इराकमा नेपाली : ‘ग्रिन जोन’ भित्र असुरक्षा

10 January, 2020

पहिले सबैभन्दा सुरक्षित मानिएको ग्रिन जोनमा अमेरिकी दूतावास भएकै कारण अहिले सुरक्षा खतरा बढेको नेपाली कामदारको बुझाइ

होम कार्की, जगदीश्वर पाण्डे

काठमाडौं — इराकको राजधानी बग्दादमा सरस्वती घर्ती बुधबार राति ड्युटी सकेर बेडमा निदाउन मात्रै लागेकी थिइन्, रकेट पड्किएको ठूलो आवाज आयो । हत्तपत्त दौडिएर बंकरतिर हान्निइन् । बंकरमा पुग्दा नपुग्दै फेरि अर्को रकेट पड्किएको आवाज सुनियो । त्यहाँ अरू नेपाली महिला पनि आइपुगे । ‘त्यसरी रकेट आउँछ भन्ने थाहै थिएन । एक्कासि मुटु हल्लाउने आवाज आयो,’ उनले कान्तिपुरलाई फोनमा भनिन्, ‘एकछिन त डर लाग्यो । तर त्यसपछि रातभार सामान्य भयो ।’

बर्दियाकी घर्ती सबभन्दा सुरक्षित मानिएको ‘ग्रिन जोन’ मा कार्यरत छिन् । उनी बस्ने क्याम्पमा ९ जना नेपाली महिला छन् । क्याम्प अमेरिकी दूतावास रहेको ठाउँबाट ५ सय मिटर नजिकै छ । बुधबार रातिपड्किएको रकेट कहाँ खस्यो, कति क्षति गर्‍यो भन्नेबारे घर्तीलाई थाहा छैन । ‘कुनै नेपालीलाई केही भएको सुनिएको छैन,’ उनले भनिन् ।इराकी सेनाका अनुसार मध्यराति ११:४५ बजे ग्रिन जोनभित्र दुइटा ‘कट्युसा रकेट’ झरेका थिए । त्यसबाट क्षति भएको रिपोर्ट नरहेको सेनाको दाबी छ । कसले रकेट प्रहार गर्‍यो भन्ने पनि खुलेको छैन । ग्रिन जोनभित्र सुरक्षित बंकरहरू रहेकाले आफूहरूलाई खासै डर नलागेको घर्तीले बताइन् । ‘६ वर्षदेखि यहाँ काम गरिरहेकी छु । हाम्रो कम्पनीले पनि डर मान्नुपर्दैन भनिरहेको छ,’ उनले भनिन्, ‘कम्पनीकै विश्वासमा बसिरहेका छौं ।’ ग्रिन जोन बग्दादको अन्तर्राष्ट्रिय क्षेत्र नामले पनि परिचित छ । यो झन्डै १० वर्ग किलोमिटरमा फैलिएको छ । ‘इराकका मुख्य मन्त्रालयका साथै विदेशी कम्पनी, दूतावास सबै यहीँभित्र छन्,’ ४ वर्षदेखि त्यहाँ कार्यरत प्रेम लामाले भने, ‘हरेक कम्पनीको कार्यालयमा नेपाली कामदार छन् ।’

अमेरिकी दूतावास भएकै कारण पछिल्लो समय यो क्षेत्रमा सुरक्षा खतरा बढेको नेपाली कामदारको बुझाइ छ । पुस १५ गते अमेरिकी दूतावासमाथि स्थानीय इराकीको समूहबाट आक्रमण भएको थियो ।

रेड जोनमा कार्यरत नेपालीले पनि ग्रिन जोनमै सुरक्षा खतरा बढेको बताए । ‘हामी ग्रिन जोन बाहिर छौं । पहिला हामी बसेको ठाउँ असुरक्षित छ भन्थे । हाम्रो मनमा केही डर थियो । बितेको सातादेखि ग्रिन जोन सुरक्षित छैन,’ ७ वर्षदेखि बग्दादमा कार्यरत कुन्छामान घलेले भने । सुरक्षा गार्ड रोल्पाका सूर्यमान गुरुङले ग्रिन जोनभित्र रहेका अधिकांश दूतावासमा नेपाली सुरक्षा गार्ड रहेको बताए । ‘नेपाल फिर्ने कि ड्युटीलाई निरन्तर दिने भन्नेमा हामी अलमलमा छौं,’ उनले भने, ‘अहिले नै डराइहाल्नुपर्ने अवस्था त छैन । तैपनि भविष्यमा के हुन्छ, यसै भन्न सकिँदैन ।’

