विकसित देशमा रहेका नेपालीले स्वदेशमा रकम पठाउन रेमिटेन्सभन्दा हुन्डी रोज्ने गरेका छन्। वाणिज्य बैंक र रेमिटेन्स कम्पनीले त्यहाँ उपस्थिति जनाउन नसक्दा हुन्डीमार्फत रकम आइरहेको विज्ञ बताउँछन्।
वाणिज्य बैंक र रेमिटेन्स कम्पनीहरु नेपालीले बढी कमाउने देशमा पुग्न सकेका छैनन्। उनीहरु अमेरिका, युरोप, जापान, अस्टे्रलिया जान नसक्दा हुन्डीको माध्यमबाट बढी रकम आउने गरेको प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बताए। उनले भने, ‘विकसित देशमा वाणिज्य बैंक तथा रेमिटेन्स कम्पनीका सम्पर्क कार्यालय खोल्न सजिलो नभएकाले त्यहाँबाट बढी रकम अवैध बाटोबाट आउँछ।’ नेपाल राष्ट्र बैंकले सबैभन्दा बढी रेमिटेन्स मलेसिया, कतार, साउदी अरेबियाबाट आउने गरेको तथ्यांक सार्वजनिक गरेको छ। विकसित मुलुकबाट ज्यादै थोरै भित्रन्छ। यसले पनि विकसित मुलुकबाट रेमिटेन्सभन्दा हुन्डीबाट बढी रकम भित्रिने गरेको प्रस्ट पार्छ। शेरचन विकसित मुलुकबाट कुल रकमको आधाभन्दा बढी हुन्डीबाट आउने अनुमान गरिएको बताउँछन्। वैदेशिक रोजगारीमा जाने व्यक्तिले पैसा बैंकबाट सञ्चालित रेमिटेन्स कम्पनी, रेमिटेन्सको मात्र कारोबार गर्ने कम्पनी र हुन्डीबाट पठाउँछन्। बैंक र रेमिटेन्स कम्पनीबाट पठाउँदा बढी झन्झट र महँगो शुल्क तिर्नुपर्ने भएकाले हुन्डी प्रयोग बढेको हुन सक्ने विज्ञ बताउँछन्। नेपाल राष्ट्र बैंकले १ लाख रुपैयाँभन्दा बढीको रेमिटेन्स बैंक खाता वा चेकमार्फत भुक्तानी दिनुपर्ने नया” व्यवस्था गरेको छ। राष्ट्र बैंकको यस्तो निर्देशनपछि सेवाग्राहीले १ लाख रुपैयाँभन्दा बढी रकम बैंक खातामा जम्मा गर्नुपर्छ। यसअघि रेमिटेन्सको रकम सहज रुपमा पाउँदै आएकाले राष्ट्र बैंकको यो निर्देशनले केही झन्झटिलो बनाएको बैंकर बताउँछन्। यसले पनि हुन्डीलाई सहज बनाएको विज्ञको भनाइ छ। केन्द्रीय बैंकको यस्तो नीतिले रेमिटेन्समा केही कमी आएको आँकलन गरिएको छ। हुन्डीकै कारण रेमिटेन्समा कमी आएको राष्ट्र बैंकको भनाइ छ। नेपाल राष्ट्र बैंकका गभर्नर युवराज खतिवडाले रेमिटेन्स घटनुका कारण खोजिरहेको बताए। उनलेे भने, ‘निरन्तर अनुगमन गरिरहेका छौंं।’ आर्थिक वर्षको आधा समय बितिसक्दा पनि रेमिटेन्स आप्रवाहमा सुधार आउन सकेको छैन्। गत वर्षको ६ महिनामा ३४ प्रतिशतले बढेको रेमिटेन्स यो वर्ष ३.९ प्रतिशतले मात्र बढेको छ। अवैधानिक बाटोबाट रकम आउने परिपाटी राष्ट्र बैंकको एक्लो प्रयासले रोक्न नसक्ने खतिवडाले बताए। डलरमा आएको उत्तारचढावले पनि रेमिटेन्समा कमी आएको अनुमान राष्ट्र बैंकको छ। डलर सटहीमा दैनिक जसो हुने उतारचढावले रेमिटेन्समा कमी आएको राष्ट्र बैंकको प्रारम्भिक अनुमान छ। विदेशबाट फर्किनेले नगद र सुन ल्याउन थालेपछि रेमिटेन्स घटेको हुन सक्ने अनुमान पनि उसले गरेको छ। अहिले सबैको ध्यान संविधानमा केन्द्रित भएकाले यही मौका छोपेर व्यवसायी हुन्डीबाट रकम भिœयाउन लागिपरेको विज्ञ बताउँछन्। हुन्डी कारोबार बढेकोले रेमिटेन्स घटेको हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले बताए। उनले भने, ‘राजनीतिक अस्थिरताको फाइदा हुन्डी व्यवसायीले उठाइरहेका हुन सक्छन्।’ हुन्डीबाट कति रकम आउँछ भन्नेमा राष्ट्र बैंक पनि प्रस्ट छैन। सरकारले विदेश जानेको मात्र तथ्यांक राख्छ। विदेशबाट कति फर्कन्छन्, उसलाई जानकारी छैन। ‘विदेशमा अवसर बढेकाले उत्तै बस्न थालेकाले पनि रेमिटेन्स कम भएको हुन सक्छ,’ प्रभुका शेरचनले भने। वैधानिक बाटो र हुन्डीलगायत अनौपचारिक माध्यमबाट भित्रिएको रकम बराबर जस्तै हुने अनुमान छ। दक्षिण कोरिया र हङकङबाट पनि रेमिटेन्सको तुलनामा हुन्डीबाट भित्रिने रकम बढी छ। कोरियाबाट रेमिटेन्स कम्पनीमार्फत पैसा पठाउँदा महँगो पर्छ। कोरियामा काम गरे फर्केका अर्घाखाँचीका नारायणप्रसाद खनाल भन्छन्, ‘अधिकांश कामदार बस्ने ठाँउभन्दा रेमिटेन्स पठाउने कम्पनी टाढा छन्। त्यसैले हुन्डी कारोबार फस्टाएको छ।’ अहिले ३० वटै वाणिज्य बैंक र त्यत्तिकै संख्यका रेमिटेन्स कम्पनी र गैरकानुनी बाटो (हुन्डी) बाट रकम भिœयाउनेबीच प्रतिस्पर्धा बढ्दै गएको विज्ञ बताउँछन्।