छोरीको मृत्युदण्ड खबरले आमाबाबु मूर्छामा

6 August, 2014

‘आमाबाबा मेरो कुनै चिन्ता नलिनु बरु तपाईंहरूले स्वास्थ्यको ख्याल राख्नु, नातिलाई पढ्नु भन्नु ,’ जेठी छोरी शोभा परियारले आइतबार यसो भन्दा ५४ वर्षीया बुद्धिसरा सन्तुष्ट भएकी थिइन् ।  त्यसको दुई दिन नबित्दै उनलाई मृत्युदण्ड दिने खबर सुनेपछि उनी र ६४ वर्षीय पति भीमबहादुर मूर्छा परेका छन्। 

साउदी अरेबियाको जेलमा रहेकी ३२ वर्षीया उनले मोबाइलमा चाँडै छुटेर घर आउने बताएकी थिइन्। भिमाद ३ भावरका आमाबुबा र २२ वर्षीय बहिनी रेखालाई सम्झाउन छिमेकी र आफन्त आइपुगेका छन्। शोभाका ११ वर्षीय छोरा दिवस स्थानीय बालज्योति प्राविमा कक्षा ५ मा पढ्छन्। पढ्न गएकाले मृत्युदण्डको खबरबारे दिवसलाई कुनै जानकारी छैन। जन्मजात ओठ फाटेका दिवसका बाबुले कान्छी पत्नी ल्याएपछि उनी मामाघर बस्दै आएका छन् ।  ‘दिदीलाई मृत्युदण्ड दिइएला भन्ने कत्ति पनि ठानेका थिएनौं,’ रेखाले भनिन्, ‘हाम्रो परिवारमा सहनै नसकिने बज्र पर्‍यो। सञ्चारमाध्यममा दिदीको मृत्युदण्डको खबर सुनेर साउदीका लागि नेपाली राजदूतसँग बुझ्दा समाचार साँचो भएको खबर पाएपछि घरमा रुवावासी सुरु भएको छ। ‘हामीलाई खुसी दिन विदेश गएकी थिइन्,’ आमा बुद्धिसराले भनिन्, ‘यस्तो खबर सुन्नुपर्‍यो।’  घरेलु कामदारमा चार वर्षअघि साउदी हिँडेकी शोभाले आफूले यातनाको प्रतिकारका क्रममा घर मालिकका २ वर्षीय छोराको मृत्यु भएकाले जेलमा रहेको कुरा ०७० चैत ३१ मा बताएकी थिइन्। मालिकले जेलमुक्त गराउने र स्वदेश फर्काउने बताएको आफूहरूलाई फोनमा भन्ने गरेको रेखाले बताइन्।  शोभाले भानुमति ९ स्थित हिमालय उच्चमाविबाट शिक्षाशास्त्रमा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेकी थिइन्। उनका पतिले दोस्रो विवाह गरेपछि छोराको भविष्यका लागि शोभाले विदेशको बाटो रोजेकी थिइन्। उनलाई घरमालिकका दुई वर्षीय छोरालाई घाँटी रेटेर मारेको आरोपमा सोमबार अरारनगरमा मृत्युदण्ड दिइएको थियो। 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024