कामदार ल्याउन नेपाललाई खर्च नलाग्‍ने

30 May, 2020

होम कार्की

काठमाडौँ — खाडी तथा मलेसियाबाट कामदार स्वदेश फर्ता गर्न सरकारी ढुकुटीमा भार नपर्ने देखिएको छ । रोजगार करार अवधि समाप्त वा बिदामा फिर्ने कामदारको टिकट खर्चको दायित्व सम्बन्धित कम्पनीले बेहोर्ने भएका छन् । खाडी र मलेसियास्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई पत्र पठाउँदै स्वदेश फिर्न चाहने झन्डै ९० प्रतिशत कामदारको खर्च सम्बन्धित कम्पनी वा कामदार आफैले बेहोर्न तयार भएको जानकारी दिएका छन् ।

आममाफी प्रक्रियामा सामेल भएपछि स्वदेश फर्काउनका लागि कुवे तको अब्दल्लीस्थित क्याम्पमा राखिएका नेपाली

मन्त्रिपरिषद्ले जेठ १२ मा विस्तृत कार्यविधि बनाएर अप्ठ्यारोमा परेकामध्ये २५ हजार नेपाली कामदारलाई स्वदेश ल्याउने निर्णय गरेको थियो । यो निर्णयलगत्तै दूतावासमा सम्पर्क गर्नेको चाप बढेको छ । अर्थमन्त्री युवराज खतिवडाले बिहीबार विदेशबाट नेपाली कामदारलाई ल्याउन बजेट विनियोजन गरेको घोषणा गरेका थिए ।

गैरआवासीय नेपाली संघका प्रवक्ता डीबी क्षत्रीका अनुसार धेरै कम्पनीले कामदारलाई तलब दिएका छैनन् । कतिपय कामदार कोभिड–१९ ले सिर्जित संकटका कारण बेतलबी बिदामा छन् । कतिपय कामदार खाना खर्चसमेत नपाउँदा समस्यामा छन् । 

यूएईको राजधानी आबुधाबीमा ७ वर्षदेखि कार्यरत खोटाङका नारायण बस्नेतले फेबु्रअरीदेखि तलब नपाएको बताए । ‘रित्तो हात कसरी जाने ? भिसा नवीकरण पनि गरिएको छैन,’ उनले भने । उनले काम भने नरोकिएको जानकारी दिए । काम रोक्दा कम्पनी नै बन्द हुने भएकाले बिनातलब काम गरिरहेको उनले बताए ।

खाने, बस्ने समस्या भएका र रोजगारी समाप्त वा कटौती भएका कामदारले चाँडै घर फर्कने व्यवस्था मिलाउन दूतावासलाई लगातार दबाब दिइरहेका छन् ।

दूतावासलाई दोहोरो दबाब 

दूतावासहरू कामदार र कम्पनीको दोहोरो दबाबमा पर्न थालेका छन् । कामदारलाई उद्धार गर्ने व्यवस्था नहुँदा दबाब दिने समूह बढ्न थालेका छन् । यूएईस्थित ट्रान्सगार्ड समूहको सेक्युरिटी कम्पनीमा १२ हजार सुरक्षा गार्ड कामविहीन भएका छन् । जसमध्ये २ हजार ४ सय ९ जना नेपाली छन् । भिजिट भिसामा आएर अलपत्र परेकाको संख्या मात्रै एक हजार छ । त्यसमा अधिकांश गर्भवती छन् जो छोटो समयका लागि श्रीमान् भेट्न यूएई पुगेका थिए । यूएईबाट मात्रै स्वदेश फिर्न ११ हजार जनाले दूतावासको फाराम भरेका छन् ।

कतारको दोहास्थित नेपाली दूतावासमा सम्पर्क गर्नेले हवाई टिकट र नेपालमा क्वारेन्टाइनमा लाग्ने खर्च आफंै बेहोर्न तयार भएको बताएका छन् । अप्रिल १७ मा कतार एयरवेजको उडान नम्बर ६४४ को टिकट बुकिङ गरेका २ सय ५० जनाले सहजीकरणको अनुरोध गर्दै लिखित निवेदन दिएका छन् । यसबाहेक कतारमा ५ हजार ७ सय ४२ जनाले समस्यामा परेको भन्दै उद्धारका लागि दूतावासलाई खबर गरेका छन् ।

विभिन्न कसुरमा कतारी जेलमा सजाय भोगेर हालै आममाफीमा परेका १७ र कतारको आवासीय कानुनको उल्लंघन गरी डिपोर्ट गर्न पक्राउ परेका १ सय ९ जना नेपालीलाई घर फर्काउने प्रबन्ध मिलाउन कतारको कन्सुलर विभागको नोट दूतावासलाई दिइएको छ ।

बहराइनबाट भने एक सय महिलासहित ६ सय जनाको स्वदेश फिर्ने सूची दूतावाससँग छ । ‘बहराइनमा त्यति धेरै समस्या देखिएको छैन । कम्पनीहरूको व्यवस्थापन चित्तबुझ्दो देखिन्छ,’ बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले भने । कुवेतले नेपाल पठाउन ३ हजार ५ सय जनालाई अस्थायी क्याम्पमा लगेर राखेको छ । कुवेतमा यीबाहेक रोजगारी गुमाएर आफ्नै क्याम्पमा बस्नेहरूको तथ्यांक भने दूतावासले सार्वजनिक गरेको छैन ।

