‘आजै फर्किऊँ जस्तो लाग्छ तर देशको अवस्थाले हिम्मत दिँदैन’

20 June, 2025

निर्मला घिमिरे

पूर्वी पहाडी जिल्ला खोटाङको राखाबाङ्देलका जीवन कार्की ओमानस्थित एक लक्जरी होटलमा कार्यरत छन्।

उनी चार्टर्ड अकाउन्टेन्सी (सिए) पढाइ पूरा गरेर वैदेशिक रोजगारीको यात्रामा छिरेका थिए, अफ्रिकी मुलुक हुँदै ओमान पुगे। हाल त्यहाँको ‘द चेडी मस्कट’ मा कार्यरत छन्। सो होटलमा उनी डेपुटी डाइरेक्टर फाइनान्स (वित्तीय उपनिर्देशक) का रूपमा कार्यरत छन्।

जीवन खोटाङबाट काठमाडौं, भारत, अफ्रिका हुँदै ओमानसम्म पुगेका हुन्।

२०५६ सालमा एसएलसी परीक्षा दिएपछि अलिक फराकिलो र उज्यालो भविष्यको खोजीमा उनी काठमाडौं छिरे।

आफ्नै देशको राजधानी भए पनि उनका लागि काठमाडौं सजिलो थिएन। यति ठूलो सहरमा बस्ने र पढ्ने खर्च आमाबुबाले पठाएका भरमा धान्न सक्ने अवस्था थिएन।

उनले पढाइसँगै काम पनि सुरू गरे। प्रारम्भिक दिनमा एउटा गेस्ट हाउस काम गरे। त्यसपछि राफ्टिङ कम्पनीमा पुगे। दिनभरिको कामले थकित हुन्थे। राति पनि काम गर्थे।

कामले जति थाके पनि पढाइबाट कहिल्यै पछि हटेनन्। काम गर्दै उनले व्यवस्थापन संकायमा स्नातकोत्तर (एमबिएस) पूरा गरे। त्यसपछि पनि उनी चार्टर्ड अकाउन्टेन्सी (सिए) पढ्न चाहन्थे। त्यस निमित्त भारत गए।

‘त्यस बेला प्रोफेसनल एजुकेसनमा सिए पढ्न सस्तो थियो। वर्षको डेढ लाख (रुपैयाँ) जस्तो खर्च हुन्थ्यो। पाँच वर्षको कोर्समा दुई वर्ष अभ्यासमा जानुपर्थ्यो,’ उनले भने, ‘अभ्यासकै क्रममा कमाउन सुरू हुने, त्यसले गर्दा पनि म सिए पढ्न चाहन्थेँ।’

उनले भारतमा सिए पढाइ सुरू गरे, एउटा होटलमा पनि थाले। पढ्दै काम गर्दै सन् २०१२ मा पढाइ पूरा गरी कामका लागि अफ्रिकी मुलुक तान्जानिया पुगे।

त्यहाँको एउटा होटलमा ‘फाइनान्स म्यानेजर’ पदमा काम पाएका थिए। तलब मासिक साढे दुई हजार अमेरिकी डलर थियो। आवास र खानाको सुविधा होटलले नै दिएको थियो। गाडीको सुविधा पनि दिएको थियो।

उनले तान्जानियामा दुई वर्ष काम गरे। उनका अनुसार त्यहाँ महामारीका रूपमा मलेरिया फैलियो। डेंगी पनि फैलिरहन्थ्यो। काम र सुविधा सन्तोषजनक भए पनि त्यस्तो जोखिमको अवस्थामा उनले तान्जानिया छाड्ने निर्णय गरे।

उनले आफ्नै माटोमा कृषि कर्म गर्ने योजना बताए। त्यसैअनुसार नेपाल फर्के अनि ३५ लाख रुपैयाँ लगानी गरेर काठमाडौंको साँखुमा गाईपालन सुरू गरे।

गोठमा ४० वटा गाई थिए तर उनले सोचेजसरी व्यवसाय फस्टाएन। उत्पादन महँगो भयो, श्रमिक पाएनन्, बजार राम्रो भएन।

