छोरा साउदीको जेलमा परेपछि आमा बुबाको बिचल्ली

4 December, 2017

महेशकुमार दास

 

आर्थिक अवस्था ज्यादै नै कजोर भएकै कारण परिवार पाल्न निकै गाह्रो हुने देखेर जलेश्वर नगरपालिका ३ खैरा टोलका ५१ वर्षीय रामपरिक्षण साह रोजगारीका लागि साउदी अरव गए ।

 

घरमा ७१ वर्षीय वृद्ध बुवा, ६८ वर्षीया वृद्ध आमा, दुई छोरा, एक छोरी र श्रीमतीलाई छाडेर  आफूले विदेशमा गएर दुःख गरेर भए पनि आफ्नो परिवारलाई मिठो मसिनो खुवाउने र वृद्ध आमा बबाको उपचार खर्चको जोहो हुने, छोरा छोरीको राम्रो शिक्षादिक्षा दिलाउने र विदेशवाट फर्के पछि सपरिवार खुशियाली पूर्ण जीवन व्यतित गर्ने सपना बोकेर साह तीन वर्ष अघि साउदी गएका थिए ।

 

साउदी स्थित एलड्रिस पेट्रोलियम एण्ड ट्रान्सपोर्ट सर्भिस कम्पनीमा लोडिङ्ग अनलोडिङ्ग लेवर भएर काम गर्न उनी सिनामंगल काठमाडौँ स्थित फ्यिुचर लिंक इन्टरनेशनल प्राइभेट लिमिटेड नामक  म्यान पावरबाट २०७१ पुस ९ गते रोजागारीका लागि साउदी गएका थिए। 

 

दिनको आठ घण्टा कडा मेहेनत गरेर कमाएको ८ सय रुपैयाँ रियालबाट खर्च कटाएर बचत गरेर उनले नियमितरुपमा आफ्नो घरमा पैसा पठाउँदै आएका थिए। उनलै नै पठाएको पैसाबाट घरपरिवारको पेट पाल्नुको साथै छोरा छोरीले राम्रो शिक्षा आर्जना हुँदै  आएको थिए। 

 

विदेशबाट कमाएर पठाएको पैसाले साहले छोरी रानी कुमारी साहको पोहोर साल मात्रै घरजम पनि गर्न भ्याएका थिए। साहको घरमा सवै थोक ठिकै चलिरहेको थियो तर तीन महिना अघि साहका वृद्ध बुबा रामरतन साह प्यारालाइज भएपछि उनको घरमा बज्रपात्त हुन पुग्यो। 

 

कडा परिश्रम गरेर विदेशमा कमाएरको पैसाबाट परिवारजनले साहको बुबालाई तस्न महिनासम्म भारतको दिल्लीमा राखेर उपचार गराएर घर फर्केको थिए। रामरत्तनको स्वास्थ्य अवस्था पूर्णरुपले निको नहुँदै फेरि पनि साह परिवारमा अहिले आएर अर्को बज्रपात्त परेको छ। 

 

विदेशमा कार्यरत्त कम्पनीबाटै उनलाई साउदी प्रहरीले पक्राउ गरेर अहिले मलाज जेलको कोठा नं. १४ मा थुनेको छ। साहलाई एक महिना अघि नै साउदी प्रहरीले उनी कार्यरत्त कम्पनीबाट उनी सहित दुई जना भारतीय नागरिकलाई पनि पक्राउ गरेर जेल हालेको थियो। 

 

दुई दिन अघि मात्र फोनमा कुराकानी हुँदा आफ्नो छोरा जेलमा परेको खवर पाएपछि साह परिवारमा अहिले रुवावासी हुन थालेको छ । साह साउदी जेलमा पक्राउ परेको खवरले वृद्ध र अस्वस्थ वुवा आमाको वेहाल छ। साहकी ४५ वर्षीया श्रीमती उर्मिला देवी श्रीमान साउदी जेलमा पक्राउ परेको खबरले छाङ्गाबाट खसेझै अवाक छिन्। छोरा छोरी सबको बेहाल छ। सम्पतीको नाममा एक कठा खेती र एउटा घर बाहेक केही पनि छैन 

 

‘आफ्नो छोरालाई कुन मुद्दामा पक्रेको हो आफूलाई केही थाहा छैन ।’ रामरतनले रुँदै भने ‘ कस्ले मेरो छोरालाई जेलबाट निकाल्न लगाइदिने हो।’ एक हातमा छोराले विदेश जानु अघि खिचाएको पासर्पोट साइजको दुई वटा फोटो र विदेश जाने प्रयोजनको लागि म्यान पावर कम्पनीले उपलब्ध गराएको गएको कागज पत्रको फोटोकपी सम्हाल्दै रामरतनले अर्काे हातबाट आँशु पुछ्दै भगवान सराप्न थाले । हे भगवान दुःख जति आफ्नै परिवारलाई किन दिएको होला भन्दै विलौना गर्न थाले । यो बुढेसकालमा के के देख्न बाँकी छ ठेगान छैन उनले थपे।  उनले भक्कानिदै भने ‘आफूलाई प्यारालाइज भएर हिँडडुल समेत गर्न अप्ठायारो छ । त्यहाँ छोरा जेलमा बस्नु परेको छ, कहाँ जानु ? कस्लाई के भनु ? कस्ले मेरो छोरालाई जेल मुक्त गराइदेलान ? ’

 

साउदी जेलमा परेका साहको कान्छो छोरा प्रशान्त साहले डेढ महिना अघि मात्र बुबा माघ महिनामा घर फर्किने भनेको सम्झिदै भने ‘हामी सपरिवार बुबा आउने प्रतिक्षामा थियौं तर उनी आउनुको साटो जेलमा परेको खवर पो सुन्नु  पर्यो । ’  जलेश्वर स्थित लचमु माविमा कक्षा ६ मा अध्ययनरत प्रशान्त बुबालाई जेलमा प्रहरीले थुनेको खवर पाए पछि आफूहरू बेसाहरा नै हुन पुगेको सुनाए। बुबालाई प्रहरीले जेलमा किन हालेको होला ? उनलाई जेलबाट कस्ले छोडाइदिने होला ? यस्तै नाना थरिका जिज्ञासा मनमा खेलाउँदै साह परिवारको दिनचर्या दुखमय बनेको छ। राम परिक्षणसंगै काम गर्ने दुई जना भारतीय नागरिकलाई समेत पक्राउ गरेको थियो तर त्यसमध्ये एक जना रिहा भइसकेको सुनेको छोरा प्रशान्तले बताए।  

 

गाउँ समाजका छिमेकीहरू पनि साह परिवारको दुःखको खवर सुनेर मर्माहत हुन पुगेको छ । साहका छिमेकी जयनाथ कुँवरले आफूहरूले साहलाई साउदी जेलबाट मुक्त गराउन आफ्नो स्तरबाट प्रयास गरिरहेको बताए । तर यहाँबाट गरिने प्रयासबाट उनी जेल मुक्त होलान भने लाग्दैन । यसका लागि दूतावास, विदेश पठाउने म्यानपावर र केन्द्रीय स्तरबाटै प्रयास गरे मात्र सम्भव हुने देखिन्छ । कुँवरले थपे।  सरोकारवाल निकायले समयमै साहलाई साउदी जेलबाट मुक्त गराएर घर फर्किने व्यवस्था मिलाइ दिन उनले आग्रह समेत गरे। 

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026