पश्चिमोत्तर दुर्गम पहाडी क्षेत्रबाट दलालले प्रलोभनमा पारेर काठमाडौं र भक्तपुरका इँटाभट्टा लगिएका किशोरकिशोरीलाई बँधुवा मजदुरका रूपमा काम लगाएको खुलासा भएको छ। काठमाडौं र भक्तपुर पुर्याइएका उनीहरू भागेर आएपछि यो तथ्य खुलेको हो। तिनीहरूलाई शारीरिक र मानसिक यातना दिएर बँधुवा बनाएको पीडितले गुनासो गरे। थानागाउँ, ओख्ले, रुपाटार, लेखगाउँ, मंयखुलगायतबाट दलालले वषार्ंैदेखि किशोरकिशोरीलाई राम्रो आम्दानी हुने भन्दै लग्ने गरेका छन्। पुसमा थाना गाउँबाट लगिएका किशोरलाई दलालले यातना दिएपछि भागेर प्रहरीमा उजुरी दिन आएका छन्। रुपाटारकी रिम्की राई र शर्मीला श्रेष्ठले बँधुवा मजदुर बनाएर काम लगाएको भन्दै थाना गाउँ ८ ज्यामिरेका १५ वषर्ीय धनबहादुर सार्की र झगरबहादुर सार्कीले प्रहरीमा जाहेरी दिएका छन्। राई र श्रेष्ठले राम्रो काम लगाइदिने र धेरै आम्दानी हुने भन्दै भक्तपुरको इँटाभट्टामा लगेर काम लगाएको उनीहरूले बताए। ‘घरबाट लगेदेखि इँटाभट्टामै बन्धक बनाए,’ पीडित धनबहादुरले भने, ‘बाहिर जान्छु भन्दा कुट्थे।’ काँचो इँटा बोकेको हजारको दुई सय दिइन्छ, माग्यो भने उल्टै कुटेर यातना दिने गरेको उनले बताए। भट्टाका मालिकसँग कमिसन लिएर राई र श्रेष्ठले ग्रामीण क्षेत्रबाट मजदुर लग्ने गरेको स्थानीयवासीले बताए। थाना गाउँ, ओख्ले, रुपाटार, लेखगाउँबाट यस वर्ष पुसयतामात्रै १ सय ५० किशोरकिशोरी लगेको लेखगाउँका नरेश राईले बताए। ‘न्यून आर्थिक अवस्था भएको परिवारलाई फकाएर कामका लागि लगिन्छ,’ उनले भने, ‘गरिबीका कारण विद्यालय जान नसक्ने बालबालिकालाई दलालले फकाएर मजदुरीमा लग्ने गरेका छन।’ तर यसलाई नियन्त्रण गर्न बालबालिकाको क्षेत्रमा काम गर्ने संघसंस्थाले वास्तै नगरेको उनले बताए। भक्तपुर मच्छेगाउँस्थित भट्टामा मात्रै करिब २ सय बालबालिका, किशोरकिशोरी र वृद्धाले काम गरिरहेको त्यहाँबाट फर्केका दीपक नेपालीले बताए। ‘गएदेखि इँटाभट्टाभित्रै बसेर काम गर्नुपर्छ,’ उनले भने, ‘बाहिर जान खोज्यो कि यातना दिइन्छ, पुसमा काम थालेदेखि जेठसम्मै भित्रै बसेर काम गर्नुपर्छ।’ त्यसैले काम गर्न नसक्ने भन्दा यातना दिएपछि भागेर आएको उनले बताए। काम गर्ने मजदुरले २ हजार इँटा बोकेबापत ४ सय कमाउने गरेको मजदुरहरू बताउँछन्। त्यसमा पनि दलालले कमिसन लिने गरेको अर्का पीडित मोहनबहादुर सार्कीले बताए। ‘महिनामा १ हजार ५ सय रुपैयाँ कमाइ हुन्छ,’ उनले भने, ‘तर कमाएको रकम पनि महिना मर्दा दिइँदैन, काम सुरु गरेपछि फर्किने समयमा मात्रै दिइन्छ।’ यसरी दिइने ज्यालामा समेत कमिसन काट्ने गरेको उनले बताए।
दलालले मजदुर सप्लाइ गरेबापत एक जनाको दैनिक १० रुपैयाँ कमिसन लिने गरेको पीडितले बताए। यसैगरी मजदुरबाट पनि दलालले १० रुपैयाँ लिने गरेका छन्। इँटाभट्टामै बँधुवा बनाइएकालाई खाना, पानी र अन्य व्यवस्था दलालले नै गर्ने गरेको स्थानीय लोकबहादुर कार्कीले बताए।