कोरिया रोजगारीका लागि आकर्षणको केन्द्र

18 August, 2014

देवेन्द्र सम्बाहाम्फे

दक्षिण कोरिया रोजगारी गर्न आउन चाहने नेपाली युवाका लागि निकै आकर्षक रहेको देखिएको छ। पाँचौं कोरियन भाषाका लागि साउन २८ देखि ३१ गतेसम्म परेको आवेदनबाट कोरियाप्रति नेपाली युवाहरूको आकर्षण अत्यधिक रहेको पुष्टि भएको हो। एचआरडी कोरियाले असोज १० र ११ गते सञ्चालन गर्ने परीक्षाका लागि ६२ हजार ५ सय १४ युवाले आवेदन दिएका हुन्। परीक्षाफल असोज २९ गते प्रकाशित हुने जनाइएको छ।

यसपालिको आवेदन पाँच स्थानबाट बुझाउन सकिने व्यवस्था थियो। ईपीएस शाखा नेपालले जनाएअनुसार सीतापाइला केन्द्रबाट सबैभन्दा धेरै १३ हजार ३ सय ८० आवेदन संकलन भएको थियो। यस केन्द्रमा दोस्रो दिन सबैभन्दा धेरै ४३ सय १ आवेदन आएको थियो। त्यस्तै च्यासलबाट ११ हजार ६ सय ९१, कीर्तिपुर १० हजार ५ सय ४८ आवेदन परेको थियो।

उपत्यका बाहिर पोखराबाट ९ हजार ९ सय ३३ , धरानबाट ९ हजार ३ सय ७८, बुटवलबाट ६ हजार ९ सय ९४ र डडेलधुराबाट ५ सय ८८ युवाले फारम भरेका छन्। यो वर्षको आवेदन गत वर्षको भन्दा १५ हजार ६ सयले बढी हो। २०१३ मा ४६ हजार ६ सयले आवेदन गरेका थिए भने ४४ हजार १ सयले परीक्षा दिएका थिए। यसअघि २०११ मा ५० हजार ४३ जनाले परीक्षा दिएका थिए। यसरी कोरियन भाषा आवेदन गर्ने युवाहरूको संख्या ईपीएस विश्वासनीय, स्वच्छ, व्यवस्थित , निष्पक्ष तथा न्यून लागतमा आकर्षक कमाइका कारण बढेको बताउँछन्। ‘६० हजारसम्म आवेदन पर्ने अनुमान गरेर तयारी गरेका थियौं,’ बाँस्तोलाले कान्तिपुरसँग भने, ‘६२ हजारभन्दा बढी आवेदन आएको छ।’

नेपालमा यसअघि चार पटक कोरियन भाषा परीक्षा भएको छ। प्रत्येक पटक आवेदकको संख्या उल्लेखनीय रूपमा वृद्धि भए पनि उत्तीर्ण संख्या न्यून रहेको छ। २००८ मा पहिलो पटक ३१ हजार परीक्षार्थी थिए। जसमध्ये २१.५ प्रतिशत ६ हजार ७ सय ८६ उत्तीर्ण भएका थिए। २०१० मा ३६ हजार २ सयले परीक्षा दिएका थिए।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024