आश्वासन मात्रै दिइराख्ने साउदीले अब नेपालसँग गर्ला श्रम सम्झौता?

11 June, 2025

निर्मला घिमिरे

नेपालसँग घरेलु श्रमिक सम्झौताका लागि पटक पटक आश्वासन मात्रै दिइराख्ने साउदी अरबले सोमबार पनि आश्वासन दोहोर्‍याएको छ।

स्विट्जरल्यान्डको जेनेभामा चलिरहेको ११३ औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनको साइडलाइन द्विपक्षीय भेटवार्ता र छलफलका क्रममा साउदीले फेरि पनि नेपाललाई आश्वासन दिएको हो।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र साउदीको अन्तर्राष्ट्रिय मामिलाका उपमन्त्री तारिक अल हमदबीच भएको छलफलमा घरेलु श्रमिक छाडेर अन्य क्षेत्रका श्रमिक लैजाने सम्झौता गर्ने सहमति जुटेको छ।

मन्त्री भण्डारीले घरेलु श्रमिकको सम्झौतालाई तत्कालका लागि थाती राखेर सामान्य र सीपयुक्त श्रमिकको सीप विकास, प्रमाणीकरण तथा सीपयुक्त जनशक्ति लैजाने सम्झौता गर्न साउदी तयार भएको बताए।

‘सामान्य श्रमिक लैजाने सम्झौतामा यसअघि नै सहमति भइसकेको छ। हस्ताक्षर हुन मात्रै बाँकी छ,’ मन्त्री भण्डारीले भने, ‘साउदीले घरेलु श्रमिक सम्बन्धी सम्झौता भएपछि मात्रै सामान्य सम्झौतामा हस्ताक्षर हुन सक्ने अडान लिएको थियो। अहिलेको बैठकले सहमति भइसकेको सम्झौता अगाडि बढाउने र घरेलु श्रमिक सम्बन्धी सम्झौताको मस्यौदामा थप गृहकार्य गर्ने टुंगो लगाएको छ।’

२०८० माघमा संयुक्त अरब इमिरेट्स (युएई) मा भएको ‘अबुधाबी डायलग’ मा पनि साउदीले नेपालसँग श्रम सम्झौता गर्ने आश्वासन दिएको थियो। त्यस बेला पनि श्रम मन्त्री शरतसिंह भण्डारी नै थिए। उनले साउदीसँग श्रमिक भर्ना प्रक्रिया स्वच्छ हुनेगरी श्रम सम्झौताको प्रस्ताव लगेका थिए।

श्रमिकको बीमा, सामाजिक सुरक्षा, पेसागत सुरक्षा लगायत हकअधिकार पनि सुनिश्चित हुनुपर्ने कुरा नेपाल पक्षले उठाएको थियो।

त्यति बेला नै मन्त्री भण्डारीलाई साउदीले एक महिनाभित्र श्रम सम्झौता गर्ने आश्वासन दिलाएर पठाएको थियो। त्यस्तै, साउदीले सीपयुक्त जनशक्ति उत्पादनका लागि तालिम केन्द्र स्थापनामा सहयोग गर्ने आश्वासन समेत दिएको थियो।

तर नेपालले घरेलु श्रमिक पठाउन प्रतिबन्ध लगाएका कारण साउदीले सोही विषयमाथि टेकेर अन्य क्षेत्रका श्रमिकबारे सम्झौता गर्न घरेलु श्रमिकको समेत सम्झौता हुनुपर्ने अडान लिएको थियो।

नेपालले २०७२ सालदेखि नै घरेलु श्रमिकमा साउदी लगायत खाडी मुलुकमा प्रतिबन्ध लगाएको छ। संसदीय समितिले दुई देशबीच श्रम सम्झौता भएपछि घरेलु श्रमिक सम्बन्धी छुट्टै सम्झौता गरेर सुरक्षाको सुनिश्चितता भएपछि मात्रै पठाउन निर्देशन दिँदै आएको छ।

साउदी पक्षलाई यसबारे जानकारी गराएपछि तत्काल घरेलु श्रमिक बाहेक अन्य श्रमिकहरू लैजाने सम्झौता गर्न तयार भएको मन्त्री भण्डारीले जानकारी गराएका छन्।

साउदीसँग श्रम सम्झौता नभए पनि नेपालबाट बर्सेनि ठूलो संख्यामा श्रमिकहरू गइरहेका छन्। यसरी जाँदा नेपाली श्रमिकहरूमाथि आर्थिक, शारीरिक तथा मानसिक शोषण बढिरहेको छ। सम्झौता बिना जाँदा श्रमिकहरू उचित पारिश्रमिक, बीमा, बिदा लगायत सेवासुविधाबाट बञ्चित भइरहेको अवस्था छ।

नेपालले शून्य लागतमा (श्रमिक भर्ना प्रक्रियाको शुल्क रोजगारदाताले बेहोर्ने गरी) श्रमिक लैजाने सम्झौता गर्ने प्रस्ताव अघि सार्दै आएको छ। नेपालले सम्झौता प्रस्ताव गरेको दशक बितिसक्दा पनि साउदीले चासो नदिँदा हुन सकेको छैन।

‘सम्झौता गर्दा न्यायोचित भर्नाको कुरा उठ्छ। उचित तलब, अन्य सेवासुविधाको कुरा हुन्छ। सम्झौता नगरी कम तलबमै काम लगाउन पाइएको छ भने सम्झौतामा किन चासो देखाउँथ्यो,’ श्रम मन्त्रालयका एक अधिकारीले भने।

नेपालले पटक पटक प्रस्ताव गर्दा पनि साउदीले चासो नदेखाएका कारण सम्झौता हुन नसकेको ती अधिकारीले बताए। तर अब साउदीमा धेरै जनशक्ति आवश्यक परेकाले सम्झौता गर्छ कि भन्ने आश बढेको उनले बताए।

‘फिफाले सन् २०३४ को विश्वकप खेलाउने जिम्मा साउदीलाई दिएको छ। यसले गर्दा साउदीलाई धेरै जनशक्ति आवश्यकता परेको छ। मन्त्रालयका ती अधिकारीले भने, ‘यो बेलामा सम्झौता गर्छ भन्ने आश बढेको छ। हामी लबिङ गरिरहेका छौं।’

वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार नेपालबाट वार्षिक दुई लाख हाराहारी श्रमिक साउदी गइरहेका छन्।

आर्थिक वर्ष २०७८/७९ मा साउदीका लागि एक लाख ८८ हजार ६९२ जनाले श्रम स्वीकृति लिएका थिए।

२०७९/८० मा एक लाख १२ हजारभन्दा धेरैले श्रम स्वीकृति लिएका थिए।

२०८०/८१ मा एक लाख एक लाख ४१ हजारले श्रम स्वीकृति लिएका थिए।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024