नक्कली राहदानीमा नेपाली भिसा

16 July, 2014

शम्भु कट्टेल

ग्वाटेमालाको नक्कली राहदानी बोकेर काठमाडौं आएका दुई पाकिस्तानी नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले नेपाली भिसा लगाइदिएको खुलासा भएको छ। असार १२ गते पाकिस्तानबाट काठमाडौं आएका दुई पाकिस्तानीलाई अध्यागमन अधिकृतले ग्वाटेमालाको नक्कली राहदानीमा १५ दिनको अन अराइभल नेपाली भिसा लगाइदिएका थिए। पाकिस्तानी नागरिक द्वय वासिम अफजल र लुकमान अहमदले कराँची विमानस्थलमा पाकिस्तानी राहदानी प्रयोग गरे पनि काठमाडौं उत्रेपछि ग्वाटेमालाको नक्कली राहदानी प्रयोग गरेको स्रोतको दाबी छ।

एक साता काठमाडौं बसेर हङकङ हुँदै फ्रान्सको पेरिस जान लागेका उनीहरूलाई हङकङ अध्यागमनले नक्कली राहदानी र फ्रान्सको नक्कली अस्थायी बसोबास कार्ड प्रयोग गरेको आरोपमा काठमाडौं फर्काएपछि उनीहरूले ग्वाटेमालाको नक्कली राहदानी प्रयोग गरेको खुलेको हो। हङकङ अध्यागमनले फ्रान्सको कार्डसमेत नक्कली भएको भन्दै उनीहरूलाई फिर्ता गरेको थियो।

विमानस्थल अध्यागमन प्रमुख हिमनाथ दवाडीले दुई पाकिस्तानीलाई पक्राउ गरिएको बताए। ती दुई पाकिस्तानीले प्रयोग गरेको ग्वाटेमालाको नक्कली राहदानीमा अध्यागमन अधिकृत तोयानारायण अर्यालले भिसा लगाइदिएको विमानस्थल अध्यागमन स्रोतले बताएको छ। अर्यालले उनीहरूलाई १५ दिनको नेपाली भिसा दिएका थिए। नक्कली राहदानी भएको थाहा पाउँदापाउँदै अर्यालले ती पाकिस्तानीलाई भिसा दिएको स्रोतको दाबी छ। उनीहरू दुवैजना १० दिनदेखि अध्यागमन विभागको हिरासतमा छन्।

अफजलले ग्वाटेमालाको राहदानीमा बायो पेज परिवर्तन गरेका छन्। उनले प्रयोग गरेको ग्वाटेमालाको राहदानी नम्बर नै दुई थरीको छ। अफजलको बायो पेजमा ३५५२२३०८४ र ग्वाटेमालाको राहदानीमा ४३२९७३८ नम्बर छ। अहमद अपांगता भएका व्यक्ति हुन्। उनी ह्विल चेयर प्रयोग गर्छन्। उनलाई हिरासतमा ह्विल चेयरमा बस्न कठिन भएको बताइएको छ। केही दिनअघि उनी बिरामी परेका उनलाई बागबजारको मोडेल अस्पतालमा उपचार गराइएको थियो।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024