गाउँमा कामदारको अभाव भएपछि वडा कार्यालयद्वारा सूचना प्रकाशन

23 February, 2018

गाउँमा कामदारको अभाव भएपछि वडा कार्यालयले सूचना निकालेरै कामदारको माग गरेको छ । जिल्लाको आमाछोदिङ्मो गाउँपालिका–१ हाकुमा कामदारको अभावले पुनर्निर्माण सुस्त भएपछि वडा कार्यालयले कामदार माग गरेको हो । गाउँमा कामदारको अभाव भएको र दलालले कमिशन खाने क्रम बढेको कारण वडाले निश्चित शुल्क तोकेर कामदारको माग गर्दै सूचना प्रकाशन गरेकोे वडाध्यक्ष निमादिण्डु तामाङले बताउनुभयो । 

 

‘राज्यले तोकेको समय सीमाभित्र भूकम्पपीडितको निजी आवास निर्माण गर्न दक्ष जनशक्तिको अभाव छ, उहाँले भन्नुभयो, घर निर्माणका लागि जथाभावि ज्याला लिँदा भूकम्प पीडित मारमा परेका छन् ।’ हाकुमा कार्यरत रहेको कामदारले दैनिक ७ सयदेखि एक हजारसम्म लिने गरेका छन् । 

 

वडाले कामदारको निश्चित शुल्क तोकेको छ । दक्ष कामदारको लागि ८ सय र अर्धदक्ष कामदारका लागि ७ सय शुल्क तोकेको छ ।  घर निर्माणका लागि जाने कामदारलाई भूकम्पपीडितले खान र बस्न व्यवस्था गरिरहेका छन् । सूचनामा कति जना जनशक्ति आवश्यक भन्ने कुरा खुलाइएको छैन् ।

 

हाकुमा काम गर्नका लागि रुकुम, रोल्पा, बाँके बर्दियाबाट कामदार ल्याइएको छ । आमाछोदिङ्मो गाउँपालिका– १ मा पर्ने ठुलोहाकु र हाकुबेसीमा तीन सय ६२ लाभग्राही रहेका छन् । यी सबै लाभग्राहीसँग अनुदान सम्झौता भएको छ । 

 

अनुदान सम्झौता भएर घर निर्माण गरेका लाभग्राहीमध्ये ५० जनाको दोस्रो किस्ताको लागि सिफारिस भएको असिष्टेन्ट सब–इन्जिनियर छत्रबहादुर शाहीले बताउनुभयो । शाहीका अनुसार दुई जनाको तेस्रो किस्ताको लागि सिफारिस भएको छ ।

 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आउँदो असार मसान्तसम्ममा तेस्रो किस्ता लिइसक्नुपर्ने समयसीमा तोकेपछि एकसाथ घर निर्माण हुँदा जिल्लामा जनशक्तिको अभाव हुन पुगेको हो । जिल्ला बाहिरबाट सिकर्मी, डकर्मी तथा लेबर गरी ४ हजार भन्दा बढी कामदार ल्याइएको छ । 

 

जिल्लामा अहिले करिब ५४ प्रतिशत भूकम्प पीडितले घर निर्माण गरिरहेका छन् । कामदारको अभाव हुँदा पुननिर्माण सुस्त बनेको भए पनि अहिले कामदार ल्याएर प्रभावितले घर निर्माणलाई गति दिएका छन् । 

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024