यो क्षेत्रभित्र रहेका कम्पनीले आफ्ना कामदारलाई सतर्क राखेका छन् । ‘कम्पनीले घर फिर्न चाहने कामदारको नामावली संकलन गरिरहेका छन् । काम गर्नैपर्छ भनेका छैनन्,’ गुरुङले भने । धेरैजसो कम्पनीले आवश्यक कामदार मात्रै राखेर अरूलाई घर पठाउन थालेको उनले बताए । ग्रिन जोनभित्र कम्तीमा दुई सय नेपाली कार्यरत छन् । घरेलु कामदारको भने संख्या खुलेको छैन । ‘आवासीय भवन पनि यहीँभित्र छन् । सपिङ मलमा धेरै नेपाली महिला घरेलु कामदार मालिक्नीहरूसँग आएको देखिन्छ,’ उनले भने, ‘मलाई त हरेक घरमा नेपाली छन् जस्तो लाग्छ ।’

सिन्धुपाल्चोककी संगीता तामाङले ७ वर्षदेखि इराकी सरकारी अधिकारीको घरमा काम गरिरहेको बताइन् । ‘मालिकले केही दिन हेरेर निर्णय दिन्छु भनिरहेका छन् । मालिकले जे भन्छन् त्यही गर्छु,’ उनले भनिन् । उनले आफूले मासिक ८ सय डलर तलब पाउँदै आएको बताइन् । ‘नियमित तलब पाइन्छ । हतारिएर किन निर्णय लिनु ?’ उनले भनिन्, ‘पैसाभन्दा त ज्यान नै ठूलो हो । तैपनि त्यत्तिकै दौडिएर फर्किने कुरा भएन ।’

गोरखाकी माया गुरुङलाई भने आफन्त र छोरीहरूले फर्कन दबाब दिइरहेका छन् । ‘नेपालबाट सबैले फोन गर्छन् । इराकमा राम्रो छैन भन्छन् । नेपालबाट आउने फोनले मनमा डर पलाइरहेको छ,’ उनले भनिन्, ‘म्याडम (घरधनी) ले भने खतरा छैन, खतरा भयो भने पठाइदिन्छौं भनेकी छन् ।’ इराक मामिला हेर्ने कुवेतका लागि नेपाली राजदूत दुर्गाबहादुर भण्डारीले कुवेतमा रहेको इराकी दूतावाससित समन्वय भइरहेको जानकारी दिए । ‘हामी संवेदनशील क्षेत्रमा रहेका नेपालीसँग नियमित सम्पर्कमा छौं । सबै जना सुरक्षित ढंगले नियमित ड्युटी गरिरहेका छन्,’ उनले भने ।

इरानको आकाश छलेर उडान

स्वदेशी तथा विदेशी एयरलाइन्सले हवाई सुरक्षाको कारण देखाउँदै इरानी रुटबाट उड्न छाडेका छन् । ध्वजावाहक नेपाल वायुसेवा निगमले बुधबारदेखि मध्यपूर्वमा उडान भर्ने आफ्ना विमानलाई इरानको आकाश भएर नउड्न निर्देशन दिएको छ ।

निगमको अपरेसन विभाग प्रमुख क्याप्टेन दीपुराज जुआर्चनका अनुसार इरानको आकाश हुँदै उड्ने विमान अब पाकिस्तानबाट मस्कट हुँदै दोहा प्रवेश गर्न थालेका छन् । यसअघि इरानबाट सोझै दोहा प्रवेश गर्थे । अब इरानको आकाश छल्दा निगमको जहाजलाई २५ मिनेट थप लाग्ने गरेको जुआर्चनले बताए ।

निगम मात्र नभई मध्यपूर्वी मुलुक र टर्कीबाट नेपाल आउने विमानले समेत इरानको बाटो छल्न थालेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले जानकारी दिए । ‘केही एयरलाइन्सले पहिलेदेखि नै इरानको आकाश छल्दै आइरहेका थिए, अब अरूले पनि उक्त मुलुकको बाटो छल्दै आउजाउ गर्न थालेका छन्’ उनले कान्तिपुरसित भने ।

