कतारमा छोराको मृत्यु, आमा अचेत

8 February, 2015

‘आमा आफ्नो ख्याल राख्नु, घर खर्च धान्न गाह्रो भएको होला। शुक्रबार पैसा पठाइदिन्छु मेरो काम राम्रो छ, कुनै चिन्ता नलिनु,’ अघिल्लो शुक्रबार कतारमा रहेका ठूलो छोरा २२ वषर्ीय सुरज विकले भनेका थिए। तर कुराकानीको साता नबित्दै उनको मृत्युको खबरपछि ५६ वषर्ीया आमा विष्णुमाया अचेत छिन्।

छोरा सम्झँदै बर्बराउने त कहिले मेरो बाबु भन्दै रुनेकराउने गरेकी छन्। घरपरिवारको कमाउने एउटै आधार रहेका सुरजको मृत्युको खबरपछि दिदीहरू मनमाया, सीता र भाइ मोहनसमेत सम्हालिन सकेका छैनन्। ‘आमा मेरो चिन्ता नलिनु भनेको छोराको यस्तो खबरले कसरी मन थामिएला,’ बर्बराउँदै आमा विष्णुमायाले भनिन्, ‘म अभागिनीको कस्तो कर्म रहेछ।’ स्याम्घा २, साँझाका सुरजको बिहीबार बिहान करिब ७ बजे भवन निर्माण क्रममा करेन्ट लागेर दुई तलामाथिबाट खस्दा घटनास्थलमै मृत्यु भएको थियो।

सुरज कतार सायनास्थित सिडी सिटी कम्पनीमा थिए। चार वर्षअघि बाबु सम्शेरबहादुरको मृत्युपछि सुरज रोजगारीका लागि कतार हान्निएका थिए। एक छुट्टी आएर डेढ वर्षअघि उक्त कम्पनी गएका सुरजले शुक्रबार पैसा पठाउने बताएको भए पनि दुर्घटनामा परेको अपि्रय घटना सुन्नु पर्दा आफूहरू सम्हालिन नसकेको जेठी दिदी सीताले बताइन्। ‘विदेशमा भए पनि आमा, घरपरिवार र हाम्रो ख्याल राख्थ्यो,’ सीताले भनिन्, ‘के गर्ने राम्रो मान्छे नै छिटो जानेरहेछन्। त्यस्तो भाइ गुमाउनु पर्दा मन बुझाउनै सकिएको छैन।’  अविवाहित सुरजको दुर्घटनामा मृत्यु भएको खबर शुक्रबारमात्रै सोही कम्पनीमा कार्यरत छिमेकी क्यामिन ७, सत्रसयका बलबहादुर आलेमगरले घरपरिवारमा जानकारी गराएका थिए।

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024