होम कार्की
घरेलु कामदारका लागि इराक पुगेकी पिर्ती ७ रामेछापकी ३२ वर्षीया निरु सुनारको जलेर मृत्यु भएको छ। कुर्दिस्थानस्थित हाइसुर्तामा कार्यरत उनी खाना पकाउने क्रममा ग्यास चुलोको आगोले भेटेपछि जलेकी हुन्। उनको अर्बिल अस्पतालमा उपचारका क्रममा बुधबार मृत्यु भएको हो।
‘दिदीले अन्डा पकाउँदै हुनुहुन्थ्यो, तेल उछिट्टिएर कपडामा पर्न गयो। अर्को चुलोमा बलेको आगोले भेटिहाल्यो,’ निरुकी बहिनी फूलमायाले कान्तिपुरसँग भनिन्, ‘लुगामा सल्किएपछि आगो निभाउन सकिएन।’ फूलमाया पनि इराकमै कार्यरत छन्। ‘जलेपछि मैले तीन दिनसम्म दिदीलाई कुरेर अस्पतालमा बसें,’ उनले भनिन्, ‘उपचारका क्रममा मेरै सामुन्ने दिदीको प्राण गयो।’ निरु चार वर्षदेखि कार्यरत थिइन्।
‘मलाई पनि दिदीले नै बोलाउनुभएको थियो। सबै राम्रो चलिरहेको थियो,’ ७ महिनाअघि पुगेकी फूलमायाले भनिन्, ‘अहिले यस्तो वज्रपात आइपर्यो।’
निरु र फूलमाया काम गर्ने घर आधा घण्टा दूरीमा पर्छ। निरुको शव अर्बिलस्थित रोजगारी अस्पतालमा राखिएको छ। उनका घर मालिकले जल्ने समयमा आफूहरू घरबाहिर रहेको बताएको गैरआवासीय नेपाली संघ इराकका अध्यक्ष लालकाजी गुरुङले बताए।
निरुका १५ वर्षीय छोरा र १२ वर्षीय छोरी गाउँमै पढिरहेका छन्। ‘भिनाजुले सौता ल्याएपछि छोराछोरीलाई पढाउन सकियोस् भनेर दिदी इराक आउनुभएको हो,’ फूलमायाले भनिन्, ‘इराकको कमाइले छोराछोरीले पढिरहेको थिए।’उनको शवलाई नेपाल पठाउने प्रक्रिया अघि बढिरहेको गुरुङले बताए। ‘मैले पाकिस्तानस्थित नेपाली दूतावाससँग समन्वय गरिरहेको छु,’ उनले भने, ‘सबै प्रक्रिया पूरा गरेर एक सातासम्ममा शव पठाइसक्छौं।’ निरुका परिवारलाई सहयोग गर्न अर्बिलमा कार्यरत नेपालीले सहयोग रकम उठाइरहेका छन्। यसअघि पनि एक नेपालीको युवती खाना पकाउने क्रममा जलेर मुत्यु भएको थियो ।