घरेलु श्रमिकका मुद्दा प्रतिनिधि सभामा जोड दिएर उठाउँछु- पुष्पकमल दाहाल

25 June, 2025

पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले घरेलु श्रमिकका मुद्दा प्रतिनिधि सभामा जोड दिएर उठाउने प्रतिबद्धता जनाएका छन्।

मंगलबार युवालयले आयोजना गरेको बेतलबी र घरेलु कामदार सम्बन्धी कार्यक्रममा बोल्दै उनले प्रमुख प्रतिपक्षी दलको नेताका हैसियतले घरेलु श्रमिकका मुद्दा जोड दिएर उठाउने बताएका हुन्।

संविधानमा सबैको उत्पीडित वर्गको प्रतिनिधित्व हुने समावेशिता लगायत अतिरिक्त मौलिक अधिकारका रूपमा शिक्षा, स्वास्थ्य रोजगारीलाई लिपिबद्ध गरिएको तर कार्यान्वयन चित्त बुझ्दो नरहेको उनले बताए।

‘संविधानको मर्म र भावना अनुसार आवश्यक ऐन, कानुन बनाउने प्रक्रिया समयमै अघि नबढ्दा त्यसप्रति राजनीतिक नेतृत्वको तत्परता रूचि र जति हुनुपर्ने त्यति नहुँदा संविधानमा लेखिएका श्रमिकका धेरै राम्रा कुराहरू कार्यान्वयनमा सन्तोषजनक ढंगले अगाडि बढेका छैनन्,’ उनले भने।

घरेलु क्षेत्रमा काम गर्ने, अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरूको मुद्दालाई मर्यादित, सम्मानित बनाउन र पेशागत हकहितको दायराभित्र ल्याउन आफूले सक्दो पहल गर्ने दाहालले बताए।

‘यसमा हाम्रो राम्रै ध्यानाकर्षण हुनेछ। प्रतिनिधि सभामा संसदमा प्रतिपक्षको नेताको हैसियतले हामीले यसलाई जोड दिएर उठाउने प्रतिबद्धता व्यक्त गर्न चाहान्छु,’ उनले भने।

मैले आफ्नो प्रतिबद्धता जायर गरिसके। श्रमिकहरूलाई न्यूनतम ज्याला जुन तोकिएको छ। सबैले पाउनुपर्छ भनेर हामी पहल गर्छौं।

‘अनौपचारिक र वैदेशिक रोजगार क्षेत्रमा काम गर्ने श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने काम पनि मैले प्रधानमन्त्री भएको बेला सुरू गरेको हुँ। आज मलाई थोरै भए पनि खुसी लागेको छ। सामाजिक सुरक्षा कोषमा विदेशमा भएका २३ लाख श्रमिक आवद्ध भएका छन्। अनौपचारिक क्षेत्रका श्रमिक जोडिन थालेका छन्,’ उनले भने।

स्थानीय तहले घरेलु कामदारलाई पनि कोषमा समेट्न पहल गर्ने विश्वास दाहालले व्यक्त गरे।

‘घरेलु कामदारका रूपमा काम गर्ने श्रमिकको श्रम सामान्य सेवा मात्रै होइन। यसले उचित मूल्य पनि पाउनुपर्छ। सम्मान पनि पाउनुपर्छ। हामी कहाँ कता कता सेवा गर्ने मात्रै हो भनेर हेरिने गरेको पनि पाइन्छ,’ उनले भने।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024