आखिर गाईपालन असफल भयो।

‘तराईमा चार पाँच हजार (रुपैयाँ) मा पाइने पराल काठमाडौं आइपुग्दा ४० हजार पुग्थ्यो। खर्च धेरै भयो,’ उनले भने, ‘हामीले कस्ट अफ प्रोडक्सन (उत्पादन लागत) हिसाब गर्न जानेनौं। ठाउँ छनोट पनि मिलेन। व्यवसाय असफल भयो।’

उनी व्यवसाय उकास्न नसक्ने निष्कर्षमा पुगे अनि करिब एक वर्षमै लगानीको एक चौथाई मूल्य (९ लाख रुपैयाँ) मा बेचे।

उनले युएईको दुबईमा चुरोट उद्योगमा असिस्टेन्ट म्यानेजर पदमा काम पाए। काम सुरू भयो तर मन रमाएन। होटल क्षेत्रमा मन गयो। करिब ९ महिना काम गरेपछि चुरोट उद्योग छाडेर सन् २०१५ मा होटलमा पुगे।

उनले भने, ‘होटलमा साथीहरूबीच पारिवारिक वातावरण थियो। फ्याक्ट्रीमा काम गर्दा आपसमा चिनजान नै नभएजस्तो थियो। त्यसरी फ्याक्ट्रीमा काम गर्न मन लागेन अनि हस्पिटालिटीतिरै फर्कें।’

उनी ओमानको पाँच तारे होटल ‘द चेडी मस्कट’ मा जुनियर म्यानेजर भए। हाल त्यही होटलमा ‘डेपुटी डाइरेक्टर फाइनान्स’ रहेका छन्।

‘द चेडी मस्कट’ अन्तर्राष्ट्रिय चेन ब्रान्ड हो।

जीवनका अनुसार ओमानमा नेपाली श्रमिकको संख्या निकै ठूलो छ। अदक्ष श्रमिकहरू निकै कम पारिश्रमिकमा कडा श्रम गर्न बाध्य छन्। कडा श्रम गर्ने कतिपय श्रमिकहरू मासिक सय ओमानी रियाल (नेपाली रुपैयाँ ३५ हजार) मा काम गर्छन्।

इन्जिनियर, चिकित्सक, सिए लगायतका दक्ष व्यक्तिको कमाइ राम्रो हुन्छ।

ओमानमा सिएले कम्तीमा दुई हजार ओमानी रियाल मासिक पारिश्रमिक पाउँछन्, नेपाली रूपैयाँ सात लाख बढी। कार्यअवधि र अनुभवका आधारमा तलब बढ्दै जान्छ। अनुभवीहरूले तीन हजार ओमानी रियाल (१० लाख नेपाली रूपैयाँ) भन्दा धेरै कमाउँछन्। अन्य सुविधा पनि निकै राम्रो हुन्छ।

‘ओमानमा नेपाली सिएको संख्या औंलामा गन्न सकिन्छ। पाकिस्तानी धेरै छन्,’ जीवनले भने, ‘विद्युतीय सामान मर्मत, हाउस वायरिङजस्ता प्राविधिक काममा राम्रो कमाइ हुन्छ। हातमा सीप छैन भने कमाइ हुँदैन। घरेलु काममा १८ घण्टा खट्दा पनि मुस्किलले १५० रियाल पाइन्छ।’

जीवनले ओमानमा काम गरेको एक दशक भयो। उनले आफ्नो कमाइ नेपालका केही उत्पादनमूलक क्षेत्रमा लगानी गरेका छन्।

‘आफ्नै देशमै काम गर्छु भन्ने उद्यमशीलताको भूत जागेको थियो। अहिले झन् बढी जागेको छ,’ उनले भने, ‘म ओमानमा बसेर पनि नेपालमा केही काम गर्दै छु। कृषिको काम गर्ने योजना छ।’

उनले टिमुर खेतीका लागि मकवानपुरमा जमिन लिएका छन्। खेती गर्न सजिलो हुने र औषधीय गुण भएकाले व्यवसाय राम्रो हुने उनको विश्वास छ।

‘टिमुर खेतीमा पानी धेरै चाहिँदैन। खेती गर्न सजिलो छ। तत्काल बिक्री भएन भने पनि चिन्ता हुँदैन भन्ने लागेर टिमुर खेतीको योजना बनेको हो,’ उनले भने।

