एक लाखभन्दा माथिको रेमिटेन्स खातामा

10 February, 2015

बैंक तथा वित्तीय संस्थामार्फत विदेशबाट आउने एक लाखभन्दा माथिको रकम बैंक खातामा जम्मा गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ। राष्ट्र बैंकले यसभन्दा अगाडि ल्याएको निर्देशिकामा विदेशबाट बैंकमार्फत आउने रेमिटेन्स सम्बन्धित व्यक्तिको खातामा जम्मा गर्ने नीति ल्याएको थियो। 

नेपाल बैंकर्स संघले खातामा जम्मा गर्ने व्यवस्थाले बैंकिङ प्रणालीबाट रेमिटेन्स बुझ्ने व्यक्तिहरू निरुत्साहित हुने भन्दै त्यो व्यवस्था परिवर्तन गर्न लिखित आग्रह गरेको थियो। 

राष्ट्र बैंकले आफूले यसभन्दा अगाडि ल्याएको नीतिमा परिमार्जन गर्दै एक लाखभन्दा बढीको रेमिटेन्समा खाता अनिवार्य गर्ने व्यवस्था गरेको हो। 

राष्ट्र बैंकका विदेशी विनिमय विभागका कामु कार्यकारी निर्देशक भीष्मराज ढुंगानाले एक लाखभन्दा कमको रकममा खाता अनिवार्य गर्दा झन्झट हुने भन्दै पैसा बुझ्ने व्यवस्थालाई सहज बनाइएको बताए।

 ‘बैंकरले गरेको मागअनुसार खाताको व्यवस्थालाई सहज बनाइएको हो’, उनले भने, ‘यसले थोरै रकम पठाउनेलाई सहज हुन्छ। ‘

बैंकरहरूले भने रेमिटेन्स कम्पनीलाई फाइदा हुने गरी राष्ट्र बैंकले निर्देशिका ल्याएको तथा यसले हुन्डी कारोबार बढाउने भन्दै खाता अनिवार्य गर्ने व्यवस्थाको विरोध गरेका थिए। 

राष्ट्र बैंकको तथ्यांकअनुसार नेपालमा भित्रने कुल रेमिटेन्समा ६२ प्रतिशत रेमिटेन्स रेमिट कम्पनीले भित्र्याउँदै आएका छन् भने ३८ प्रतिशत रेमिटेन्स वाणिज्य बैंक बाट भित्रने गरेको छ। 

राष्ट्र बैंकले यसभन्दा अगाडि ल्याएको नीतिमा परिमार्जन गर्दै एक लाखभन्दा बढीको रेमिटेन्समा खाता अनिवार्य गर्ने व्यवस्था गरेको हो। 

बैंक र एक्सचेन्ज कम्पनीको दर एउटै

काठमाडौं : नेपाल राष्ट्र बैंकले बैंक तथा मनी एक्सचेन्जले दिने विदेशी विनिमय दर एउटै हुने व्यवस्था गरेको छ। अहिले राष्ट्र बैंकले विदेशी विनिमय दर तोक्ने भए पनि वाणिज्य बैंक तथा मनी एक्सचेन्जपिच्छे त्योअनुसार केही रकम तलमाथि हुने गरेको थियो। राष्ट्र बैंकले सोमबार निर्देशिका जारी गर्दै वाणिज्य बैंक र मनी एक्सचेन्जले एउटै दरमा विदेशी मुद्रा सटही गर्नुपर्ने जनाएको छ। 

राष्ट्र बैंकका विदेशी विनिमय विभागका कामु कार्यकारी निर्देशक भीष्मराज ढुंगानाले अस्वस्थ प्रतिस्पर्धा रोक्न एउटै दर बनाउनुपर्ने निर्देशिका जारी गरिएको बताए। ‘अहिले ग्राहकलाई मर्का पार्ने गरी बैंकरहरूले विदेशी विनिमय तोक्ने गरेका छन्’, उनले भने, ‘यसले विदेशी विनिमय दर व्यवस्थित बनाउनेछ।’ 

राष्ट्र बैंकले गरेको व्यवस्थाअनुसार विदेशी विनिमयको कारोबार गर्ने बैंकहरूको संस्था (फेडान)ले बिहान १० बजे तथा २ बजे दर तोक्नेछ। त्यही दरका आधारमा बैंक तथा एक्सचेन्ज कम्पनीले विदेशी मुद्राको सटही गर्नुपर्ने हुन्छ। 

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024