कोरिया जान नपाएकाले ज्ञापनपत्र बुझाए

8 January, 2015

सरकारले गत वर्ष भाषा परीक्षा पास गरेका तर काम गर्न कोरिया जान नपाएकालाई छिटो पठाउन कूटनीतिक पहल गर्ने भएको छ। प्रतीक्षा सूचीमा रहेको एक वर्षसम्म पनि जान नपाएका तीन सय ६२ युवाले श्रम तथा रोजगारमन्त्री टेकबहादुर गुरुङलाई भेटेर ज्ञापनपत्र बुझाएपछि वास्तविकता पत्ता लगाई छिटो जाने वातावरण तय गर्न कूटनीतिक पहल सुरु गर्न लागिएको हो। 

रोस्टरमा नाम समावेश गरिएको एक वर्षसम्म पनि जान नपाएकाको तर्फबाट गत सोमबार तीन सय ६२ जनाले हस्ताक्षर गरी श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङलाई ज्ञापनपत्र बुझाएका थिए। 

ज्ञापनपत्र बुझेपछि राज्यमन्त्री गुरुङले तत्काल पहल थाल्न ईपीएस कोरिया शाखालाई निर्देशन दिएका छन्। श्रम तथा रोजगार मन्त्रालय आफैंले पनि यसमा पहल गर्ने भएको छ। एकपटक भाषा परीक्षा पास गरेकाले दुई वर्षसम्म जान पाउने म्याद हुन्छ। त्यसपछि भने पुन: भाषा परीक्षा दिनुपर्ने हुन्छ। 

सन् २०१३ मा भाषा परीक्षा पास गरी रोस्टरमा नाम समावेश गरिएका २७ सय युवा अहिलेसम्म कोरिया जान पाएका छैनन्।

सन् २०१३ मा भाषा परीक्षा पास गरी रोस्टरमा नाम समावेश गरिएका २७ सय युवा अहिलेसम्म जान पाएका छैनन्। गत वर्ष आठ हजार ५१ जनाले भाषा परीक्षा पास गरेका थिए। अरू कामदार भने गइसकेको ईपीएस कोरिया शाखाले जानकारी दिएको छ। 

विगतमा पनि रोस्टरमा नाम भएकाहरू लामो समयसम्म जान नपाएपछि आन्दोलनमा उत्रिएका थिए। अब फेरि त्यस्तो अवस्था आउन नदिन अहिलेदेखि नै कूटनीतिक पहल सुरु गर्ने निर्णयमा सरकार पुगेको हो।  

ईपीएस कोरिया शाखाले एक वर्षदेखि रोस्टरमा नाम भएकालाई प्राथमिकता दिन कोरिया सरकार र त्यहाँको मानव संसाधन विभाग (एचआरडी) लाई आग्रह गर्ने भएको छ। 

ईपीएस कोरिया शाखाले यसबारेमा केही दिनभित्रै पत्र लेख्ने भएको छ। सबै प्रक्रिया पूरा गरी प्रतीक्षा सूचीमा रहेकालाई सकेसम्म बढी प्राथमिकता दिन नेपालले आग्रह गर्नेछ। 

ईपीएस कोरिया शाखाका प्रमुख डिल्ली बास्तोलाले एक वर्षअघिदेखि रोस्टरमा नाम चढाइएका व्यक्तिलाई छिटो पठाउने व्यवस्था मिलाउन कोरियालाई औपचारिक पत्र लेख्न लागिएको जानकारी दिए। प्रक्रिया पूरा गरेका सबैले जान पाऊन् भनेर विशेष पहल गर्न लागिएको उनले बताए। 

जान बाँकीमा अधिकांश कृषि क्षेत्रका कामदार छन्। कोरियाले औद्योगिक र कृषि गरी दुई क्षेत्रमा नेपाली कामदार लैजाने गरेको छ। 

औद्योगिक क्षेत्रमा जान परीक्षा पास गरेर रोस्टरमा नाम समावेश गरिएकामध्ये चार सय ५० जना जान बाँकी छन्। गत वर्षका जान बाँकी २७ सय जना कामदारमध्ये बाँकी सबै कृषि क्षेत्रका हुन्।  

स्वास्थ्य परीक्षण तथा पुन: दर्ता गर्नुपर्ने

एक वर्षअघि स्वास्थ्य परीक्षण गरी रोस्टरमा नाम समावेश भएकाले फेरि स्वास्थ्य परीक्षण गर्नुपर्नेछ। यसका लागि ईपीएस कोरिया शाखाले आगामी माघ ४ देखि ९ गतेसम्म स्वास्थ्य परीक्षण गर्ने म्याद तोकेको छ। 

त्यसपछि प्रतीक्षा सूचीमा रहेकाको पुन: दर्ता प्रक्रिया सुरु हुनेछ। ईपीएस कोरिया शाखाले माघ ७ देखि १० गतेसम्म पुन: दर्ताको काम सम्पन्न गर्ने जानकारी दिएको छ। 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024