जीवन समेत तीस सय जना युवा मिलेर ललितपुरमा एउटा ‘बहुउद्देश्यीय सहकारी संस्था’ चलाएका छन्। हाल उनी नै संस्थाको अध्यक्ष रहेका छन्।

सहकारी संस्था सन् २०२० मा स्थापना भएको हो।

जीवनले ललितपुरको इमाडोलमा ‘इमाडोल फलफूल तथा तरकारी बजार’ पनि चलाएका छन्। विदेशबाट फर्केर कृषि कर्ममा लागेका युवाहरूलाई लक्षित गरेर करिब दुई वर्षअघि बजार सुरू गरेको उनको भनाइ छ।

‘परदेशबाट फर्केर धेरै साथीहरू कृषि पेसामा लाग्नुभएको छ। केही साथी बजार नपाएर फेरि विदेश जान बाध्य हुनुभएको छ,’ उनले भने, ‘यस्ता साथीहरूलाई लक्षित गरेर कृषि बजार सुरू गरेको हुँ। यसलाई अनलाइनमा लैजाने योजना छ।’

हाल बजारमा ११६ वटा स्टल छन्। किसानले आफ्नो उत्पादन यहाँ ल्याएर बेच्न सक्छन्।

जीवन र उनका केही साथीले संयुक्त रूपमा आइटी क्षेत्रमा पनि लगानी गरेका छन्। नेपाललाई डिजिटल युगमा लैजान मद्दत गर्ने उद्देश्यले ‘अन्नपूर्ण क्लब टेक्नोलोजी’ सुरू गरेको र यसमा खाडी मुलुकमा रहेका ४५ जना नेपाली संलग्न रहेको उनले बताए।

उनका अनुसार यो कम्पनी नेपालसँगै अफ्रिका र युरोपका देशहरूमा काम गर्दैछ।

नेपालमै बसेर काम गर्न चाहने युवाहरूलाई बिउपुँजी उपलब्ध गराउने उद्देश्यले साथीहरूसँग मिलेर ‘मौरी भेन्चर’ कम्पनी स्थापना गरेर काम थालेका छन्। यो कम्पनीमा २० जना युवाहरू मिलेर लगानी गरेका छन्।

‘नयाँ आइडिया भएका युवाहरूलाई सानोतिनो बिउ पुँजी उपलब्ध गराउने योजना छ। विदेशबाट फर्केर उद्यममा लाग्ने युवाका लागि सहज वातावरण बनाउने प्रयासमा छौं,’ उनले भने, ‘युवाहरू उद्यमशील नभई देश विकास हुँदैन। विदेशबाट जति रेमिट्यान्स पठाए पनि, विदेशीले जति अनुदान दिए पनि देश उँभो लाग्दैन। उत्पादन बढाउनुपर्छ।’

विदेशमा बसेर पनि जीवन आफ्नो देशमा उद्यमशीलता विकासको काममा लागेका छन्। जति सक्दो चाँडो स्वदेश फर्कन मन छ तर वातावरण अनुकूल छैन भन्ने उनलाई लाग्छ।

‘आफ्नै माटोमा काम गर्ने हुटहुटी छ। आजै नेपाल फर्किहालौं जस्तो लाग्छ तर वातावरण सम्झेर पाइला रोकिन्छन्,’ उनले भने, ‘बैंकमा पैसा थुप्रिएको छ तर ब्याजदर चर्को छ। यस कारणले पनि म रोकिएको हुँ। देशको अवस्थाले हिम्मत दिँदैन।’

श्रमिकहरूले युनियन बनाएर हकअधिकारका नाममा हड्ताल गर्ने प्रवृतिले देश विकासमा असर पर्छ भन्ने उनको ठहर छ। व्यवसाय गर्ने व्यक्तिलाई सामन्त देख्ने प्रवृत्ति अन्त्य नभई देशको उन्नति हुँदैन भन्ने उनको निष्कर्ष छ।

जीवन चाँडै स्वदेश फर्किन चाहन्छन्। त्यस निम्ति उनको योजना पनि छ। योजना अनुसार काम हुँदै गयो अब विदेशमा धेरै दिन बस्ने छैनन्।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024