रोजगारीका लागि विभिन्न देश पुगेका म्याग्देलीले दसैंमा एक अर्ब रुपैयाँ हाराहारी रेमिटेन्स पठाएका छन्। शिक्षा, रोजगार, व्यापारको सिलसिलामा विदेशमा बसेकाले घरखर्च तथा अन्य प्रयोजनमा लागि असोज तेस्रो सातासम्म सो रकम पठाएका हुन्। जिल्ला सदरमुकाम बेनीबजार र ग्रामीण क्षेत्रमा शाखा विस्तार गरेका बैंक तथा वित्तीय संस्थाले दिएको जानकारीअनुसार असोज पहिलो सातादेखि दैनिक १० करोड रुपैयाँसम्म भुक्तानी गरिएको थियो। दसैंमा धौलागिरि बचत तथा ऋण सहकारी संस्थाले १४ करोड ४७ लाख ५० हजार, निलगिरि विकास बैंकले १२ करोड ५० लाख, बुद्ध बहुउद्देश्यीय सहकारी संस्थाले १० करोड र दरबाङ बचत तथा ऋण सहकारी संस्थाले पाँच करोड ५० लाख रुपैयाँ रेमिटेन्स भुक्तानी गरेको जनाएका छन्। त्यसैगरी, प्रभु बैंक पाँच करोड, कृषि विकास बैंकले दुई करोड ५० लाख, माछापुच्छ्रे बैंकले तीन करोड, काष्ठमण्डप बैंकले तीन करोड, बैंक अफ काठमाण्डूले दुई करोड भुक्तानी गरेको बताएका छन्। त्यस्तै मेट्रो डेभलमेन्ट बैंकले एक करोड ५० लाख, कस्तुरी बहुउद्देश्यीय सहकारी संस्थाले ५० लाख, बेनी बचत तथा ऋण सहकारी संस्थाले ५० लाख, कुमारी बहुउद्देश्यीय सहकारी संस्थाले एक करोड, नमस्ते बहुउद्देश्यीय सहकारी संस्थाले ५० लाख तथा आधा दर्जन साना सहकारी संस्थाले समेत २० देखि ४० लाखसम्म भुक्तानी गरेको तथ्यांक उपलब्ध गराएका छन्। ठूला बैंकभन्दा विकास बैंक र सहकारीले धेरै रकम भुक्तानी गरेका छन्। जिल्ला सदरमुकाम बेनीबजारमा केन्द्रीय कार्यालय रहेको निलगिरि विकास बैैंकले दरबाङ, बावियाचौर, भुरुङ तातोपानी शाखा र धार्मिकस्थल गलेश्वरमा रहेको एक्टेन्सन काउन्टरबाट सहज वितरण गरेको जनाएको छ। रेमिटेन्सको केही हिस्सा खातामै भए पनि अधिकांश निकाल्ने गरिएको बुद्ध बहुउद्देश्यीय सहकारी संस्थाका प्रबन्धक राजकुमार श्रेष्ठले बताए। ‘तिहारपछि भुक्तानी गरेको करिब १० प्रतिशतमात्रै फर्कन्छ, चाडपर्वमा भड्किलो शैली अपनाउन थालिएकाले पनि खर्च बढेको छ,’ उनले भने। दसैंमा पैसा पठाएकाले तिहारमा कममात्र पठाउने गर्छन्। दसैंको अन्तिम दिन निलगिरि विकास बैंकले २० लाख रेमिटेन्स भुक्तानी गरेको छ। तीन सय ६५ दिने बैंकिङ सेवा उपलब्ध गराइरहेको उक्त बैंकले अपेक्षा गरेभन्दा बढी ग्राहक रकम लिन आएको जनाएको छ। ‘दसैंको दिनमा समेत भीड नै थियो। विगतमा कम चहलपहल हुने समयमा समेत पैसा लिन आउनेको भीड देखिएको छ,’ निमित्त कार्यकारी प्रमुख अनुमान श्रेष्ठले भने। करिब ७० प्रतिशत रकम खाडी मुलुकबाट भित्रिने गरेको सेवाप्रदायक संस्थाले जनाएका छन्। कतार, साउदी, दुबई, दक्षिण कोरिया, जापान, भारत, मलेसियालगायत विकशित मुलुकबाट रकम भित्रिने गरेको छ। जिल्लामा वार्षिक चार अर्ब हाराहारी रेमिटेन्स भित्रिने गरेको छ। म्याग्दीको प्रमुख आयस्रोत नै रेमिटेन्स हो।