इँटा भट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार

5 October, 2026

Madan Thakur

रौतहटको एक इँटा भट्टामा काम गर्न आएका ४२ जना भारतीय नागरिक अलपत्र अवस्थामा फेला परेपछि प्रहरीले उद्धार गरी भारतीय प्रहरीको जिम्मा लगाएको छ।

गुजरा नगरपालिका वडा नम्बर ५, लक्ष्मीपुरस्थित मह्मद मुजामिल मियाले सञ्चालन गरेको मदिना इँटा भट्टामा भारतबाट ठेकेदारमार्फत काम गर्न आएका मजदुरहरू अलपत्र परेको सूचना पाएपछि प्रहरीले तत्कालै उद्धार गरि भारतीय प्रहरीको जिम्मा लगाएको हो।

जिल्ला प्रहरी कार्यालय रौतहटले दिएको जानकारी अनुसार उद्धार गरिएकोमा १२ जना पुरुष, ११ जना महिला, १० जना बालक र ९ जना बालिका गरी कुल ४२ जना रहेका छन्।

उनीहरू भारतबाट एक ठेकेदारमार्फत इँटा भट्टामा काम गर्न आएका थिए। कामदार तथा उनीहरूका आश्रित परिवारलाई नेपाल ल्याउने भारतीय ठेकेदार सम्पर्कविहीन भएपछि उनीहरू भट्टामै अलपत्र परेका थिए।

जिल्ला प्रहरी कार्यालय रौतहट तथा इलाका प्रहरी कार्यालय लक्ष्मीनिया विजयपुरबाट संयुक्त प्रहरी टोलीले अलपत्र भारतीय नागरिकहरूको उद्धार गरी उनीहरूलाई ना.७ ख १६७५ नम्बरको बसमार्फत गौर भन्सारसम्म पुर्याएर गौर भन्सार सुरक्षा गार्ड रौतहटको पहलमा उनीहरूलाई भारतीय प्रहरीको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

नेपालमा रोजगारीको प्रलोभन वा ठेकेदारमार्फत ल्याइएका विदेशी श्रमिक अलपत्र पर्ने घटना बेलाबेलामा सार्वजनिक हुँदै आएका छन्।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026