कुवेतको नेशनल खराफीका २ सय नेपाली कामदारको खाना बन्द

20 December, 2017

होम कार्की

 

पारिवारिक विवादले धरासयी बनेको कुवेतको ठूलो कम्पनी खराफी नेशनलमा कामविहीन भएर बसेका झन्डै दुई सय नेपाली कामदारको खाना सोमबार बिहानदेखि पुन: बन्द भएको छ । त्यस कम्पनीमा भारतीय, फिलिपिनोसहित झन्डै चार हजार कामदार समस्यामा परेका छन् ।  

 

खाना खुवाउँदै आएको कम्पनीले नेशनल कम्पनीबाट भुक्तानी नभएको भन्दै खाना दिन छाडेको हो । तीन साताअघि पनि खाना दिन छाडेको थियो । तर, नेपाली दूतावासको पहल गरेपछि कम्पनीले फेरि अलपत्र नेपाली कामदारलाई खाना खुवाउन थालेको थियो ।‘कामदारले खाना नपाएको भन्दै दूतावासलाई जानकारी दिएका छन्,’ कुवेतका लागि नेपाली राजदूत यज्ञबहादुर हमालले कान्तिपुरलाई भने, ‘हामीले कम्पनीका व्यवस्थापनसमक्ष कुरा राखिसकेका छौं । उनीहरुले कामदारलाई प्याकेटमा भए पनि खाना खुवाउने जानकारी दिएका छन् ।’ 

 

कम्पनीले तलब र काम दिन नसकेपछि ती कामदारहरु सुलेविया क्याम्पमा अलपत्र अवस्थामा छन् । त्यस कम्पनीमा आठ महिनासम्म तलब नपाउने र आवासीय भिसाको म्याद समाप्त भइसकेका कामदारहरु छन् । 

 

झन्डै दुई सय कामदारमध्ये ९४ जना उद्धारका लागि दूतावासको सम्पर्कमा छन् । २० जनाको उद्धार भइसकेको छ । दूतावासले टिकट र जरिवाना तिर्ने रकम भएपछि मात्रै बाँकी कामदारको उद्धार हुन सक्ने बताउँदै आएको छ । 

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026