अलपत्र नेपाली कामदारको उद्धार गर्न ७० लाख निकासा

21 November, 2014

नवराज ढकाल 

  

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनपछि सरकारले वैदेशिक रोजगारीका क्रममा अलपत्र परेका र मृत्यु भएका कामदारको उद्धार गर्न ७० लाख रुपैयाँ निकासा गरेको छ। वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले धेरै कामदार जाने खाडी मुलुक र मलेसियास्थित नेपाली दूतावासमा रकम पठाएको हो। 

 

रकम अभावमा अलपत्र कामदारको उद्धार गर्न कठिनाइ भएको विभिन्न दूतावासले गुनासो गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्काल रकम निकासा गरी अलपत्र कामदारको उद्धार गर्न सरकारलाई निर्देशन दिएको थियो। अख्तियारको निर्देशनपछि बोर्डले परराष्ट्र मन्त्रालयमार्फत केही दिनअघि ७० लाख रुपैयाँ निकासा गरेको हो। रकम पाएपछि सम्बद्ध मुलुकका दूतावासले अलपत्र परेका कामदारको उद्धार सहज तरिकाले गर्न सक्नेछन्। बोर्डले मलेसिया, साउदी अरब, कतार, कुवेत र संयुक्त अरब इमिरेट्सस्थित नेपाली दूतावासमा रकम निकासा गरेको हो। बोर्ड अधिकारीका अनुसार सबैभन्दा बढी रकम मलेसियामा पठाइएको छ। यो मुलुकमा सबैभन्दा धेरै नेपालीले काम गरिरहेका छन्।

 

रकम अभावमा अलपत्र कामदारको उद्धार गर्न कठिनाइ भएको गुनासो विभिन्न दूतावासले गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्काल रकम निकासा गरी अलपत्र कामदारको उद्धार गर्न सरकारलाई निर्देशन दिएको थियो। कामदारको संख्या बढी भएकाले अलपत्र पर्ने, कामका क्रममा मर्ने तथा गैरकानुनी रूपमा बस्ने समस्या पनि अधिक छ। यस्तै, दैनिक औसतमा दुईदेखि तीनजना कामदारको लास नेपाल आउने गरेको छ। लास ल्याउन सरकारले रकम पठाउने गर्छ। 

 

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका निर्देशक टीका भण्डारीले विदेशमा अलपत्र कामदारको उद्धार गर्न र लास नेपाल ल्याउन विभिन्न दूतावासमा ७० लाख रुपैयाँ निकासा गरिएको जानकारी दिए। ‘रकम अभाव हुन नदिन अख्तियारले निर्देशन दिएकाले तुरुन्तै निकासा गरिएको हो’, उनले भने। मलेसियामा मात्रै एकैपटक २० लाख रुपैयाँ निकासा गरिएको छ। त्यसपछि दोस्रो धेरै रकम पाउनेमा साउदी अरब र कतारस्थित नेपाली दूतावास छन्। यी दुई दूतावास प्रत्येकले १५ लाख रुपैयाँ पाएका छन्। कुवेत र संयुक्त अरब इमिरेट्समा भने पाँचपाँच लाख रुपैयाँ दिइएको छ। यी मुलुकमा कामदारको संख्या थोरै भएकाले कम रकम निकासा गरिएको बोर्डले जानकारी दिएको छ। 

 

सरकारले सबैभन्दा धेरै रकम पठाएको मलेसियामा करिब सात लाख नेपालीले काम गरिरहेका छन्। मलेसियामा अहिले गैरकानुनी रूपमा बस्ने कामदारलाई नेपाल फिर्ता ल्याउनुपर्ने अवस्था छ। गैरकानुनी कामदार फिर्ता ल्याउन विभिन्‍न संस्थाले समेत आर्थिक सहयोग गरेका छन्। मलेसियाले ५० हजार नेपाली अवैध रूपमा आफ्नो मुलुकमा रहेको दाबी गरेको छ। त्यहाँस्थित नेपाली दूतावासले अवैध रूपमा बसेका करिब तीन सयजना कामदारलाई नेपाल ल्याइसकेको छ। दूतावासले कामदार फिर्ता ल्याउन रकम अभाव भएको दाबी गर्दै आएको छ। दोस्रो धेरै रकम निकासा गरिएको साउदी अरब र कतार प्रत्येकमा पाँच लाख हाराहारीमा नेपाली कामदार छन्। 

 

यसैगरी सरकारले सुरक्षित गृह सञ्चालन गर्न कतार र साउदी अरबमा थप पाँचपाँच लाख रुपैयाँ पठाएको छ। अलपत्र परेका कामदारलाई खान र बसोवासको व्यवस्था गर्न सुरक्षित गृह सञ्चालनमा ल्याइएको हो। धेरै नेपाली कामदार गएका मुलुकमा क्रमश: सुरक्षित गृह सञ्चालन गर्ने सरकारको योजना छ। सरकारले वैदेशिक रोजगारीमा जाने प्रत्येक कामदारसँग एक हजार रुपैयाँ लिने गरेको छ। यो रकम वैदेशिक रोजगार प्रवर्द्धन बोर्डअन्तर्गत कल्याणकारी कोषमा राख्ने गरिएको छ। यही कोषमा भएको रकमबाट अलपत्र कामदारको उद्धार गरिन्छ। कल्याणकारी कोषमा अहिले दुई अर्ब ७० करोड रुपैयाँ छ। 

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024