टर्कीमा राहदानी किनेर नेपाल हुँदै युरोप

1 April, 2015

शम्भु कट्टेल

 सिरिया द्वन्द्वका कारण विस्थापित भई छिमेकी मुलुक टर्की पुगेका त्यहाँका नागरिक मानव तस्करको फन्दामा परी नक्कली राहदानी किनेर नेपाल हुँदै युरोपका विभिन्न देशहरू जाने क्रम बढेको छ।

तस्करहरूले विमानस्थल र अध्यामगन सुरक्षा कमजोर भएको भन्दै नेपाललाई ट्रान्जिटका रूपमा प्रयोग गर्न थालेपछि इरानी र सिरियालीले नेपाललाई बाटो बनाएका छन्।

सन् २०१४ को सुरुदेखि हालस म नेपाललाई ट्रान्जिट बनाई विभिन्न युरोपेली मुलुकका नक्कली राहदानी प्रयोग गरी युरोप छिर्न खोज्ने २२ जना सिरियालीलाई गृह मन्त्रालयले निष्कासन गरिसकेको छ।

अध्यामगन विभागका एक उच्च अधिकारीले भने, ‘नेपाल हुँदै नक्कली राहदानीमा धेरै सिरियाली युरोप छिरेको आशंका गरेका छौं। हाम्रो अध्यागमनमा बलियो संयन्त्र छैन। संक्रमणकालको फाइदा उठाउँदै नेपाललाई धेरै विदेशीले प्रयोग गरेका छन्।’

 अन्य मुलुकले फर्काएपछि मात्रै नेपालले नक्कली भएको थाहा पाउने उनले बताए। पछिल्लोपटक चैत १५ मा टर्कीको इस्तानबुलमा इजरायलको राहदानी खरिद गरी बेलायत र अस्ट्रिया छिर्न खोज्ने दुई सिरियालीलाई अध्यामगनले पक्राउ गरेको छ।

टर्किस एयरलाइन्सबाट चैत ११ मा नेपाल आएका उनीहरू इन्डियन एयरलाइन्सबाट नयाँदिल्ली हुँदै बेलायत र अस्ट्रिया जाने क्रममा नयाँदिल्ली अध्यामगनले इजरायली राहदानी शंकास्पद भएको भन्दै फर्काइदिएको थियो।

बयानमा उनीहरूले एक हजार अमेरिकी डलरमा इजराइली राहदानी खरिद गरेको बताएका छन्। सिरियालीले नक्कली राहदानी टर्कीमा खुला रूपमै गिरोहसँग किन्न सकिने बताएको अध्यागमन अधिकारीले बताए।

एन ००७९३०९०८ नम्बरको सिरियाको सक्कली राहदानी र टर्कीमा खरिद गरेको ००९५७१६१५ नम्बरको इजरायलको नक्कली राहदानीमा हसनको नाम भने मिलेको छ।

अध्यामगन विभागका निर्देशकसमेत रहेका सूचना अधिकारी बाबुराम खतिवडाले उनीहरू दुवैजनालाई जाली राहदानीअन्तर्गत मुद्दा चलाइएको बताए। ‘उनीहरूको अन्य कनेक्सनबारे थप अनुसन्धान भइरहेको छ’, निर्देशक खतिवडाले भने।

पक्राउ परेकी डाज्ला हसन र १९३७२७७८ नम्बरको इजरायली पासपोर्ट खरिदकर्ता अलाइदिन तान्दार ४ दिनदेखि अध्यागमन विभागको हिरासतमा छन्।

टर्कीबाट सिरियाको राहदानीमा प्रस्थान अनुमति लिएका उनीहरूले काठमाडौं ओर्लिएपछि विमानस्थल अध्यागमनमा खरिद गरेको इजरायलको राहदानीमा आगमन अनुमति लिएका थिए।

विमानस्थलस्थित मेसिनले उनीहरूको नक्कली राहदानी पनि सक्कली नै भनी रिड गरेको भन्दै भिसा दिइएको अध्यागमन कर्मचारीले दाबी गरेका छन्। एक अर्कामा अपरिचित उनीहरूलाई राहदानी बेच्ने दलालले चिनजान गराइदिएको हसनले बताइन्।

सिरियाबाट विस्थापित भएर उनीहरू दुवैजना टर्कीमा बस्दै आएका थिए। हसनले पति भेट्न बेलायत जान लागेको र तान्दारले घु नका लागि अस्ट्रिया जान लागेको बयान दिएका छन्।

 

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024