गुल्मी : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताका धेरै ठूला आशा र अपेक्षा रहेको बताएका छन्। बिहीबार धुर्कोट गाउँपालिका-४ बर्बोटस्थित सहिद स्मृति पार्कको उद्घाटनका लागि गुल्मी पुगेका प्रचण्डले देशमा ठूलो राजनीतिक परिवर्तन जनताको त्याग र बलिदानको परिणाम भएको बताए।
उनले अब जनतालाई समृद्ध र देशलाई आत्मनिर्भर बनाउनुपर्ने बताए। ‘देशमा आर्थिक समृद्धिको दृष्टिकोणले प्रत्येक नेपाली जनताले आफ्नो घर परिवारमा आर्थिक क्रियाकलाप गरेर उत्पादन बढाउनमा केन्द्रित हुने वातावरण बनेको छैन। नेपाली युवा विदेश जाने क्रम बढेको छ,’ ‘प्रचण्डले भने, ‘विदेशमा गएका नेपाली छोराछोरीहरूको रेमिट्यान्सको पैसाले चल्नुपर्ने अवस्था बनेको छ। यो पक्कै पनि राम्रो कुरा हैन। हामीले देशभित्रै रोजगारीको वातावरण सिर्जना गर्नुपर्छ।’
युवालाई स्वदेशमा रोजगारी सिर्जना गरेर राख्ने वातावरण नभएको बताउँदै अध्यक्ष प्रचण्डले अब युवालाई देशमै राख्ने विषय राजनीतिक नेतृत्वदेखि तीनै तहको सरकारलाई चुनौतीको विषय बनेको बताए। उनले जतिसक्दो छिटो देशमा रोजगारी सिर्जना गरेर कृषिमा आधुनिकता लिनुपर्नेमा जोड दिए। कृषि र कृषिजन्य उत्पादनसँगै आवश्यक जनशक्ति उत्पादनमा केन्द्रित गर्नुपर्ने अहिलेको आवश्यकता रहेको अध्यक्ष प्रचण्डले बताए।
‘अमेरिकाले थालेको आप्रवासी निष्कासन, मध्यपूर्वमा देखिएका तनाव आदिका कारण कुनै बेला हजारौं नेपालीहरू वैदेशिक रोजगारी छाडेर नेपाल फर्कने अवस्था आउन सक्छ। त्यसैले हामी तयारी अवस्थामा बस्न आवश्यक छ,’ ‘नले भने।
अध्यक्ष प्रचण्डले देशमा उत्पादन र उत्पादकत्व वृद्धि गरेर आत्मनिर्भर हुने दिशातिर मिहेनत नगरे कुनै पनि बेला ठूलो अप्ठ्यारोमा देश पर्नसक्ने सुनाए। उनले आफूले सरकारको पछिल्लो नेतृत्वकालमा सुशासनको पक्ष र भ्रष्टचारका विरुद्ध केही कदम चालेको बताए।
उनले धेरै ठूलो संर्घष र बलिदानपछि देशमा संविधान सभाको निर्वाचन, शान्ति सम्झौता देशमा संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा र त्यसको कार्यान्वयनको वातावरण बनाएको बताए। सुशासन, सामाजिक न्याय र आर्थिक विकास आजको आवश्यकता रहेको अध्यक्ष प्रचण्डले दाबी गरे।