काठमाडौंमा २८ वटा अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै आएका छन् जसमा मध्यपूर्व र पश्चिमी रुटबाट आउजाउ गर्ने एयरलाइन्सको संख्या बढी छ ।

परराष्ट्रले बनायो समन्वय समिति

परराष्ट्र मन्त्रालयले इरान र इराकमा रहेका नेपाली नागरिकको सुरक्षा र उनीहरूको सूचना एकीकृत गर्न ‘अन्तर्निकाय समन्वय समिति’ गठन गरेको छ । अमेरिका र इरानबीच केही दिनयता बढेको तनावका कारण त्यस क्षेत्रमा कामका लागि गएका नेपाली पनि असुरक्षित छन् । इराकको अमेरिकी बेसक्याम्पमा रहेका नेपाली बढी असुरक्षित छन् । गत शुक्रबार अमेरिकाले गरेको ड्रोन आक्रमणमा इरानी सेनाका जनरल कासिम सुलेमानी मारिएपछि खाडीमा तनाव बढेको हो । त्यसको चार दिनपछि बुधबार इरानले इराकस्थित अमेरिकी सैनिक बेसक्याम्पमा मिसाइल आक्रमण गरेको थियो । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसहितको बिहीबारको बैठकले मन्त्रालयको मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखा प्रमुखको संयोजकत्वमा नौ सदस्यीय समिति गठन गरेको हो । महाशाखा प्रमुख सहसचिव हरिश्चन्द्र घिमिरे नेतृत्वको समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, रक्षा, अर्थ, श्रम, संस्कृति, पर्यटन, सञ्चार मन्त्रालय र नेपाली सेनाका प्रतिनिधि रहनेछन् ।

मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालका अनुसार यो समितिले पश्चिम एसियामा भइरहेका घटनालाई मूल्यांकन गर्ने र सरकारलाई त्यसबारे सुझाव दिनेछ । ‘थप केही समस्या आए कसरी समाधान गर्ने भन्नेबारे यो समितिले अध्ययन गर्नेछ,’ उनले भने । परराष्ट्र मन्त्रालयले सोमबार इरान हेर्ने पाकिस्तानस्थित नेपाली दूतावास र इराक हेर्ने कुवेतस्थित दूतावासलाई त्यस क्षेत्रको स्थलगत विवरण पठाउन र त्यहाँ रहेका नेपालीसँग सम्पर्कमा रहन निर्देशन दिइसकेको छ ।

बुधबारै नेपाली सेनाले इराक, लेबनान र सिरियामा संयुक्त राष्ट्रसंघअन्तर्गत शान्ति स्थापनार्थ तैनाथ आफ्ना युनिटलाई विशेष सुरक्षा सतर्कता अवलम्बन गर्न भनिसकेको छ । सेनाले त्यहाँको परिस्थितिलाई निरन्तर अनुगमन गर्न र शान्तिसेना सञ्चालन निर्देशनालयसँग निरन्तर सम्पर्कमा रहन निर्देशन दिएको हो । नेपाली सेनाका तर्फबाट इराकमा ७७, लिबियामा २ सय ३०, सिरियामा ३ सय ४२, लेबनानमा ८ सय ७१ सैनिकले शान्ति स्थापनार्थ काम गरिरहेका छन् ।

शान्तिपूर्ण रूपमा समाधान गर्नुपर्छ : नेपाल

नेपाल सरकारले सम्पूर्ण विवाद र फरक कुराहरूलाई शान्तिपूर्ण रूपमा समाधान गर्नुपर्ने आफ्नो सैद्धान्तिक अडान रहेको बताएको छ । परराष्ट्र मन्त्रालयले बिहीबार पश्चिम एसियामा भइरहेको घटनाक्रमलाई गम्भीर रूपमा

पछ्याइरहेको उल्लेख गर्दै शान्तिपूर्ण रूपमा विवाद समाधान गर्न सुझाव दिएको हो । परराष्ट्रले बिहीबार विज्ञप्ति जारी गर्दै यस क्षेत्रमा शान्ति र स्थायित्वलाई खतरामा पार्ने क्रियाकलाप रोक्न सबै पक्षलाई आग्रह गरेको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024