मलेसियामा घर फिर्न ६ हजारले दूतावासको फाराम भरिसकेका छन् । जसमा डिपोर्टेसन सेन्टर, भिजिट भिसाका र गर्भवती गरी ३ सय जना छन् । अन्यमा कम्पनीबाट स्वदेश फिर्न चेकआउट मेमो लिइसकेका र बिदामा जानेहरू रहेको मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले बताए ।

उडान खर्च कसको ?

साउदी सरकारले संक्रमणको महामारीका कारण र सम्झौता सकिएर स्वदेश फर्कन चाहने कामदरका लागि हवाई व्यवस्था गरेको छ । साउदी विदेश मन्त्रालयले रियादस्थित नेपाली दूतावासलाई पत्र पठाउँदै नेपाल गएर पुन: साउदी आउने गरी एक्जिट भिसा लागेका नेपाली कामदारले मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयमा आवेदन दिएको जानकारी गराएको छ । साउदीले आफ्नो देश फिर्न चाहने आप्रवासीसँग आवेदन माग गरेको थियो । साउदीले नेपाल फिर्न चाहनेको संख्या भने खुलाएको छैन ।

साउदीले आवेदन दिएका नेपालीलाई साउदीको सरकारी विमानसेवा साउदी एयरलाइन्समार्फत फर्काउने जनाउँदै एयरलाइन्सलाई उडान अनुमति दिलाइदिन दूतावासलाई अनुरोध गरेको छ । यूएई सरकारले आफ्नो कम्पनीसँग सम्झौता गरी फर्किन सक्ने गरेर विदेशी कामदारका लागि ‘छिट्टै छाड्नुपर्ने’ नीति ल्याएको छ । यसै नीतिअनुसार नेपाली पनि स्वदेश फिर्न तयार भएको दूतावासले जनाएको छ । यूएईले स्वास्थ्य परीक्षण गरेर मात्रै पठाउने भएको छ ।

कतारमा कम्पनीले पूर्वसूचना दिई रोजगार सम्झौता रद्द गर्नसक्ने नीति छ । यसो गर्दा कामदारले पाउनुपर्ने बाँकी सुविधाका साथै हवाई टिकट उपलब्ध गराउनुपर्ने र सम्झौता रद्द गरिएका कामदारलाई समेत रोजगारदाताको खर्चमा आफ्नो देश फर्कने प्रक्रिया पूरा नभइन्जेलसम्म खाने, बस्ने सुविधा रोजगारदाताले उपलब्ध गराउनुपर्नेछ ।

जेठ ८ गतेसम्म कतारका १६ वटा कम्पनीले विमान चार्टर गरेर ११ सय ८७ जनालाई नेपाल पठाउन तयार भएको पत्र दूतावासमा बुझाएका छन् । साउदीमा रोजगारदाताबाट कामदारको रोजगारी तथा करार सम्झौताबाट प्राप्त हुने अन्य सेवा सुविधा गुम्न नदिने नीति लिइएको छ तर रोजगारदाता इमानदार नभए थुप्रै कामदार अलपत्र पर्ने एवं खाना तथा आवासको समस्या आउन सक्ने देखिएको छ ।

खाडी र मसेलियामा नेपाली कामदार संक्रमण हुने क्रम बढिरहेको छ । सबैभन्दा बढी कतारमा ६ हजार ९ सय ११ जना संक्रमित भएका छन् । साउदी अरबमा १ हजार ३ सय ६४ जना, बहराइनमा ३ सय ३१ जना, मलेसिया ८५ जना, कुवेत ८४ जना र ओमनमा ४ जना संक्रमित भइसकेका छन् । यूएईमा १ सय ८० जना नेपाली दूतावासको सम्पर्कमा छन् । संक्रमितको संख्या बढ्दै जाँदा समयमै उपचार नपाउने समस्या सिर्जना हुन थालेको भन्दै नेपालीले दूतावासमा गुनासो गर्ने क्रम पनि बढेको छ ।

मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले घर फर्कन चाहने नेपालीका लागि चार्टर उडान गर्नेभन्दा व्यावसायिक उडानलाई सरकारले खुला गर्नुपर्ने बताए । ‘चार्टर उडान गर्न थालियो भने कसलाई उडाउने र नउडाउने छुट्याउन समस्या पर्छ । सबैले आफ्नै खालको समस्या देखाउँछन्,’ उनले भने ।

व्यावसायिक उडानलाई अनुमति दिँदा आफ्नो अनुकूलताअनुसार कामदार स्वदेश फिर्ने उनले बताए । कतारका लागि नेपाली राजदूत नारननाथ भारद्वाजले फर्काउने कामदारको छनोटमा प्रस्ट सीमा तोक्न सके बढी दबाब नपर्ने बताए ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024