कोस्टारिकामा ३२ नेपाली पक्राउ

13 September, 2014

कोस्टारिकामा ३२ नेपाली पक्राउ परेको परराष्ट्र मन्त्रालयले पुष्टी गरेको छ। कोस्टारिकाको दक्षिणी सिमानामा ती मध्ये २७ नेपाली एकै पटक र पाँच जना नेपाली छुट्टै पक्राउ परेका थिए।

नेपालीहरु पक्राउ परेको खवर आएपछि मन्त्रालयले बासिङटनस्थित नेपाली राजदुतावासलाई कोष्टारिकामा पक्राउ परेका नेपाली नागरिकको बारेमा बुझेर खवर गर्न र उनीहरुलाई यथाशिघ्र रिहाइका लागि पहल गर्न निर्देशन दिएको थियो। कोष्टारिकाको राजधानी सान होसेमा अवस्थित नेपाली बाणिज्यदूतमार्फत पक्राउ परेका नेपालीका बारेमा जानकारी लिइएको मन्त्रालयले जनाएको छ।

पक्राउ परेका २७ मध्ये एक जना नेपाली बिरामी रहेको समेत मन्त्रालयले जनाएको छ। अस्पतालमा रहेका ती विरामीको पनि अवस्था सुध्रिएको छ। मन्त्रालयका अनुसार उनीहरुलाई त्यहाँबाट रिहा गराउन पहल भइरहेको छ। नेपाली अवैतनिक बाणिज्यदुतले सम्बन्धित अधिकारीसँग टेलिफोनमा कुराकानी गरेपछि उनीहरु सेप्टेम्बर ७ मा पक्राउ परेको पुष्टी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

यसअघि सेप्टेम्बर ६ तारेखमा पाँच जना नेपाली कोष्टारिका प्रवेश गरेको अवस्थामा पक्राउ परेका थिए। प्रवेशाज्ञापत्रसहितका कागजात नभएका कारण उनीहरुलाई पक्राउ गरिएको त्यहाँका अधिकारीहरुले जनाएका छन। उनीहरुसँग भने नेपाली अवैतनिक बाणिज्यदुतले भेट गरी उनीहरुको अवस्था जानकारी लिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

‘ती नेपाली शारीरिक रुपमा राम्रो अवस्थामा रहेका र उनीहरुलाई खानपिन लगायतका सुविधा उपलब्ध गराइएको छ’ मन्त्रालयले जारी गरेको प्रेस बिज्ञप्तिमा भनिएको छ। उनीहरुलाई बाणिज्यदुतले सावुन,दन्तमञ्जन जस्ता सामग्री उपलब्ध गराइएको र केहि दिन भित्रै उनीहरु छुटने जानकारी प्राप्त भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता खगनाथ अधिकारीले बताए।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024