कतारबाट १५ दिनपछि शव

25 March, 2015

वैदेशिक रोजगारीमा कतार गएका नेत्रगन्ज ५ का ३० वषर्ीय रामकेवल रामको २ वर्षपछि बुधबार शव आउँदा परिवारमा रुवाबासी चलेको छ। यसै महिना भिसाको २ वर्षे अवधि गुज्रेकाले घर फर्किने तयारीमा रहेका उनको फागुन २१ गते सुतेकै ठाउँमा मृत्यु भएको थियो। एकैपटक शव आइपुग्दा परिवारसाथै गाउँ नै शोकमा डुबेको छ। होली मान्न अघिल्लो दिन पैसा पठाएका उनले परिवारलाई १ महिनाभित्र घर आइपुग्ने बताएका थिए। अभिभावक आइपुग्ने खुसीमा रमाएका सन्तान र श्रीमतीले मृत्युको खबर सुनेदेखि अन्नपानी खाएका छैनन्। दैनिक काममा जानुअघि उनी घरमा फोन  गर्थे। त्यस दिन फोन आएन। यताबाट पत्नी सन्जोगियादेवीले लगातार फोन गरिन्। तर उठेन।  केहीबेरमा रामकेवलको मृत्यु भएको खबर परिवारलाई आयो। परिवारमा उनका ४ छोराछोरी र श्रीमती छन्। कतारमा रोजगारीमा रहेका उनका भाइ गुल्माले मृत्युको १४ दिनमा शव ल्याइपुर्‍याएका हुन्। ‘विदेश गएपछि दाजुको घरपरिवारसँग फोनमा मात्र कुरा हुन सक्यो,’ उनले भने, ‘एकैपटक शव फिर्ता आयो। भाउजू  र छोराछोरीलाई सम्झाउन मुस्किल छ।’ गुल्माका अनुसार राति सुतेकै ठाउँमा उनको मृत्यु भएको थियो। स्थानीय अस्पतालले हृदयाघातका कारण मृत्यु भएको रिपोर्ट दिएको उनले बताए। उनको बुधबार नै परम्पराअनुसार दाहसंस्कार गरिएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024