आन्तरिक रोजगारीमा आकर्षित गर्ने प्रयास

7 October, 2026

Jayakrishna Yadav

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले सुनसरीको विभिन्न नगरपालिका र गाउँपालिका तथा स्थानीय बजार क्षेत्रमा पुगेर युवा तथा श्रमिकसँग भेटघाट तथा छलफल गर्नुभएको छ ।

युवालाई आन्तरिक रोजगारीप्रति आकर्षित गर्न, श्रमिकको मनोबल उच्च बनाउन तथा स्थानीयस्तरमा रोजगारीका अवसर प्रवर्धन गर्ने उद्देश्यले मन्त्री यादवले विभिन्न क्षेत्रका युवा

तथा श्रमिकसँग प्रत्यक्ष भेटघाट र छलफल गर्नुभएको हो ।

युवा, श्रम तथा रोजगार मन्त्रालयले कोशी प्रदेशको इटहरीमा असोज १४ गतेदेखि २० गतेसम्म आयोजना गरेको सिप तथा रोजगार मेला सम्पन्न भए पनि स्थानीयस्तरमा सिप विकास तथा रोजगारी प्रवर्धनसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिइने मन्त्री यादवले बताउनुभयो ।

नेपाल सरकारले आर्थिक वर्ष २०८३/८४ देखि २०९२/९३ सम्मलाई ‘रोजगार प्रवर्धन दशक’ का रूपमा अघि बढाएको योजना अनुसार सिप तथा रोजगार मेला आयोजना गरिएको यादवले बताउनुभयो । मेलामार्फत युवालाई सिपसँग जोड्दै स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने सरकारको लक्ष्य रहेको मन्त्री यादवले जानकारी दिनुभएको छ ।

रोजगार मेलाका क्रममा मन्त्री यादवले कोशी गाउँपालिका–७ स्थित हरिपुर तथा कोशी–१ को लौकही बजार क्षेत्र, वराहक्षेत्र नगरपालिकाका मधुवन क्षेत्र, इनरुवा नगरपालिकाका विभिन्न क्षेत्र र रामधुनी नगरपालिका–१ स्थित मोहनपुर गाउँमा पुगेर स्थानीय युवा तथा श्रमिकसँग भेटघाट तथा छलफल गर्नुभएको हो । भेटघाटका क्रममा स्थानीयस्तरमा उपलब्ध रोजगारीका सम्भावना, युवाको सिप, श्रमिकका समस्या तथा रोजगारी सिर्जनाका विषयमा छलफल गर्नुभएको सहभागी राष्ट्रिय स्वतन्त्र पार्टीका नेता दुर्गा यादवले जानकारी दिनुभयो ।

मन्त्री यादवले स्थानीय आवश्यकता र बजारको माग अनुसार युवालाई सिप प्रदान गरी रोजगारीसँग जोड्ने तथा श्रमिकका समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको थियो । युवाले समेत मन्त्रीसँग प्रत्यक्ष रूपमा भेटघाट र छलफल गर्न पाएकोमा खुसी व्यक्त गरेको कोशी गाउँपालिकाका युवा दिलीप यादवले बताउनुभयो ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026