कतारमा मध्याह्न काम गर्न रोक

11 June, 2015

होम कार्की

तापक्रम अत्यधिक बढेपछि कतार सरकारले मध्याह्न बाहिरी क्षेत्रमा काम गर्न रोक लगाएको छ । बिहान ११:३० देखि दिउँसो ३ बजेसम्म काम गर्न रोक लगाइएको हो ।

श्रम तथा सामाजिक मन्त्रालयका अनुसार आउँदो जुन १५ (जेठ ३२) देखि अगस्ट ३१ सम्म यो नियम लागू हुनेछ । मन्त्रालयले नियम उल्लंघन भएमा सम्बन्धित रोजगारदातामाथि कारबाही गर्ने जनाएको छ ।

यो व्यवस्थाबाट निर्माण क्षेत्रमा कार्यरत नेपालीसहित विदेशी कामदारलाई ठूलो राहत मिलेको छ । ‘बिहान ८ बजेबाटै एकदमै घामले पोल्न थाल्छ,’ दोहाको  मुसरिफ प्रोजेक्टमा काम गर्ने तनहुँका सुमन मल्लले भने, ‘११ बजेसम्म थेग्न पनि निकै गार्होा हुन्छ ।’

ठूला प्रोजेक्टमा कम्पनीहरूले उक्त नियम मान्दै कार्यतालिका परिवर्तन गरिसकेका छन् । रातिको ड्युटी दिउँसो ३ देखि बिहान १ बजेसम्म र बिहानको ड्युटी बिहान १ देखि ११ बजेसम्म तय गरिएको छ । ‘हामीलाई यही रूपमा काम गर्न कम्पनीले सूचना दिएको छ,’ महोत्तरीका बलराम रायले भने, ‘यसले तातोबाट जोगिन मद्दत पुगेको छ ।’

उच्च गर्मीमा काम गर्दा धेरै कामदार कार्यस्थलमै ढल्ने गर्छन् । ‘धेरै साथी ढलेको देख्छु,’ स्याङ्जाका रतन सापकोटाले भने, ‘शरीरमा रहेको नुन पसिना भएर बग्छ । त्यसपछि कामदार ढल्न थाल्छन् ।’

कतारमा रहेका नेपाली डाक्टर नरेन्द्र शाक्य यस्तो बेला कामदारले विशेष ध्यान दिनुपर्ने बताउँछन् । ‘यो समय सबभन्दा होसियारी पुर्यााउनुपर्छ । घाममा काम गर्न सुरक्षाका सबै उपाय कामदारले आफ्ना लागि अपनाउनुपर्छ,’ उनले भने, ‘बारम्बार पानी पिउने, शीतलमा आराम गर्ने, तुरुन्तै चिसोमा नबस्ने गर्नुपर्छ ।’

कतारमा झन्डै ४ लाख नेपाली कार्यरत छन् । ६० प्रतिशत नेपाली बाहिरी क्षेत्रमा काम गर्छन् । गर्मीमा उच्च रक्तचाप र मुटु रोगी कामदार बढी जोखिममा पर्ने डा. शाक्यले बताए । Published on: 11 June 2015 | Kantipur    

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024