ऋण बोकेर खाडी छिर्दै विस्थापित

22 February, 2015

साउने बाढीले विस्थापित भएपछि फूलबारी–६ बखरियाका रोशन खत्रीका दुःखका दिन सुरु भए। गतिलो छानो र गाँस जुटाउने समस्याले पिरोलिरह्यो सधैंभरि । त्रिपालको ओतमुनि बितेका पुस–माघ कम्ती कष्टकर थिएनन्। तैपनि ६ महिना जेनतेन परिवार धाने। सरकारले सघाउला कि भन्ने आस बाँकी थियो। तर, सरकारले पुनःस्थापनाका लागि कुनै पहल नगरेपछि त्यो आस पनि मरेको छ।

अन्ततः उनी पत्नी र नाबालक छोरालाई बाँसको कटेरोमा छाडेर खाडी मुलुकतिर लागेका छन्। ‘बाढीले सबै गुमेपछि पत्नी र छोरालाई छोडेर विदेश हिँड्नुपर्‍यो,’ उनले भने, ‘उनीहरूलाई केही नराम्रो नहोस्।’ सेक्युरिटी गार्डका रूपमा मलेसिया जान रमेश अहिले काठमाडौंमा छन्। मासिक १८ हजार नेपाली रुपैयाँ तलब पाउने सर्तमा विदेश जान लागेका उनी त्यही पैसाले जीवन स्याहार्ने योजनामा छन्। भन्छन्, ‘यहाँ बसेर अभावैअभाव हुनुभन्दा उतै जानु ठिक देखें।’ बबई बाढीले घरबार उठाएपछि छिमेकीको शरणमा पुगेका रोशनले पछि बाँस गाडेर ओत हाले। सुरुसुरुमा अन्न–कपडा बोकेका दाता पनि थुप्रै पुग्थे बस्तीमा। सरकारी कोषमा रकम जम्मा भइरहेको थियो। सरकारले पुनःस्थापनाको सपना देखायो तर साकार पारेन। रोशनले अब आफैं घर बनाउने सोचे। दुई लाख ऋण लिए। तर, त्यति रकमले घर पूरै बन्न सकेन। त्यसपछि मजदुरीमा घोटिए। केही नलागेपछि थप दुई लाख ऋण गरेर मलेसिया जाँदै छन्। ‘बाँच्नका लागि हरेक उपाय गरेँ तर सकिएन न त सरकारले हेर्योा,’ उनले भने, ‘अब विदेश जानुबाहेक केही उपाय देखिएन।’  हातमुख जोड्नै सकस भएपछि विस्थापितहरू धमाधम बिदेसिन थालेका छन्। त्यो पनि ब्याजमा ऋण काढेर। अहिलेसम्म दाङका विस्थापित बस्तीका थुप्रै नागरिक खाडी मुलुक छिरेका छन् भने कतिपय भारत पसेका छन्। स्थानीयका अनुसार बखरियाका मात्रै चार जना वैदेशिक रोजगारीमा गइसकेका छन्। ‘जीवन धान्ने कुनै उपाय नदेखेपछि ऋण काढेर विदेश जाने धेरै छन्,’ स्थानीय देवीराम कुसारीले भने ‘अन्य पनि तयारीमा छन्।’

उरहरि, मोतीपुरका कुलबहादुर चौधरीले पनि विस्थापित जीवनदेखि हार खाइसके। न दुई–चार पैसा जुट्ने कुनै आधार छ न त कसैले जुटाइदेला भन्ने आस। फाटेको त्रिपालको ओतभित्रको बसाइ ७ महिनासम्म फेरिएन। पुस–माघको ठन्डीमा बालबालिकाको बिचल्ली हेरिरहे। उनीहरूलाई न्यानो पार्न कुनै उपाय उनीसँग रहेन। परिवारलाई दयनीय अवस्थामै छोडेर उनी विदेश उड्दै छन्। ‘बस्ने गतिलो घरै छैन, के खालान् भन्ने चिन्ता त लागेको छ,’ उनले भने, ‘राम्रै राम्रो होओस् भनेर भगवान्सँग प्रार्थना गरेको छु।’ उनी मलेसिया जाना कागजी प्रक्रिया मिलाइरहेका छन्। 

मोतीपुरका मात्रै झन्डै आधा दर्जन विस्थापित रोजगारीका लागि बिदेसिने तयारीमा छन्। केही भने कमाउनका लागि यसअघि नै भारत पसेका छन्। ‘बस्तीमा अब उमेरदार मान्छे त्यति भेटिँदैनन्,’ मोतीपुरका जागुराम चौधरीले भने, ‘सबैजसो कमाउन बाहिरै जान थालेका छन्, कोही भारत गएका छन् त कोही मलेसिया–कतार।’ फूलबारी, उरहरीबाहेक अन्य विस्थापित बस्तीका बासिन्दा पनि घरपरिवार पाल्ने मेलो खोज्दै बिदेसिइरहेको स्थानीय बताउँछन्।  अधिकांश विस्थापितलाई अहिले बासकै समस्या चरम छ। मजदुरीबाट जसोतसो छाक टारे पनि सुरक्षित ओत हाल्न सकेका छैनन्। आधा वर्षसम्म राज्यकै आसमा बसे । सरकारले विस्थापितको बसोबासका लागि तत्काल पुनःस्थापना गर्ने आश्वासन देखाएको थियो उति बेला। तर, सरकारी उदासीनताकै कारण दिनदिनै समस्या थपिन थालेपछि उनीहरूले बिदेसिनुको विकल्प नदेखेका हुन्। ‘गाउँमा कसैले पनि बस्न मन गरेका छैनन्,’ मोतीपुरका धनवीर चौधरीले भने, ‘धेरैजसो मान्छे कमाउन विदेश गइसकेका छन्।’

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024