तीन कमाउने सदस्य बेपत्ता, सदा बस्तीका परिवारमा दसैँको सट्टा पीडा

15 October, 2026

अहिले चारैतिर दसैँको रौनक छ। नयाँ लुगा लगाउने, मिठोमसिनो खाने र परिवारसँग खुसी साट्ने पर्वका रूपमा दसैँलाई लिइन्छ। तर, सप्तरीको राजविराज नगरपालिका–१६ स्थित बोरिया टोलको सदा बस्तीका तीन परिवारका लागि यस वर्ष दसैँमा कुनै रौनक छैन। उनीहरूका लागि यसपालिको दसैँ खुसीमा होइन, पीडा र अभावमा बित्ने भएको छ।

भदौ १० गते रसुवामा आएको बाढीपछि नुवाकोटको किस्पाङ गाउँपालिका–५ स्थित त्रिशूली थ्रीबी जलविद्युत् आयोजनामा कामदारका रूपमा कार्यरत ४० वर्षीय बेचन सदा, ३५ वर्षीय शिवकुमार सदा र ३२ वर्षीय सुरेन्द्र सदा बेपत्ता भएका थिए। डेढ महिनाभन्दा बढी समय बितिसक्दा पनि उनीहरूको अवस्था अज्ञात छ। यही पीडाले सदा बस्तीमा दसैँको रौनक हराएको छ।

तीन परिवारमध्ये बेचन सदाको परिवारको पीडा झन् गहिरो छ। उहाँका १३ वर्षीय छोरा सुभाष सदा र सात वर्षीया छोरी निभाका लागि दसैँ खुसीको पर्व नभई पीडा र अभावको अर्को नाम बनेको छ।

दुईकोठे झुपडीमा बस्दै आएका यी दाजुबहिनीका लागि न नयाँ लुगा किनिदिने कोही छ, न मिठोमसिनो पकाएर खुवाउने। घरमा बिहान–बेलुकाको छाक टार्नसमेत अन्न र पैसा छैन।

सुभाषले गत वर्षको दसैँ आमाको शोकमा बिताउनुभएको थियो। दसैँ आउन करिब एक महिना बाँकी रहँदा गत भदौ १७ गते उहाँकी आमा फुलियादेवी सदाको क्यान्सरका कारण मृत्यु भएको थियो। आमाको निधनको पीडाबाट सम्हालिन नपाउँदै यस वर्ष परिवारमा अर्को बज्रपात परेको छ।

“दसैँमा बुवाले नयाँ कपडा ल्याइदिनुहुन्थ्यो, आमाले मिठो खानेकुरा पकाइदिनुहुन्थ्यो,” विगत सम्झँदै सुभाषले भन्नुभयो, “अहिले न आमा हुनुहुन्छ, न बुवा नै। घरमा खाने अन्न र पैसा पनि छैन। कसरी मनाउने दसैँ?”

आमालाई क्यान्सरले खोस्यो, बुवालाई बाढीले बेपत्ता बनायो। बाल्यकालमै अभिभावकको साथ गुमाएका सुभाष र निभाका लागि अहिले चाडपर्वको खुसीभन्दा छाक टार्ने चिन्ता ठुलो भएको छ।

तीन परिवारमा पीडा, बस्तीमै छैन रौनक
सदा बस्तीका यी दाजुबहिनीको जस्तै पीडा ३१ वर्षीया दोरोपतीदेवी सदा र उहाँका तीन नाबालक सन्तानले पनि भोगिरहेका छन्।

अर्काको जग्गामा मासिक एक हजार रुपियाँ भाडा तिरेर बनाइएको झुपडीमा बस्दै आउनुभएकी दोरोपतीका श्रीमान् सुरेन्द्र सदा पनि भदौ १० गते भोटेकोशी क्षेत्रमा आएको बाढीपछि बेपत्ता हुनुहुन्छ।

श्रीमान् बेपत्ता भएपछि बालबालिकाको पालनपोषण र घरभाडाको जोहो गर्नसमेत उहाँलाई धौधौ परेको छ।

“परिवार चलाउने एक मात्र सहारा बेपत्ता भएपछि खाने अन्न जुटाउनसमेत समस्या भएको छ,” उहाँले भन्नुभयो, “यसपालिको दसैँ हाम्रो लागि दसैँ होइन, दशा बनेर आयो।”

सोही बस्तीकी गुडियादेवी सदाको पीडा पनि उस्तै छ। उहाँका श्रीमान् शिवकुमार सदा पनि भदौ १० गतेको बाढीपछि बेपत्ता हुनुहुन्छ। चार जना नाबालक सन्तानको जिम्मेवारी एक्लै सम्हालिरहनुभएकी ३२ वर्षीया गुडियाले छरछिमेक, जनप्रतिनिधि र सर्वसाधारणसँग सहयोग मागेर परिवारको गुजारा चलाउँदै आउनुभएको छ।

श्रीमान् साथमा भएको भए चाडपर्वका बेला कमाएर ल्याउनुहुन्थ्यो र परिवारमा खुसी छाउँथ्यो भन्ने विगतको सम्झनाले उहाँलाई झन् भावुक बनाउने गरेको छ।

“श्रीमानको कुनै खबर छैन। चार जना नाबालक सन्तानको पेट कसरी पाल्ने भन्ने चिन्तामै दिनरात बित्ने गरेको छ,” गुडियाले भन्नुभयो, “यसपालि दसैँ आयो भन्दा पनि श्रीमान् कहिले फर्किनुहुन्छ भन्ने चिन्तामै डुबेकी छु।”

बाढीले बेचन, सुरेन्द्र र शिवकुमारलाई बेपत्ता बनाएपछि तीन परिवारको खुसी मात्र खोसिएको छैन, सिङ्गो सदा बस्तीको दसैँसमेत खल्लो बनेको छ।

चारैतिर दसैँको उल्लास छाइरहेका बेला सदा बस्तीका यी परिवार भने आफ्ना प्रियजन फर्किने आशा र भोक मेटाउने चिन्ताबिच दिन बिताइरहेका छन्। स्थानीयवासीका अनुसार बेपत्ता परिवारका सदस्य फर्किने प्रतीक्षा र दैनिक गुजाराको समस्याले उनीहरूको चाडपर्वसमेत प्रभावित भएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026