च्याउ बेचेर वार्षिक पच्चिस लाख आम्दानी

11 December, 2024

अमरगढी नगरपालिका–२, मौरडाका खेमराज जोशीले छ वर्षअघि दुई लाख ५० हजार रुपियाँ लगानी गरेर व्यावसायिक च्याउ खेती सुरु गर्नुभएको थियो । उहाँले वार्षिक च्याउ बिक्री गरेर वार्षिक २० देखि २५ लाख रुपियाँसम्म आम्दानी गर्दै आउनुभएको छ ।

देशमा रोजगारी नभएको भन्दै कतिपय युवा रोजगारीको खोजीमा बिदेसिएका बेला जोशीले वैदेशिक रोजगारी छाडेर कृषि पेसामा भविष्य खोजिरहनुभएको हो । विदेशी भूमिमा जति पसिना बगाए पनि सीमित समयका लागि मात्र हुने भन्दै स्वदेशमा स्वरोजगार बन्न कृषि पेसातर्फ आकर्षित भएको उहाँले बताउनुभयो । 

जोशी अहिले ३३ वर्षका हुनुहुन्छ । कक्षा १२ सम्म अध्ययन गरेपछि विदेश जाने योजनासहित काठमाडौँ गएको जोशीले सुनाउनुभयो । काठमाडौँ रहँदा विभिन्न किसिममा कृषि फार्मको अवलोकन गरेपछि च्याउ खेती गर्ने योजना बनाएर गाउँ फर्किएको उहाँले बताउनुभयो । अहिले परिवारको सबै खर्च कटाएर वार्षिक आठ लाख रुपियाँसम्म बचत हुने गरेको उहाँले जानकारी दिनुभयो ।

दुई रोपनी जग्गा भाडामा लिएर च्याउको बिउ उत्पादनका साथै खेतीसमेत गरिरहेको कृषक जोशीले बताउनुभयो । छ वर्षअघि सुरु भएको च्याउ खेतीबाट उहाँ अहिले जिल्लाको नमुना कृषकका रूपमा स्थापित हुनुभएको छ । 

च्याउ खेतीमा भविष्य राम्रो देखेर आफू लागेको जोशीले बताउनुभयो । “पहिले च्याउको बिउ लिन काठमाडौँ जानुपर्ने बाध्यता थियो । अहिले आफैँले फार्ममा उत्पादन गरिरहेको छु,” उहाँले भन्नुभयो, “अधिकांश साथी रोजगारीका लागि भारतलगायत तेस्रो मुलुक पलायन भएका छन् । आफू कृषि पेसामा रमाइरहेको छु ।” उत्पादित च्याउ स्थानीय बजारमा खपत हुने जनाउँदै जोशीले बजारीकरणको समस्या नरहेको बताउनुभयो । एक पटकमा तीन सय किलोसम्म च्याउ बिक्री हुने उहाँले जानकारी दिनुभयो । कम लगानीमा मनग्गे आम्दानी लिन सकिने बताउँदै उहाँले जीविकोपार्जनका लागि युवा विदेश जानुभन्दा स्वदेशमा नै स्वरोजगार बन्न सकिने उल्लेख गर्नुभयो ।

“डडेलधुराको च्याउ सुदूरपश्चिमका पहाडी जिल्लासहित तराई पनि पठाउने गरेको छु,” जोशीले भन्नुभयो, “वर्षमा तीन पटक च्याउ उत्पादन गर्न सकिने भएकाले यसबाट प्रशस्त लाभ लिन सकिन्छ ।” च्याउ खेतीबाट सबै खर्च कटाएर वार्षिक सात लाख रुपियाँसम्म बचत भइरहेको उहाँले जानकारी दिनुभयो । “विदेशमा लगानी गर्ने श्रमले स्वदेशमा दोब्बर आम्दानी हुने रहेछ । अहिले प्रतिकिलो दुई सय रुपियाँका दरले च्याउ बिक्री गरिरहेको छु,” जोशीले भन्नुभयो । फार्ममा अहिले सात जनालाई रोजगारी दिएको भन्दै उहाँले आगामी दिनमा च्याउ खेती विस्तार गर्दै लैजाने योजना रहेको उहाँले बताउनुभयो ।

स्थानीय सरकार तथा सरोकार भएका निकायले युवालाई स्वरोजगारका अवसर सिर्जना गर्न, सिप विकास गर्न तालिमसहित आर्थिक, प्राविधिक सहयोग गर्नुपर्नेमा जोशीले जोड दिनुभयो । स्थानीयस्तरमा आम्दानीका स्रोत बनाउन सके युवाको विदेश पलायन दरमा कमी आउने उहाँको बुझाइ छ ।  

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024