दूतावासले सहयोग नगरेको युएईका नेपालीको गुनासो

8 June, 2020

रामकुमार परियार 

कोभिड १९ को विपतका कारण युएईमा समस्यामा परेका नेपालीहरुले आफुहरुलाई नेपाली दूतावासले सहयोग नगरेको गुनासो गरेका छन्।

कोरोना भाईरसको महामारी शुरु भए यता विभिन्न कारणले समस्यामा परेका नेपालीहरुले दूतावासमा फोन गर्दा फोन नउठाउने , गुनासो पोख्न दूतावास जाँदा प्रवेश गर्न नदिने र आफ्ना दुखेसोहरु सुन्नुको साटो बेवास्ता गर्ने गरेको गुनासो गरेका हुन।

विभिन्न समस्याहरू लिएर आईतबार दिउँसो दूतावास पुगेका झन्डै ३ दर्जन नेपालीहरुलाई दूतावासले सम्बोधन गर्नुको सट्टा स्थानीय प्रशासन लगाएर तितरवितर पारेको पीडित नेपालीहरुको गुनासो छ। “घर फर्किने प्रक्रिया , मिति र टिकट बुकिङका बारेमा बुझ्न गएको थिएँ दूतावासमा पस्नै पाईएन” सर्लाहीका छत्र थापाले बताए।

दूतावासले भने सबै नागरिकको फोन महत्त्वपूर्ण हुने भएकोले कर्मचारी नै तोकेर मोबाईल नम्बर सार्वजनिक गरेको जिकिर गर्दै आएको छ। दूतावासका एक अधिकारीले भने “कामको व्यस्तताका बिच पनि सबैको फोन उठाउने कोसिस गरिरहेका छौँ , सेवाग्राहीका अत्याधिक कलहरु आउने हुनाले कहिलेकाही चाहेर पनि केहि कल उठाउन सकिंदैन।” 

नेपाली दूतावासमा अहिलेसम्म २० हजार नेपालीले घर फर्किन आवेदन दिएका छ्न। सरकारले आफूहरुको उद्धारमा ढिलाइ गरेको प्रति आक्रोश पोख्दै उनीहरुले तत्काल स्वदेश फर्किने वातावरण मिलाउन दूतावासमार्फत नेपाल सरकारको ध्यानाकर्षण समेत गराएका छन्।  

नेपाली कामदारहरुका गुनासोहरु सुन्ने एवं  सम्बोधन गर्ने दूतावासको प्रमुख दायित्व भएपनी पछिल्लो समय खाडीका दूतावासहरुले यसमा ध्यान नदिएको गुनासोहरु बढ्न थालेको छ। आफुहरुको समस्या समाधानमा दूतावासले ध्यान नदिएको भन्दै गएको बैशाख २३ गते अबुधाबी स्थित नेपाली दूतावासमा नेपालीहरुले धर्ना समेत बसेका थिए।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024