गत भदौ ९ गते रसुवाबाट अरुण चौधरीले तुलसीपुर उपमहानगरपालिका–१५, दक्षिण कुरहरियास्थित बुवा चिन्तबहादुर चौधरीसँग फोनमा कुरा गर्दै दसैँमा घर आउने सुनाउनुभएको थियो । छोराले चाडपर्वमा घर फर्किने खबर सुनाएपछि परिवारमा खुसी छाएको थियो तर भोलिपल्ट बिहान करिब ८:०० बजे ‘म अफिस गएँ’ भन्ने सन्देश पठाउनुभएका अरुण त्यसपछि परिवारको सम्पर्कमा आउनुभएको छैन ।
भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले अरुणलाई बेपत्ता बनायो । रसुवास्थित लाङटाङ हाइड्रोपावरको विद्युतीय इन्जिनियरिङ शाखामा तीन वर्षदेखि कार्यरत अरुणको अवस्था त्यसयता अज्ञात छ । दसैँमा छोरालाई घरमा स्वागत गर्ने प्रतीक्षामा रहनुभएका चिन्तबहादुरको यस पटको दसैँ छोराको चिन्तामै बित्ने भएको छ ।
छोराको खोजीमा चिन्तबहादुर चितवन, धादिङ, नुवाकोट र काठमाडौँसम्म पुग्नुभयो । विभिन्न अस्पताल र होल्डिङ सेन्टरमा खोजी गर्नुभयो तर कतैबाट पनि छोराको अवस्थाबारे जानकारी पाउनुभएन । अन्ततः सरकारले आग्रह गरेपछि उहाँले डिएनए परीक्षणका लागि नमुना दिनुभयो । त्यसको नतिजासमेत अहिलेसम्म आएको छैन ।
चिन्तबहादुरले भन्नुभयो, “छोरालाई कतै भेटिन्छ कि भनेर धेरै ठाउँमा खोज्यौँ तर भेटिएन । अहिले पनि कतै आइहाल्छ कि भनेर बाटो हेरिरहेका छौँ । गाउँघरमा दसैँको चहलपहल छ । हामीलाई न दसैँ आएको छ न छोराको अत्तोपत्तो छ ।” घरको एक्लो छोरा बेपत्ता भएपछि चिन्तबहादुरको परिवार शोक र अन्योलमा छ । छोराको अवस्था थाहा नहुँदा परिवारका सदस्य सामान्य दिनचर्यामा समेत फर्कन सकेका छैनन् । लामो समयसम्म खोजी गर्दा पनि कुनै जानकारी नपाएपछि परिवार थप निराश बनेको छ । चिन्तबहादुरका अनुसार डिएनए परीक्षणका लागि नमुना दिएपछि प्रशासन वा सरकारबाट थप जानकारी आएको छैन । उहाँले छोराको अवस्था पुष्टि गर्ने कुनै आधार नपाएपछि परिवारले दसैँपछि सामाजिक संस्कार अनुसार अन्त्येष्टि गर्ने तयारी गरेको बताउनुभयो ।
तुलसीपुर उपमहानगरपालिका–१२, हरिपौरीकी रिता चौधरीको परिवारको अवस्था पनि उस्तै छ । भोटेकोशी बाढीमा बेपत्ता भएका भाइ बजारु चौधरी र भाइबुहारी सीमा चौधरी फर्केर आउलान् कि भन्ने आसमा उहाँको परिवार छ । रसुवास्थित भन्सार कार्यालयमा १२ वर्षदेखि कार्यरत बजारु र उहाँकी श्रीमती सीमा दसैँमा घर आउने तयारीमा हुनुहुन्थ्यो । बाढी आउनुअघि दिदी रितासँग फोनमा कुरा गर्दै उहाँहरूले दसैँमा भेट्ने बताउनुभएको थियो तर भदौ १० गते भोटेकोशीमा आएको बाढीले उहाँहरू सवार बस बगाएपछि दम्पती सम्पर्कविहीन हुनुभयो ।
बसमा सवार बजारु र सीमासहित अन्य यात्रुको अवस्थाबारे अहिलेसम्म कुनै जानकारी प्राप्त भएको छैन । भाइबुहारीको खोजीमा आफन्त नुवाकोट, धादिङ, काठमाडौँ र चितवनसम्म पुगे । अस्पताल तथा सम्भावित स्थानमा खोजी गर्दा पनि उनीहरूको अवस्था पत्ता लागेन । त्यसपछि परिवारले डिएनए परीक्षणका लागि नमुना दिएको छ तर परीक्षणको नतिजा नआउँदा परिवारले कुनै निष्कर्ष निकाल्न सकेको छैन । रिताका छोरा तिलक चौधरीका अनुसार बजारु र सीमाका दुई सन्तान छन् । छोरा दक्षिण कोरिया र छोरी डेनमार्कमा छन् । तिलकले नेपालमा आफन्तका रूपमा आफूहरू रहेकाले बेपत्ता मामामाइजूको खोजी र परिवारको जिम्मेवारी समालिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “गाउँघरमा दसैँको रौनक छ तर हामीलाई मामामाइजूको चिन्ताले सताएको छ । उहाँहरू बेपत्ता भएपछि कुनै चाडपर्व मनाउन सकेका छैनौँ । सरकारले बेपत्ता भएको परिचयबाहेक अरू केही दिएको छैन । विदेशबाट भाइबहिनी आएपछि दसैँपछि सामाजिक संस्कार अनुसार गर्ने भन्ने सल्लाह भएको छ ।”
भोटेकोशी बाढीमा बेपत्ता भएका आफन्तको खोजी र अवस्थाबारे जानकारी पाउने आसमा दाङका धेरै परिवार छन् । जिल्ला प्रशासन कार्यालय दाङका अनुसार बाढीका कारण जिल्लाका ५० जना बेपत्ता छन् । लामो समयसम्म उनीहरूको अवस्था अज्ञात रहेपछि आफन्तले डिएनए परीक्षणका लागि नमुना दिएका छन् तर परीक्षणको नतिजा र आधिकारिक जानकारी नआउँदा परिवार अन्योलमा छन् । दाङका प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डेका अनुसार केही परिवारले कुशको शव बनाएर सामाजिक संस्कार अनुसार अन्त्येष्टि गरिसकेका छन् तर सरकारले बेपत्ता व्यक्तिलाई मृतक घोषणा नगरेकाले उनीहरूका परिवारले राहत पाउन सकेका छैनन् ।
बेपत्ता आफन्तको अवस्था पुष्टि नहुँदा परिवारले शोकलाई औपचारिक रूप दिनसमेत कठिनाइ भोगिरहेका छन् । आफन्त फर्किने आशा त्याग्न नसकेका परिवारले उनीहरूको मृत्यु पुष्टि गर्ने आधिकारिक आधार पनि पाएका छैनन् । दसैँमा घर फर्किने वाचा गरेका आफन्तको प्रतीक्षामा बसेका परिवारका लागि यस वर्षको दसैँ पीडा र अन्योलबिच बितिरहेको छ । अन्य घरमा चाडपर्वको चहलपहल बढिरहेका बेला उनीहरूका घरमा भने बेपत्ता आफन्तको खबर, डिएनए परीक्षणको नतिजा र सरकारी निर्णयको प्रतीक्षा छ ।