गैरकानुनी घोषणा प्रक्रियामा त्रुटी सच्याउन नेपालको माग

14 November, 2014

नेपालले दक्षिण कोरियासँग कामदारलाई गैरकानुनी घोषणा गर्ने प्रक्रियामा त्रुटी देखिएकाले सच्याउन माग गरेको छ। दक्षिण कोरियाले गैरकानुनी कामदार घटाउन आग्रह गरिरहेका बेला नेपालले पनि यसमा कमजोरी देखिएकाले सुधार गर्न आग्रह गरेको हो। नेपाल भ्रमणमा आएका दक्षिण कोरियाको अध्यागमन कार्यालयको टोलीसँग नेपालले यस्तो अनुरोध गरेको हो। 

नियम बमोजिम एलियन कार्ड (विदेशी कामदार परिचयपत्र) बुझाएर स्वदेश फर्किएका कामदारलाई समेत कोरियाले गैरकानुनीको सूचीमा राखेको फेला परेपछि नेपालले कहिलेकाहीँ गम्भीर त्रुटी फेला पार्ने गरेको भन्दै त्यसमा सचेत भइदिन अनुरोध गरेको ईपीएस कोरिया शाखाका अधिकारीले जानकारी दिए। कोरियाले चार वर्ष १० महिनाभन्दा बढी अवधि बस्ने विदेशी कामदारलाई गैरकानुनीको सूचीमा राख्ने गरेको भए पनि केही कामदार भने तोकिएको अवधिमै नेपाल फर्के पनि गैरकानुनीको सूचीमा छन्। 

नियमबमोजिम परिचयपत्र बुझाएर स्वदेश फर्किएका कामदारलाई समेत कोरियाले गैरकानुनीको सूचीमा राखेको फेला परेपछि नेपालले त्यसमा सजग हुन कोरियासँग आग्रह गरेको हो।

कोरियाको अध्यागमन कार्यालयको कमजोरीका कारण वैधानिक रूपमा बसेका वा घर फर्केका समेत अवैधको सूचीमा पर्ने गरेका हुन्। कतिपय अवस्थामा बिदामा आएका कामदार घरायसी समस्याका कारण पुन: फर्किन नसक्ने हुन्छ। बिदामा आएर नफर्किने कामदारलाई समेत कोरियाले गैरकानुनी मान्ने गरेको छ। नेपालले यसमा पुनर्विचार गर्न आग्रह गरेको छ। घरायसी समस्याका कारण फर्किन नसकेकालाई अवैध सूचीमा नराख्न माग गरिएको ईपीएस कोरिया शाखाले जानकारी दिएको छ। कोरियामा चार वर्ष १० महिनाको अवधि पूरा गरी फर्किने विदेशी कामदारले अध्यागमन कार्यालयमा परिचयपत्र बुझाउनुपर्ने हुुन्छ। कतिपय नेपाली कामदारले नेपाल फर्किने बेलामा यो कार्ड अध्यागमनमा पेस गर्न बिर्सिने गरेका छन्। कामदार आफ्नै मुलुकमा फर्किसकेको भए पनि कार्ड प्राप्त नगरेपछि त्यहाँको सरकारले गैरकानुनी मान्ने गरेको छ। यो प्रावधानमा परिमार्जन गर्नसमेत नेपालले माग गरेको छ। 

ईपीएस कोरिया शाखाका प्रमुख डिल्ली बास्तोलाले कानुनी प्रक्रिया पूरा गरेर फर्किएका कामदारलाई समेत गैरकानुनीको सूचीमा राखिएको पाइएपछि यसमा सुधार गर्न कोरियासँग आग्रह गरिएको जानकारी दिए। अध्यागमन विभागको कमजोरीका कारण कहिलेकाहीँ यस्तो त्रुटी हुने गरेको कोरियाली पक्षले नेपाललाई अवगत गराएको उनले बताए। 

त्यहाँको अध्यागमनको त्रुटीका कारण दुई दर्जनभन्दा बढी नेपाली कामदार कानुनी प्रक्रिया पूरा गरेरै स्वेदश फर्किए पनि गैरकानुनीको सूचीमा परेका छन्। तत्काल कमजोरी नसच्याए यस्तो संख्या बढ्न सक्ने नेपालको बुझाइ छ। नेपालले गरेका आग्रहलाई कोरियाली पक्षले सकारात्मक रूपमा लिएको प्रमुख बास्तोलाले जानकारी दिए। कोरियाको अध्यागमन विभागका वरिष्ठ अधिकारी सम्मिलित टोली रोजगार अनुमति प्रणाली (ईपीएस) मा देखिएका समस्याका बारेमा जानकारी लिन गत सोमबार नेपाल आएको हो। टोली शुक्रबार कोरिया फर्किंदै छ। 

कोरियामा हाल २४ हजार भन्दा बढी नेपालीले काम गरिरहेका छन्। पछिल्लो समय गैरकानुनी रूपमा बस्ने नेपाली कामदारको संख्या घट्दोक्रमम छ। नेपालले रोजगार अनुमति प्रणालीअन्तर्गत सरकारी तवरबाट कोरियामा कामदार पठाउने गरेको छ। यहाँ गएका कामदारले मासिक एक लाखदेखि डेढ लाख रुपैयाँसम्म कमाउने गरेका छन्। उद्योग र कृषिमा नेपालीले काम पाएका छन्। आकर्षक कमाइ हुने भएकाले कोरिया जान चाहने नेपाली युवाको संख्या बर्सेनि बढ्दो छ। 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024