कतारमा राहत जुटाउँदै कामदारहरु

17 May, 2015

नवलपरासीका काशीराम सापकोटा १५ वर्ष देखि कतारको नगरपालिका (बलेदिया) मा सरसफाई मजदुरका रुपमा कार्यरत छन् । उनी आफ्ना लेवर क्याम्पमा रहेका साथीहरुसँग मिलेर एक/एक रियाल गरी राहत रकम उठाइरहेका छन् ।

‘मुलुकमा विपत्ति लागेको बेला नजुटे कहिल्यै जुट्ने’, उनले भने, ‘हामी प्रवासमा छौं । देश रोइरहेको छ । गाँउघरमा चुलो बलेको छैन । हामीले विदेशमा रहँदा गर्न सकिने भनेको राहत संकलन नै त हो ।’

उनको पहलमा शनिबारसम्ममा १० लाख ११ हजार रुपैयाँ उठिसकेको छ । ‘हामीले नेपाली सहित विदेशी १२ सय साथीभाइसँग सकेको रकम उठायौं’, उनले भने, ‘यो प्रधानमन्त्री राहत कोषमा पठायौं ।’

अर्का कामदार सुरेश श्रेष्ठका अनुसार कतारका हरेक क्याम्पमा भुकम्प पीडित नेपाली भेटिन्छन् । ‘आफैं पीडित भएर बसेका साथीहरुले पनि आफ्नो तर्फबाट सकेका सहयोग गरिरहेका छन् । उनीहरुले हरेष खाएका छैनन्,’ उनले भने, ‘प्रवासमा रहेका नेपाली दाजुभाइ यस्तो बेला आ–आफ्ना स्तरबाट सहयोग जुटाउन लागीपरेका छन् ।’

पेट्रोलीयम कम्पनी ‘उकुद’मा कार्यरत नेपालीले ५ लाख ५९ हजार रुपैयाँ प्रधानमन्त्री राहत कोषमा पठाइसकेको छन् । ‘दिनभर डिउटीमा हुन्छौं । त्यसबाट बचेको समय साथीहरु बस्ने क्याम्पमा पुगेर आर्थिक संकलन गरेका हौं,’ उकुदका सुपरभाइजर भिष्मराज सिटौलाले भने ।

यस्तै कतारको यातायात कम्पनी ‘कार्वा’का सवारी चालक नेपालीले पनि ५ लाख जुटाए । ‘चालक साथीहरुले मुलुकको पीडामा मलहम लगाउन पहल थाले,’ मकवनापुरका भगवान बड्तौलाले भने, ‘साथीहरु सबैले साथ दिए ।’

कतारमा रहेका नेपाली इन्जिनियरहरूले पनि लगभग पाँच लाख रुपैयाँ पठाइसकेका छन् । ‘तत्कालको लागि ४ लाख ८३ हजार रुपैयाँ पठाइसकेका छौं,’ नेपाल इन्जिनियर एसोसियसन कतारका सचिव नन्दप्रसाद गर्जुवाले भने, ‘थप रकम संकलन भइरहेको छ ।’  

कतारमा चार लाख नेपाली कार्यरत छन् । उनीहरु विशेष गरी सनैया, साँहनिया, रस्लाफान, मिसाइद लगायतका ठाँउमा बस्छन् । रस्लाफानमा स्काफोल्डिङ काम गर्ने सिसिआइसी कम्पनीमा कार्यरत नेपालीले एक लाख ६ हजार रुपैयाँ पठाइसकेका छन् । ‘यो भयाभह परिस्थितिमा हाम्रो आवश्यकता देशलाई हुँदा पनि बाध्यताले विदेशमा रहेर भयाभह दृश्य टेलिभिजनमा हेर्दै आँखाबाट आँशु झार्नुको विकल्प हामीसँग छैन,’ योगेश उपाध्यायले भने, ‘जहाँ रहे पनि हामी नेपाली नै त हौं । त्यही भएर हामी साथीभाइ मिलेर भूकम्प पीडितलाई आर्थिक सहयोग जुटाएका ।’

नेपाली कामदार मात्रै राहत संकलनमा जुटेका छैनन, कम्पनीहरुले पनि पीडित कामदारलाई आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् । सफारी ग्रुपले भूकम्पबाट पीडित  कामदारलाई क्षतिपुर्ति दिन ३५ लाख रुपैयाँको कोष स्थापना गरेको छ । समुहका महाप्रबन्धक अबोबाकर मदाप्पटले परिवार गुमाएकालाई ७५ हजार, घर क्षतिग्रस्त भएकालाई ५० हजार र घरमा सामान्य क्षति पुगेकालाई २५ हजार रुपैयाँ दिने बताए । ‘हाम्रा कामदार पीडा पर्नु भनेको हामीलाई पनि पर्नु हो,’ उनले भने, ‘हामीले आफ्ना परिवारका सदस्यलाई यस्तोबेला सहयोग गर्नुपर्छ ।’

कतारका लागि नेपाली कार्यवाहक राजदुत मणिरत्न शर्माले आ–आफ्ना स्तरबाट राहत संकलन भइरहेको बताए । ‘यहाँका नेपाली कामदारले आफ्नो क्याम्पमा आर्थिक संकलन गरिरहेका छन् । दुतावासको खातामा पनि बुझाइरहेका छन्,’ उनले भने, ‘क्रियाशील संस्थाहरुबाट काम भइरहेको छ ।’

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024