलो पटक सहकारी क्षेत्रमा रोजगार मेला आयोजना हुने भएको छ। महासंघले बुधबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै असार ७ गतेदेखि ९ गतेसम्म ललितपुरमा प्रथम सहकारी रोजगार मेला आयोजना हुने जनाएको हो।

मर्यादित सहकारी व्यवसायका लागि युवा संलग्नता भन्ने नाराका साथ आयोजना गर्न लागिएको मेलाको ५ हजार बढीले अवलोकन गर्ने अपेक्षा गरेको महासंघकी अध्यक्ष ओमदेवी मल्लले जानकारी दिइन्। हाल ३१ हजारभन्दा बढी सहकारी संघ/संस्थामार्फत १ लाखलाई प्रत्यक्ष रोजगारी र लगभग १० लाखलाई स्वरोजगार सिर्जना गर्न सफल रहेको यस क्षेत्रको भिजन २०३० ले परिकल्पना गरेको रोजगारी सिर्जनाको लक्ष्य हासिल गर्न मेलाले महत्वपूर्ण योगदान गर्ने विश्वास लिएको उनले बताइन्।

त्यस्तै मेलाको आयोजनाले प्रतिभा पलायन रोक्न, स्वदेशमै रोजगारी सिर्जना गर्न प्रोत्साहन गर्ने वातावरणको विकास गर्न तथा उत्पादन एवं सेवाका सहकारीहरू र अन्य निजी क्षेत्रका लागि आवश्यक जनशक्ति खोज्न सहजता प्रदान गर्ने अध्यक्ष मल्लले बताइन्।

मेलामा रोजगारदाताका स्टलहरु रहने र सहकारीमार्फत उद्यमी बनेकाहरुका उत्पादनलाई समेत स्थान दिइएको आयोजकले जनाएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024