‘देश रोइरहेको छ, नेतृत्वले न सुन्छ, न देख्छ’

5 February, 2024

विदेश जानु नराम्रो नै हो भन्न त सकिँदैन। तर कामकै खोजीमा विदेश भौँतारिनुपर्ने भनेको देशको लागि राम्रो कदापि हुन सक्दैन। नेपालमा पछिल्लो समय रोजगारी खोज्दै विदेश पुग्नेहरूको संख्या ठूलो छ। धेरैजसो नेपालीहरू स्वदेशमा रोजगारी नपाउँदा विदेश जान बाध्य छन्। कति भने स्वदेशमा पाएको रोजगारीबाट परिवार पाल्न र आफ्नो जनजीविका चलाउन नसक्दा बिदेसिन बाध्य छन्।

यसको ज्वलन्त उदाहरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केही घण्टा बसेर उनीहरूको क्रन्दन र रोदन हेरे र सुने पुग्छ। आफ्नो परिवारलाई राम्रो, खुसी र सुखीसँग पाल्ने अनि आफ्नो जीवन बनाउने सपना पोल्टामा बोकेर बिदेसिएका कतिपय नेपालीहरू त उतै अस्ताउँछन्।

त्यति मात्रै होइन, शव ल्याउन पनि लासमाथिको राजनीति सुरु हुन्छ। सीप सिकेर गएकाहरुले केही काम गर्न सक्छन्। तर सीप नसिकेर विदेश गएकाहरु कामै नपाउँदा समेत स्वदेश फर्किन चाहेर पनि सक्दैनन्।

यता साहुको ऋणमाथि ऋण थपिएको बोझले कतिपय गलत काम गर्न बाध्य हुन्छन्। यस्ता धेरै उदाहरण र भोगिसकेका घटना हाम्रै देश र समाजका हुन्। यी तीतो यथार्थलाई कहिल्यै नजिकबाट नियाल्न नसक्ने नेतृत्वहरु अझैपनि स्वदेशमै रोजगारी दिन्छौँ भन्न लाज मान्दैनन्।

बोली पूरा गर्न त परको कुरा बोलेको दुई दिनमै बिर्सिहाल्ने बानी नेतृत्व वर्गमै छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्दा मान्छे रोएको देखिन्छ। तर मान्छेको साथमा वास्तवमा देश दुख्छ र रुन्छ। देशको पीडा र देश रोएको न नेतृत्वले सुन्छ, देख्छ न त नजिकबाटै नियाल्छ। न त रोएको देशलाई कहिल्यै मल्हमपट्टी लगाउने बारेमा ध्यान दिन्छ। जे हुन्छ, आज हुन्छ, भोलि बिर्सिसक्छ।

त्यसैले नै होला भोलिका भविष्यहरु आज आफ्नो आँसु झारेर भएपनि आफ्नो भविष्य सुरक्षित राख्न बिदेसिएका छन्। परिवार, आफन्त, नातागोता, मातापिता सबैलाई एकपटक रुवाएर र आफू रोएर भएपनि विदेश जाँदै छन्। किन पनि भने भोलिका यो देशका भविष्यहरु आफ्नो देशमा आफ्नै भविष्य सुरक्षित देख्दैनन्। नेताहरू नै दुई थरिका कुरा गर्छन्।

सरकारमै रहेका मन्त्रीहरु एकातिर स्वदेशमै रोजगारी दिने कुरा गरिरहेका हुन्छन् भने अर्को ठाउँमा दक्ष जनशक्ति पठाउने भनेर श्रम सम्झौता गरेर हिँडिरहेका छन्। चिकित्सक, नर्स, श्रमीकहरुका लागि सम्झौता गर्दै गइरहेका घटना केही महिनाअघिका सरकारका कामहरुले नै देखाउँछ। समग्रमा भन्दा आज देशको भविष्य रोएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026