घर भित्रिइन् हस्मुना

27 December, 2014

फोनबाटै तलाक पाएकी पर्सादेवाड ७ की हस्मुना खातुनलाई उनका श्रीमान् मोहमद मुस्तकिमले गल्ती स्विकार्दै मेलमिलाप गरेका छन्। उनले घर मात्र भित्र्याएनन् बिहे दर्ता र छोराछोरीको जन्म दर्ता गर्नुका साथै हस्मुनाको नागरिकता पनि बनाइदिए। शुक्रबार जलेश्वर आएका उनीहरूले बिछोडिएको परिवारलाई मिलाप गराइदिएको भन्दै प्रहरी र पत्रकारलाई धन्यवादसमेत दिए। ‘आवेशमा आएर गल्ती भयो,’ पत्नी र काखे छोरोसाथ सदरमुकाम आएका मुस्तकिमले भने, ‘अब यस्तो गल्ती हुँदैन मिलेर बस्छौं, छोराछेारी स्कुल भर्ना गर्छौं।’ 

कान्तिपुरमा ७ पुसमा ‘फोनबाटै तलाक’ शीर्षकमा समाचार प्रकाशित भएपछि घटनाले सुरक्षा निकायको ध्यानाकर्षण गरेको थियो। प्रहरीले पतिपत्नी दुवैलाई परामर्श गरेपछि उनीहरू मेलमिलाप गर्न राजी भएका थिए। प्रहरी सक्रियतामा उनीहरूको पर्सादेवाड गाविस कार्यालयले बिहे दर्ता र छोराछोरीको जन्म दर्ता गरिदिएको थियो। पति मुस्तकिमको सनाखतमा इलाका प्रशासन कार्यालय गौशालाले बुधबार हस्मुनालाई नागरिकता दिएको थियो। प्रहरी नायब उपरीक्षक लोकेेन्द्र श्रेष्ठले यो मिलापत्रबाट पर्सादेवाडका अन्य तलाक पीडितले पनि न्याय पाउने ढोका खुलेको बताए। ‘अब महिलाले डराउनु पर्दैन,’ श्रेष्ठले भने, ‘तलाकबाट पीडित महिलालाई न्यायका लागि सहयोग गर्न प्रहरी तयार छ।’

श्रीमानसँग घर प्रवेश गरेपछि कुटपिट गरेर निकाला गरेकी सासू, नन्द, देवर, देउरानी कसैले हेला नगरेको हस्मुनाले बताइन्। ‘गाउँलेले पनि कुरा काटेनन्,’ उनले भनिन्, ‘सबैले राम्रो माने।’ फोनबाटै तलाक पाएपछि ३ वर्षदेखि माइतमा बस्दै आएकी हस्मुनालाई पतिले स्विकारेपछि सबैभन्दा खुसी देखिन्थिन्। तर आफूजस्ता अन्य महिलाले पनि यस्तै न्याय पाओस् भन्ने प्रहरीसमक्ष आग्रह गरिन्।

‘तपाईंहरूको सहयोगले मैले त दोस्रो जीवन नै पाएँ,’ हस्मुनाले प्रहरी र पत्रकारप्रति आभार प्रकट गर्दै भनिन्, ‘तर मजस्तै गाउँमा थुप्रै तलाक पीडित छन् उनको दुःख पनि सुनिदिनुहोला। समसीस्थित इलाका प्रहरी प्रमुख जयदीप शमशेर राणाका अनुसार हस्मुनालाई उनका पतिले स्विकारेपछि गाउँमा यसको अनुकूल प्रभाव परेको छ। यस्ता अन्य पीडितले पनि न्यायको आशा पाल्न थालेका छन्। अर्की तलाकपीडित महिला जोहरा खातुनका अनुसार अहिले गाउँमा करिब ३ सय तलाक पीडित छन्। हस्मुना समस्याको सुखद अन्तले अन्य पीडितका पनि हौसला बढेको उनले बताइन्।

मुस्तकिमले हाँसेर भने, ‘यसको मुख अलि छिटो छ, तपाईंहरूले सम्झाइदिनू।’ हस्मुनाले पनि भनिन्, ‘तिमी पनि कम्ता छैनौ।’ दुवैले फोटो खिचाए र अपराह्न हाँस्दै घर फर्के।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024