एक वर्षमा वैदेशिक रोजगारीमा गएका ३८ जनाले गुमाए ज्यान

16 June, 2025

वसन्त ढुंगाना

एक वर्षको अवधिमा चितवनबाट वैदेशिक रोजगारीका लागि गएका ३८ जनाको मृत्यु भएको छ ।

आर्थिक वर्ष २०८१/२०८२को अवधिमा वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका ३८ जनाको शव चितवन ल्याइएको सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले जानकारी दिएको छ ।

सामीका अनुसार एक वर्षको अवधिमा भरतपुर महानगरपालिकाका १५ रत्ननगर नगरपालिकाका ९, माडी नगरपालिकाका ६, खैरहनी नगरपालिकाका ४, राप्ती नगरपालिकाका ३ र कालिका नगरपालिकाबाट विदेश गएका १ जनाको शव ल्याइएको सामी कार्यक्रमका कार्यक्रम संयोजक सुर्य प्रसाद पौडेलले जानकारी दिए । उनीहरुलाई १ करोड ४७ लाख रुपैयाँ क्षतिपूर्ति स्वरूप राहत उपलब्ध गराइएको छ ।

जिल्लाबाट वैदेशिक रोजगारीमा गएका १३ जना परिवारको सम्पर्कभन्दा बाहिर रहेको उनले बताए । जिल्लाबाट वैदेशिक रोजगारीमा गएका ७५ जना युवाहरू घाइते तथा अंगभंग भएको उनले बताए । घाइते तथा अंगभंग हुनेमा सबैभन्दा धेरै मिर्गौला रोगी रहेका छन् । २०८० यता चितवन मिर्गौला फेला भएका ४३, कार्यस्थलमा दुर्घटना भएका ७, क्यान्सर रोग लागेका ५, विभिन्न प्रकारका रोग लागेका १६ र अन्य २ गरी ७५ जना कामदार घाइते तथा अंगभंग भएको वैदेशिक रोजगार बोर्डको तथ्याङ्कमा उल्लेख छ । उनीलाई एक करोड ३७ लाख ९१ हजार रुपैयाँ उपलब्ध गराइएको पौडेलले जानकारी दिए ।

चितवन बागमती प्रदेशबाट सबैभन्दा बढी वैदेशिक रोजगारीमा जाने जिल्लामा पर्दछ । यहाँबाट यस आर्थिक वर्षको वैशाख महिनासम्म मात्रै १७ हजार ७३१ जनाले श्रम स्वीकृत लिएका छन् । गत आर्थिक वर्ष १५ हजार ३६५ जनाले श्रम स्वीकृत लिएका थिए ।

सरकारले पछिल्लो समयमा वैदेशिक रोजगार कल्याणकारी कोष मार्फत श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा गएका परिवारको स्वास्थ्य उपचारमा ५० हजार सहयोग गर्दै आएको छ । चितवनमा जनचेतनाको अभावका कारण यस सेवा लिन आउने सेवाग्राहीको संख्या न्यून रहेको उनले बताए ।

‘चितवनबाट श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा जानेहरू धेरै हुनुहुन्छ । उहाँहरुको परिवारलाई गम्भीर प्रकृतिका क्यान्सर, मिर्गौला, मुटुरोग लगायतका ५ रोग लागेमा सरकारले ५० हजार रुपैयाँसम्म सहयोग उपलब्ध गराउँछ’, उनले भने ‘चितवनमा १५ जनाले मात्र यस्तो सुविधा लिनुभएको छ ।’ यो रकम स्थानीय तहको सिफारिस र सहजिकरणका आधारमा वैदेशिक रोजगार बोर्डले उपलब्ध गराउने छ ।

श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा गएको अवस्थामा वा नेपाल फर्केर आएको एक वर्ष भित्रमा मृत्यु वा पूर्ण असशक्क्त घाइते अंगभंग भएको अवस्थामा उनका छोराछोरीले कक्षा १२सम्म अध्ययनका लागि छात्रवृत्ति समेत पाउने व्यवस्था छ । विद्यार्थीको उमेर हद १८ वर्ष तोकिएको उनले बताए । यस्ता विद्यार्थीले कक्षा आठसम्म वार्षिक १२ हजार र कक्षा १२सम्म वार्षिक १६ हजार पाउने व्यवस्था रहेको छ ।

छात्रवृत्ति पाउनको लागि हकवाला विद्यार्थीले सम्बन्धित विद्यालय मार्फत स्थानीय तहमा निवेदन दिनुपर्छ । स्थानीय तहले वैदेशिक रोजगार बोर्डबाट सो रकम प्राप्त गर्नेछ । यद्यपि चितवनमा छात्रवृत्तिको सुविधा लिने विद्यार्थीको संख्या कम रहेको उनको भनाई छ । उनका अनुसार जिल्लामा ९८ जनाले यो सुविधा लिएका छन् ।

सुरक्षित आप्रवासनले वैदेशिक रोजगारीमा गएका व्यक्ति तथा परिवारलाई मनोसामाजिक परामर्श, वित्तीय साक्षरता, सीप तालिमका लागि सहजीकरण, न्यायमा सहजीकरण जस्ता काम गर्दै आएको छ । एक वर्षको अवधिमा ७ हजार ४ सय २१ जनाभन्दा बढीलाई परामर्श दिएको उनले बताए ।

भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले भरतपुर महानगरपालिका सबैभन्दा बढी वैदेशिक रोजगारीमा जाने जिल्ला भएकाले विदेश जाँदा बुझेर मात्र जान सुझाव दिए ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026