विभिन्न प्रलोभन दिई भारत लाँदै गरेकी एक किशोरीलाई सीमा प्रहरीले सोमबार उद्धार गरेको छ । प्रहरीले भक्तपुर झौखेलकी गोजा थरकी १६ वर्षीया किशोरीलाई सीमा नजिकको भिट्ठामोडबाट उद्धार गरेको हो । प्रहरी नायब निरीक्षक पृथ्वी खत्रीका अनुसार रिक्सामा मुख छोपेर एक्लै भारततर्फ जाँदै गरेकी उनलाई शंका लागी सोधपुछ गर्दा भारत, मधुवनी जिल्लाका अयुव खान नामक व्यक्तिले प्रलोभनमा पारी भारततर्फ लान खोजेको खुलेको थियो । खान भने पक्राउ पर्ने डरले किशोरीलाई रिक्सामा चढाएर पैदलै सीमातर्फ गएका थिए । किशोरीलाई केरकार गर्न लागेको थाहा पाई खान सीमापारि भागेको प्रहरीले जनाएको छ ।